Uncategorized

स्पेनमा दूताबास आएपछि नेपालीलार्इ झनै सास्ती

६  कात्तिक, बार्सिलोना। स्पेनमा नयाँ नेपाली दूताबास खुलेपछि स्पेनबासी नेपालीले झनै सास्ती व्यहोरेका छन्। राहदानी बनाउनका लागि स्वयं ब्यक्ति नै दूताबासमा उपस्थित हुनुपर्ने भएपछि ठूलो झन्झट ब्यहोर्नु परेको हो।

बार्सिलोना निबासी नरेन थापा र शिशिर पन्तले दूताबासमा सम्पर्क गर्दा स्वयम् उपस्थित हुनुपर्ने जवाफ पाए। ‘यता काम गर्नु पर्यो भनेको बेला बिदा मिल्दैन,पासपोर्ट नबनाई भएको छैन। अहिले नै म्याड्रिड कसरी जाने ? बरु फ्रान्सकै दूताबासले हेर्दा सजिलो हुन्थ्यो। कुरियरबाट डकुमेन्ट पठाए पासपोर्ट त बन्थ्यो’ थापाले गुनासो पोखे।

थापा र पन्तको जस्तै बार्सिलोना निबासी सुमन ठकुरी मल्लको पिडा पनि उस्तै छ। उनि भन्छन्, ‘अहिले नै म्याड्रिड कसरी पुग्ने,पोष्ट मार्फतको सुबिधा त दूताबासले दिनुपर्यो नि।’

१० हजार नेपालीहरु रहेको स्पेनमा झन्डै आधाजतिको बसोबास बार्सिलोनामा रहेको छ। ६ सय २४ किलोमिटर टाढा यात्रा गरेर म्याड्रिड नै पुग्नुपर्ने भएपछि यहाँ स्थित नेपालीहरु दूताबाससँग आक्रोशित समेत बनेका छन्।

स्पेनका लागि पहिलो राजदूत बनेर आएका भरत बहादुर रायमाझीले पासपोर्ट बिभागको निर्देशन अनुसार स्वयं ब्यक्ति नै उपस्थित हुनुपर्ने बताउँछन्। अनलाईनखबरको जिज्ञासासँग कुराकानी गर्दै उनले भने,’हामीले काम गर्ने हो। उहाँहरुले एउटा नियम बनाउनु भएको रहेछ। त्यो नियम बेलाबेलामा फेसबुकमा राखेर रिमाइण्ड पनि गराउनु हुन्छ। पासपोर्ट बनाउनको लागि निबेदन गर्न पनि दूताबास जानु पर्ने र लिन पनि जानु पर्ने नियम रहेछ। अहिले हामीले पनि त्यही नै गरेका छौं।’

दूताबासमा स्वयं ब्यक्ति नै उपस्थित हुनुपर्ने नीतिको बचाउ गर्दै राजदूत रायमाझीले बिभागले प्रमाणिकरण र सहप्रमाणीकरण भनेर छुट्टाएको बताए। उनले भने,’प्रमाणीकरण भनेको जुन राष्ट्रमा बसेको छ त्यसलाई प्रमाणिकरण, एउटा राष्ट्रबाट अर्को राष्ट्रमा हेरिन्छ त्यो सहप्रमाणीकरण। गरिन्छ। स्पेनमा नै दूताबास भएकाले यो प्रमाणिकरण अन्तर्गत पर्यो त्यसैले राहदानी बनाउन स्वयं उपस्थित हुनुपर्छ।’

बार्सिलोनाबाट राहदानी बनाउँन पोष्ट मार्फत असम्भव नै हो भन्ने प्रश्नमा राजदूत रायमाझीले दोहोर्याएर भने,’बार्सिलोना देखि पोष्टमा डकुमेन्ट पठाएर राहदानी बन्दैन। बिभागको निर्देशन अनुसार हामीले बनाउन सक्दैनौ।’ तर यो समस्या समाधान बारे राहदानी बिभागमा नै लिखित प्रतिबेदनसहित सुझाव दिएको जानकारी दिए।

