Uncategorized

प्रधानमन्त्रीको घोषणा : अब चुलोचुलो ग्यास पाइप होइन, बिजुलीको तार

६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्माले अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताएका छन् ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनले काँधमा सिलिण्डर बोक्ने युगको अन्त्य गरेर चुलोचुलोमा पाइपबाट ग्यास पुर्‍याउने बताएका थिए । तर, यो पुरा नहुँदै उनले नयाँ नारा दिएका छन्, अब चुलोमा ग्यास पाइप होइन, बिजुलीको तार ।

काठमाडौं उपत्यकामा बिजुली बस सेवा सुरु गर्दै प्रधानमन्त्री ओलीले यो पाँच थान विद्युतीय बसको कुरा होइन, आगामी कार्यदिशाको संकेत भएको बताए । उनले भने, ‘मैले ग्यासको पाइप भन्दा निकै चर्चाको विषय बन्यो । अब छिट्टै ग्यासको पाइप होइन, विजुलीको तारबाट चल्ने चुलाको युगतिर जाँदैछौं ।’

हाम्रो दैनिक जीवनमा प्रयोग हुने अन्य सामग्रीसमेत विद्युतीय हुनुपर्ने उनले बताए । ‘संसार छिटोछिटो बगेको छ । यो तीन वर्षभित्र हामी पनि ग्यास पाइप चुलोमा होइन, विजुलीको चार चुलोमा जाँदैछौं । केही मान्छेलाई फेरि अनौठो लाग्नसक्छ । तर, दुनियाँ बदलिएको बदलिएकै छ’ उनले भने ।

२०२० मा २० प्रतिशत विद्युतीय सवारी

प्रधानमन्त्री ओलीले विद्युतीय सवारीलाई जोड दिइने बताए । सरकारले २०२० सम्म कम्तिमा २० प्रतिशत सवारी साधन विद्युतीय बनाउने लक्ष्य लिएको उनले बताए ।

आधारभूत रुपमा लोडसेेडिङ अन्त्य भएको र केही वर्षमै जलविद्युतमा स्वनिर्भर हुने भन्दै उनले भने, ‘पेट्रोलियम उर्जाको ठाउँमा आफैंले उत्पादन गरेको जलविद्युतको प्रयोगले अर्थतन्त्र, वातावरण, जनस्वास्थ्यमा लाभ हुनेछ ।’

विद्युतीय सवारी प्रवर्धनका लागि इकाइ गठन गरेर कार्यक्रम सञ्चालन गर्ने उनले बताए । नेपाल विद्युत प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने तय गरेको सुनाउँदै प्रधानमन्त्री ओलीले विद्युतीय सावारी आयात र प्रयोगलाई प्रोत्साहित गर्नेबारे सरकारले छलफल गरिरहेको बताए ।

विद्युतीय सवारी प्रयोगबारे दुई ठूलो छिमेकीको लक्ष्यलाई पनि सरकारले हेरिरहेको बताए । उनले भने, ‘हाम्रो मोटर उद्योग छैन । बनाउने-स्थापना गर्ने हो भने विद्युतीय गरे भयो । यसमा हामी विभिन्न विकल्पका खोजी गरिरहेका छौं ।’

हेर्नुहोस् भिडियो



अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *