८ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजका अलराउण्ड क्रिकेटर डायन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले फ्रेन्चाइज टी-२० क्रिकेट भने खेलिरहने छन् ।
३५ वर्षका ब्राभोले २००४ मा डेब्यू गरेपछि ४० टेस्ट, १ सय ६४ एकदिवसीय र ६६ अन्तर्राष्ट्रिय टी-२० खेलेका छन् । उनको अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट भने दुई वर्षअघि २०१६ को सेप्टेम्बरमा पाकिस्तानसँगको टी-२० खेल थियो ।
प्रेस विज्ञप्तिमार्फत ब्राभोले भनेका छन्, ‘आज म अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटबाट औपचारिक रुपमा नै सन्यासको घोषणा गर्छु । १४ वर्षअघि वेस्ट इन्डिजको क्याप लगाएर लर्डस मैदान छिरेको अझै याद छ । त्यसपछिका हरेक खेलमा उही उत्साह र मेहनतका साथ खेलें ।’
‘अब नयाँ पुस्ताका लागि उही ठाउँ मैले दिन सक्नुपर्छ भन्ने लागेर सन्यासको घोषणा गरेको छु’ उनले भनेका छन् ।
टी-२० क्रिकेटरका रुपमा चिनिएका ब्राभोले अन्तिम टेस्ट २०१० मा खेलेका थिए । साथै उनको अन्तिम एकदिवसीय २०१४ मा भारतसँग खेलेको खेल नै भएको छ ।
टेस्टमा उनले ३१.४२ को एभरेजमा २२ सय रन बनाएका छन् । साथै ८६ विकेट पनि लिएका छन् । एकदिवसीयमा २५.३६ को एभरेजमा २ हजार ९ सय ६८ रन बनाएका छन् भने १ सय ९९ विकेट लिएका छन् । अन्तर्राष्ट्रिय टी-२० को ६६ खेलमा १ हजार १ सय ४२ रन बनाएका छन् भने ५२ विकेट लिएका छन् ।