पटकपटकको प्रश्नमा राजदूत भन्छन्, ‘अहिले सम्म स्वयं उपस्थित हुनैपर्ने विभागीय निर्देशन छ। कुरियरबाट डकुमेन्ट पठाएर राहदानी जारी गर्न सकिँदैन।’

अनलाइनखबरले यसबारे जिज्ञासा राख्दै बेल्जियम र फ्रान्स स्थित नेपाली दूताबासमा पनि सम्पर्क गर्यो। तर, दुवै दूताबासमा पोष्ट मार्फत डकुमेन्ट पठाएर राहदानी जारी भइरहेको दूताबासहरुले जवाफ दिएका छन्।

फ्रान्स स्थित नेपाली दूताबासकि राजदूत अम्बिकादेबी लुईटेल भन्छिन् ‘दूताबासले सुबिधालाई छिटो,छरितो र सुबिधा दिने नीति ल्याएको छ। प्रक्रियागत सबै कागजपत्र राम्रोसँग हेर्छौं। पेरिस नजिकैबाट दूताबासमै आउनुहुन्छ ,तर पेरिसभन्दा टाढाका शहरबाट पोष्ट मार्फत कागजपत्र पठाएर राहदानी बनाउने सुबिधा दूताबासमा छ। पासपोर्ट बनिसकेपछि पनि पोष्टको सुबिधा वा मञ्जुरीनामाको आधारमा बितरण गर्ने गरेका छौ।’

तर, राजदूत लुईटेलले अधिकृत वारिसनामा भने राजदूतकै अगाडl सहीछाप गर्नुपर्ने हुँदा स्वयं उपस्थिति हुनुपर्ने बताइन्।

कर्मचारी र राजदूतको तालमेल नमिल्दा दूताबास धरापमा  

नेपाल सरकारले स्थापना गरेको नयाँ दूताबासमा राजदूत रायमाझीसहित प्रथम सचिव हरिहरकान्त पौडेल र तेस्रो सचिवका रुपमा भोजकुमार भट्टराई कार्यरत छन्। दूताबासमा राजदूत र कर्मचारीबीच पनि तालमेल नमिल्दा बार्षिक ५ करोड रुपैयाँ सरकारी खर्च हुने दूताबास धरापमा परेको छ।

राजदूतले कर्मचारीलाई र कर्मचारीले राजदूतले काम गर्न नसकेको आरोप बेला बेला लगाउने गरेको पाइएको छ। राजदूतसहित ३ जना कर्मचारी रहेको दूताबास भवनसमेत अझैसम्म ब्यबस्थित छैन। २ हजार ७ सय ५० युरो मासिक भाडा तिर्ने भवन बालमैत्री तथा अपाङ्गमैत्री समेत छैन। सोही भवनलाई नै राजदूत निवाससमेत बनाइएको छ।बिकसित देशमा रहेको दूताबासमा ह्वविलचियर छिराउन नमिल्नु आफैँमा लज्जास्पद हो।

लाखौ रुपैयाँ खर्च गरेर किनेका ३ वटा गाडीहरु अहिलेसम्म प्रयोगविहीन छन्। गाडी खरिदमा ईन्सुरेन्स लगायतका प्रक्रिया नमिल्दा दूताबासले ठूलो झन्झट समेत ब्यहोर्नु परेको छ। अर्कोतर्फ दूताबासमा अहिलेसम्म न गाडी चलाउने ड्राईभर नै छन्, न थप कर्मचारी नै।

नयाँ दूतावास ब्यबस्थित गर्न समय लाग्ने भए पनि अहिलेसम्म तालमेल नमिल्नुलाई ठूलो कमजोरीका रुपमा लिइएको छ। झन्डै ५ लाख रुपैयाँ खर्च गरेर दूताबासले होटलमा आयोजना गरेको संबिधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रममा स्पेन सरकारको परराष्ट्र मन्त्रालयबाट कोही पनि प्रतिनिधि सहभागी बनेनन्। सिङ्गो दूताबासले आयोजना गरेको कार्यक्रममा नगरपालिकाका प्रतिनिधि मात्र उपस्थित हुनुले कुटनीतिक सम्बन्ध बिस्तारमा दूताबास चुकेको पाइन्छ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *