Uncategorized

‘पराजित वामदेवलाई सांसद बनाउनु जनमतको अपमान’

२३ असोज, काठमाडौं । काठमाडौं-७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले पार्टी सचिवालयमा राजीनामा बुझाएपछि नेकपा नेता तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम सांसदको उम्मेदबार बन्ने विषयले पुनः चर्चा पाएको छ ।

गत वर्ष सम्पन्न आम निर्वाचनमा बर्दिया-१ बाट पराजित गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउनकै लागि मानन्धरलाई राजीनामा दिन लगाइएको जानकारहरू बताउँछन् ।

एमाले नेता गौतम गत निर्वाचनमा बर्दिया १ बाट कांग्रेसका सञ्जयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए । नेकपा सचिवालय सदस्य रहेका गौतमले अहिले ८ हजार २३ मत अन्तरले जितेको काठमाडौं ७ अन्तर्गत रामवीर मानन्धरको क्षेत्र रोजेका हुन् ।






यो पनि पढ्नुहोस
वामदेवको रहर, नेकपालाई कहर

आमनिर्वाचनमा हारेका व्यक्तिलाई घुमाउरो पाराबाट संसदमा लैजान खोज्नुलाई कतिपय विज्ञले ‘जनमतको अपमान’का रुपमा लिएका छन् ।

संविधानविद् भीमार्जुन आचार्य यस्तो अभ्यासले जनतामा सिंगै व्यवस्थाप्रति नै वितृष्णा जगाउने बताउँछन् ।

पराजित नेतालाई जिताउनकै लागि पुनः मतदान गराउँदै हिँड्दा अनावश्यक निर्वाचन खर्च थपिने आचार्यको बुझाइ छ । उनी भन्छन्, ‘कानूनी र राजनीतिक रुपमा नमिल्ने भन्ने होइन, तर यो सुखद र सकारात्मक अभ्यास पक्कै होइन ।’

नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का पाँच वर्षका लागि निर्वाचित व्यक्तिलाई हटाएर पराजितलाई जिताउन खोज्नुलाई जनमतको उपहास मान्छन् ।






यो पनि पढ्नुहोस
डोल्पापछि काठमाडौं ७ मा वामदेवका आँखा, रामवीर भन्छन्– पार्टीले आवश्यकता देखे छाड्छु

‘जनताले बकाइदा मतपत्रमार्फत हराएका व्यक्तिलाई जिताउनैपर्छ भन्नु अधिनायकवादजस्तो लाग्यो’ खड्का भन्छन्, ‘यसरी नै जनमतको अवहेला गर्दै जाने हो भने आवधिक निर्वाचनको औचित्य समाप्त हुन्छ ।’

संविधानविद नीलाम्बर आचार्य भने मुलुकलाई योगदान दिन सक्ने व्यक्तिलाई संसदमा ल्याउन खोज्नुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् । ‘प्रभावशाली व्यक्तिलाई सांसद बनाउन खोज्नु असमान्य घटना होइन’ आचार्य भन्छन्, ‘यस्तो अभ्यास विगतमा पनि भएको थियो ।’

राष्ट्रिय राजनीतिको नेतृत्व तहमा रहेका नेताहरू सांसद हुँदा संसदीय प्रणाली बलियो हुने आचार्यको भनाइ छ । यद्यपि यसरी ल्याउँदा पार्टीलाई कमजोर बनाउने उद्देश्य हो कि होइन भन्ने पहिले नै निधो गर्नुपर्ने उनी बताउँछन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *