१२ कात्तिक, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य सुटरसहित ३ जना पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई भारतको सिक्किमबाट पक्राउ गरेर ल्याएको हो । पक्राउ पर्नेमा मुख्य सुटर अमरबहादुर राना, लोप्साङ लामा र रोशन बुढाथोकी रहेका छन् ।
लोप्साङ लामा यसअघि रुपन्देहीमा युवा संघका नेता दुर्गा तिवारीको हत्या घटनाका मुख्य सुटर रहेको प्रहरीको भनाइ छ । बुढाथोकी भने सुटर नभइ हत्याका योजनाकार रहेको प्रहरीले बताएको छ ।
यद्यपी महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने उनीहरुलाई झापाको काकडभिट्टाबाट पक्राउ गरेको बताएका छन् । गौचन हत्याका मुख्य सुटर अमर राना दुई वर्ष अघि काठमाडौंमा नै भएको गुण्डानाइके दावा लामालाई गोली हान्ने घटनामा पनि संलग्न रहेको महाशाखाको भनाइ छ ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ । गौचन हत्यामा संलग्नको आरोपमा यसअघि गुण्डानाइके समिरमान सिंह बस्नेतसहित अन्य पक्राउ परिसकेका छन् । गौचनकाे काठमाडौंको शान्ति नगरमा आफ्नै गाडीभित्र गोली हानी हत्या भएको थियो ।



