Uncategorized

आजका पत्रपत्रिकाः कोषाध्यक्षको प्रतिवादबीच कांग्रेस कोषबाट रकम निकासा

११ कात्तिक, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा नेकपाको चियापान, काठमाडौंका धराप सडक, श्रीलंकाको राजनीतिक संकट, दुर्घटनामा डीआईजीसहित ३ जनाको मृत्यु भएकोलगायत समाचार परेका छन् ।

त्यसैगरी, कांग्रेस कोषबाट रकम हिनामिना भएको, ३० हजार करदाता भ्याटको सूचीबाट हट्न लागेको, लापरबाहीले खाल्डोमा परेर राजधानीमा एकजनाको मृत्यु भएकोलाई पनि पत्रपत्रिकाहरुले महत्त्व दिएर लेखेका छन् ।

एम्बुस सडकः २४ घण्टामा ४ जनाको ज्यान गयो

असुरक्षित सडकलाई एम्बुसको संज्ञा दिएको नागरिकले २४ घण्टामा ४ जनाको ज्यान गएको भन्दै सडक सुरक्षाबारे चिन्ता व्यक्त गरेको छ ।

नागरिक लेख्छ– खाल्डा, धुलो, धुँवा, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्रै नभई जोखिम पनि उत्तिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ ।

असुरक्षित सडक र लापरवाह चालकका राजधानीमा २४ घण्टामा ४ जनाको ज्यान गएको नागरिकको समाचारमा उल्लेख छ । तारकेश्वर नगरपालिका लोलाङ हाइटमा ट्रकको ठक्करबाट ३ र कीर्तिपुरमा मंगालमा परेर अर्का १ जनाको ज्यान गएको हो । सडक दुर्घटनामा डीआईजीसहित ३ को मृत्यु भएकोलाई पनि नागरिकले यही समाचारमा कम्पाइल गरेको छ ।

श्रीलंकामा राजनीतिक संकट, संसद् निलम्बन

प्रथम पृष्ठमा नेकपा चियापानको झल्को दिने तस्वीर छापेको अन्नपूर्णले पनि नागरिकको जस्तै महानगरका धराप सडक र सवारी दुर्घटनाको विषयमा मुख्य समाचार लेखेको छ ।

श्रीलंकामा संवैधानिक संकट देखापरेकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा लेखेको छ ।

श्रीलंकाका राष्ट्रपतिले प्रधानमन्त्री फेरेलगत्तै संसद् पनि दुई साताका लागि निलम्बन गरेका छन् । साविक प्रधानमन्त्री रनिल विक्रमासिंघेले संसदमा आफ्नो बहुमत कायम रहेको दाबी नछाडेकाले त्यसलाई छल्न उनले यस्तो कदम चालेको समाचारमा उल्लेख छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनलाई पदच्युत गरी प्रधानमन्त्री बनाएका महिन्द्रा राजापाक्षले बहुमत देखाउन सक्ने समीकरण अझै बनेको छैन ।

प्रदेश प्रहरी अध्यादेशमार्फत्

कान्तिपुरले गृह मन्त्रालयले तत्काललाई कार्यकारी आदेशमार्फत् प्रदेशलाई प्रहरी प्रशासन परिचालनको अधिकार दिने तयारी गरेको लेखेको छ ।

प्रहरी प्रशासन सञ्चालन र शान्तिसुरक्षा व्यवस्थापनको अधिकार नदिइएके भन्दै प्रदेश सरकारहरुको असन्तुष्टि चुलिएपछि गृहले कार्यकारी आदेशमार्फत् अधिकार प्रत्यायोजन गर्न लागेको हो ।

प्रदेशभित्रको प्रहरी परिचालन तथा प्रहरी निरीक्षक सरुवासम्मका अधिकार प्रदेशलाई दिने कार्यविधिसमेत तयार भइसकेको समाचारमा उल्लेख छ ।

कान्तिपुरमै केयूकेएलले खुलै छोड्दा कीर्तिपुरको खाडलमा साइकल यात्रीको ज्यान गएको, बाटैमा बिजुली छाड्दा काभ्रेमा जीप दुर्घटना भएको समाचार पनि छन् ।

कांग्रेस कोषबाट रकम हिनामिना

क्रियाशील सदस्यता वितरण र नवीकरण, सांसद्बाट महिनैपिच्छे काटिने लेबीबाट चल्दै आएको कांग्रेसको आर्थिक कोषमा मनपरी चलेको नयाँ पत्रिकाले लेखेको छ । समाचार अनुसार महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित कोषाध्यक्ष सीतादेवी यादवके प्रतिवाद हुँदाहुँदै पनि रकम निकाल्ने गरिएको छ ।

नयाँ पत्रिका लेख्छ– यसअघि निकालिको डेढ करोडको खर्च अपारदर्शी भएको कोषाध्यक्षको गुनासोकै बीच दशैंमा ५० लाख निकालिएको छ । समाचार अनुसार महामन्त्रीले घरमै बोलाएर चेकमा हस्ताक्षर गर्न गरेको आग्रह कोषाध्यक्षले नमानेपछि उनले आफैं हस्ताक्षर गरेर रकम निकालेका छन् । यसरी कोषमा मनपरी गरेपछि कोषाध्यक्ष यादवले पदाधिकारी बैठकमै गुनासो गरेकी छन् ।

कांग्रेसमा खाता सञ्चालनका लागि कोषाध्यक्षसहित महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर चल्छ ।

राजधानीमा निजामती कर्मचारी भद्रगोल बनेको, रेल जनकपुरको कुर्था आइपुगेको लगायत समाचार छन् ।

गोरखापत्रले भूकम्पले क्षतिग्रस्त लाङटाङमा पर्यटक वृद्धि भएकोलाई एंकर बनाएको छ ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले राष्ट्रपतिको दशैं टीकासँग जोड्दै परिवर्तनपछि उदाएको गणतान्त्रिक नेतृत्वमा पनि शाही शासककै धङधङी देखिएको निष्कर्ष निकाल्दै कभर स्टोरी लेखेको छ । हिमालले भने नेकपाकाे सांगठनिक तथा कार्यदिशागत अस्तव्यस्तता केलाएकाे छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *