Uncategorized

विकास र सुशासनका लागि एक हुने डोटीका दलहरुको प्रतिवद्धता

१६ कात्तिक, डोटी । जिल्लाको विकास र सुशासनका लागि सबै दलहरु एक भएर अघि बढ्ने डोटीका राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेस डोटीले शुत्रवार आयोजना गरेको चियापान कार्यक्रममा दलका प्रतिनिधिहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन । ‘दलगत विचार आफ्ना ठाउँमा छ, राजनीतिकर्मीहरुका लागि त्यो आवश्यक पनि छ,’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष चक्र मल्लले भने, ‘तर जिल्लाको समग्र विकास र सुशासन कायम गर्नका लागि हामी सबै दलहरु एक ठाउँमा आउनु पर्छ ।’

डोटी जिल्लाको हकमा आफु त्यसका लागि प्रतिवद्ध रहेको उनले बताए । मल्लले स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलगत संकीर्णता भन्दा माथी उठेर जनताको हितका लागि काम गर्न आग्रह समेत गरे ।

यस्तै नेपाली कांग्रेस डोटीका सभापति प्रदिप देउवाले जिल्लाको रचनात्मक विकासका लागि सत्तापक्ष-प्रतिपक्ष नभनी सहकार्य गर्न कांग्रेस तयार रहेको बताए । ‘बिगतका दिनहरुमा पनि डोटीमा दलहरुबीच खासै मत भिन्नता थिएन,’ सभापति देउवाले भने, ‘यदि हामी दलहरु प्रतिवद्ध हुने हो भने आगामी दिनहरुमा भ्रष्टाचार नियन्त्रण र सामाजिक बिकृतिहरुको अन्त्य गर्न सक्छौं ।’ उनले यसका लागि कांग्रेस प्रतिवद्ध रहेको समेत बताए ।

राष्ट्रिय जनमोर्चा डोटीका सचिव केशवनाथ योगीले जिल्लामा भ्रष्टाचार मौलाएकोप्रति चिन्ता व्यक्त गर्दै यसलाई तत्काल रोक्नु पर्ने बताए । ‘दलहरुले एकतावद्ध भएर भ्रष्टाचार न्यून गर्नका लागि अभियान चलाउनु पर्छ,’ योगीले भने, ‘यदि दलहरु तेरो मेरो भन्दै बस्ने हो भने जिल्लाको विकास पनि हुन सक्दैन र भ्रष्टाचार नियन्त्रण पनि हुन सक्दैन् ।’ उनले प्रदेश संरचना आवश्यक नभएकोले यसलाई तत्काल खारेज गर्न सवैले दवाव दिनु पर्ने वताए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का जिल्ला अध्यक्ष बहादुरसिं खड्काले पनि जिल्लाको समग्र विकासका लागि डोटीका दलहरु एक हुनु पर्ने बताए । ‘डोटीमा राजनीतिक दल छैनन् कि भन्ने अनुभूति भएको छ,’ खड्काले भने ‘त्यसकारण जिल्लाको हितका लागि हामी एक हुनु जरुरी छ ।’

कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले सामाजिक बिकृतिमा संलग्न नहुन आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिन सवै दलहरुलाई आग्रह गरिन् । उनले थपिन् ‘जुवातास, मदिरा जस्ता बिकृतिहरुमा दलकै कार्यकर्ताहरुको संलग्नता रहेको देखिन्छ, यसलाई अन्त्य गर्न आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिनु पर्‍यो ।’

उपभोक्ता समिति गठनमै जनप्रतिनिधिको हस्तक्षेप भयो

कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख रामवहादुर ऐरले स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै भने, ‘तपाईहरु विकासमा राजनीतिक गर्नुहोस् ।’ उनले स्थानीय तहका जनप्रतिनिधिहरुले उपभोक्ता समिति गठन गर्दा समेत आफ्नो पार्टीको मान्छे उपभोक्ता बनाउन हस्तक्षेप गर्ने गरेको आरोप लगाए ।

‘आफ्नो मान्छेलाई उपभोक्ता समितिको अध्यक्ष बनाउनु पर्ने कहाँ छ, त्यही ठाउँमा योजना हाल्ने अनि जवरजस्ती उपभोक्ता समिति गठन गर्ने काम हुँदैछ’ ऐरले भने ‘जनप्रतिनिधि भइसकेपछि साझा हुन सक्नु पर्छ, कमिसनको खेलमा योजना बाँड्दै हिड्ने होइन ।’ उनले जनताका वास्तविक समस्याहरु समाधान गर्ने गरी योजना निर्माण गर्न समेत आग्रह गरे ।

उनले थपे ‘दुई चार जना खुशी पार्नका लागि जनताले तिरेको करमा मनपरी नगर्नुहोस् ।’ उपभोक्ता समिति गठनमै हस्तक्षेप भएको भन्दै जिल्ला समन्वय समितिमा समेत गुनासो आउने गरेको ऐर बताउँछन् । उनले जनप्रतिनिधिहरुलाई निश्पक्ष भएर विकास निर्माणमा लाग्न निर्देशन दिन समेत दलहरुलाई आग्रह गरे ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *