Banner News

इएल क्लासिको : रियल मड्रिडको पोस्टमा बार्सिलोनाले हान्यो ५ गोल, स्वारेजले हाने ह्याट्रिक !

कार्तिक ११, काठमाडौ । उरुग्वेन सुपरस्टार लुइस स्वारेजले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलअन्तर्गत सिजनको पहिलो इएल क्लासिकोमा साबिक विजेता बार्सिलोनाले शानदार जित हात पारेको छ । लिगको १०औं हप्ताअन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको सिजनको पहिलो इएल क्लासिकोमा बार्सिलोनाले आफ्नो चीर प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५–१ को नमिठो हार चखायो ।

११ वर्षपछि पहिलोपटक बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सी र रियल मड्रिडका पूर्वसुपरस्टार क्रिस्टियानो रोनाल्डोबिनै भएको इएल क्लासिकोमा बार्सिलोना खेल अवधिभर हाबी भयो । पहिलो हाफमा केही दबाबमा परेको रियलले दोस्रो हाफमा सुधारिएको खेल खेले पनि घरेलु टोलीसामु उसको केही चलेन ।

बार्सिलोनाका लागि खेलको ११औं मिनेटमा फिलिपे कोउटिन्होले पहिलो गोल गरेका थिए । उनले ‘अनमार्क’ रहेको अवस्थामा जोर्डी अल्बाले दिएको क्रस पासमा सहजै गोल गरेका थिए ।

त्यसपछि खेलको २९औं मिनेटमा रियलका डिफेन्डर राफेल भारानेले बार्सिलोनाका लुइस स्वारेजलाई डि–बक्समा लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो । सुरुमा रेफ्रीले त्यसलाई फउल दिन अस्वीकार गरे पनि बार्सिलोनाका खेलाडीले जोडदार भिआरको माग गरेपछि रेफ्रीले भिआर (भिडियो रेफ्री) को मदतमा बार्सिलोनालाई पेनाल्टी अवसर दिएका थिए ।

जसमा स्वारेजले कुनै गल्ती नगरी बललाई जाली चुमाए । र, घरेलु टोलीलाई पहिलो हाफमा २–० को सहज अग्रता दिलाए ।

पहिलो हाफमा दबाबमा परेर २–० ले पछि परेको रियलले सुरुबाटै खेल खेलमा सुधारको संकेत दियो । त्यसक्रममा दोस्रो हाफ सुरु भएको ५ मिनेटमै रियलले पहिलो गोल हान्यो । सो गोल मार्सेलोले निकै आकर्षक तरिकाले गरेका थिए । उनले रियलका लागि पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन् ।

बार्सिलोनाको घरमा २–१ को अवस्थामा बराबरी गोलका लागि संघर्ष गरिरहेको रियलले खेलको ७५औं मिनेटमा तेस्रो गोल खायो । सो गोल स्वारेजले सर्जी रोर्वेटोको अग्लो पासमा आकर्षक तरिकाले टाउकोले गरेका थिए ।

त्यसपछि खेलको ८३औं मिनेटमा स्वारेजले व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–१ ले अगाडि रह्यो । लगत्तै सब्सिच्युट खेलाडी अर्टुरो भिडालले ८७औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ५–१ को शानदार जित निकाल्यो ।

यो जितपछि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । उसले १० खेलबाट २१ अंक जोडेको छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *