Uncategorized

मन्त्री पण्डित भेट्न गएका अस्थायी कर्मचारी दुई घण्टा कुरेर रित्तै फिर्ता

११ कात्तिक, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेट्न पुगेका सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी संघका प्रतिनिधिले आइतबार मन्त्रीले भेट नदिई फर्काएका छन् ।

मन्त्री पण्डितले केही बेर पर्खन आग्रह गरेपछि संघका प्रतिनिधि ११ बजेदेखि १ बजेसम्म मन्त्रालय परिसरमा बसेका थिए । तर अन्तिममा आफू व्यस्त रहेको भन्दै फर्काएका हुन् ।

मन्त्रीले आफूहरुको माग सुन्न नचाहेको संघका उपाध्यक्ष कुमार राउतले अनलाइनखबरसंग गुनासो गरे । ‘हामीले २० औ वर्ष सेवा गर्‍यौं तर अहिले हाम्रो हाजिर भएको छैन’ उनले भने ‘अस्थायी करार ज्यालादारी सेवाका कर्मचारीको बिचल्ली पार्ने हेतुले कार्य भइराखेका छन् । आज मन्त्रीले पनि समय दिनुभएन ।’

संघले विभिन्न माग राखेर मन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेको थियो । उनीहरुले सरकारी तथा अर्ध सरकारी कार्यालयमा २४० दिन काम गरिसकेका अस्थायी, करार ज्यालादारी र ठेकेदारी कर्मचारीलाई स्वत स्थायी गर्नुपर्ने, समायोजनमा परेर हटाइएका अस्थायी करार,ज्यालादारी र ठेकेदारी कमर्चारीको रोजिरोटीको ग्यारेन्टी र उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।

त्यस्तै करार कर्मचारी व्यवस्थापन सम्बन्धी गत भदौ २ गतेको मन्त्रिपरिषद बैठक खारेज गर्नुपर्ने, संघीय निजामति सेवाको गठनमा अस्थायी करार सेवा पनि राख्नुपर्ने माग गरेका छन् । संघ प्रदेश र स्थानीय तहमा अस्थायी करार ज्यालादारी र तथा ठेकेदारी कमर्चारीको व्यवस्थापन नगरी आफुखुशी कर्मचारी राख्ने र हटाउने कार्य तत्काल बन्द गर्न पनि उनीहरुले माग गरेका छन् ।

संघले सोमबारदेखि छठ अघिसम्म हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मन्त्रालय परिसरमा धर्ना दिने जनाएको छ । त्यति गर्दा पनि माग पूरा नभए छठपछी आन्दोलनमा जाने राउतले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *