Uncategorized

जब बुढा कैदीले मनोज गजुरेललाई च्यालेन्ज गरे (भिडियोसहित)

३ कात्तिक, बिराटनगर । बिराटनगरको मोरङ कारागार । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दीले खचाखच छ । कारागारभित्र एकछिन सन्नटा छायो । चौतर्फी पर्खालले घेरिएका उनीहरु माझको खाली भागमा टुक्रुक्क-टुक्रुक्क बसेका थिए । केही सुन्न उत्सुक भए जसरी उनीहरुले कान थापे, केही हेर्न ब्यग्र आँखा जस्तै उनीहरु एकोहोरिए ।

अघिल्तिर देखा परे एक बुढा मान्छे ।

टिसर्ट र पाइन्ट लगाएका । ढाका टोपी पहिरिएका । औसत भन्दा होचो कदका । छरितो र फुर्तिलो ज्यानका । गोलाकार चस्मा लगाएका । नाम रहेछ, किशोर तिमिल्सिना । उनले माइक्रोफोन के समातेका थिए, एक राउन्ड तालीले कारागार गुञ्जियो ।

ताली थामिएपछि उनले आफ्नो चिनारी दिए र केही सुनाउन लागेको बताए । बुढा भन्दै थिए, ‘अहिले सन् २०१८ साल हो, १९८० सालमा मैले कोरेको थिएँ । जुन मैले मेरो हृदयमा राखेको छु, जसको लागि कुनै कागजको आवश्यकता पर्दैन ।’

त्यसअघिसम्म कार्यक्रम संचालकले कागज हेर्दै बोलेको देखेर हुनुपर्छ, बुढाले कटाक्ष गरे । उनी भन्दै गए, ‘मसँग अहिले दुई वटा हास्यव्यंग छ । हुन त मसँग थुप्रै आर्टिकल छ । आज चाहिँ दुई वटा मात्र सुनाउँछु । एउटा अंग्रेजीमा समाचार, रेडियो बम बास्टिङ । अर्को आकाशवाणी वैकुण्ठका समाचार ।’

उनले समाचार यसरी सुरु गरे, ‘दिस इज रेडियो बम बास्टिङ ।’

आफूले त्यसबेला अंग्रेजी त्यति राम्रोसँग बोल्न नजानेको अवस्था थियो भन्दै उनले दुरुस्तै अंग्रेजी टोनमा समाचार सुनाए । उनको समाचारमा राजनीतिक दल, चम्चागिरी, घुसखोरी जस्ता विकृतिप्रति तिखो व्यांग थियो ।


जम्माजम्मी दुईवटा समाचार (हास्य ब्यंग) पेश गरेर उनी भिडबाट अलाप भए ।

अब पालो थियो, मनोज गजुरेलको । बुढाले आफ्नो प्रस्तुती दिइरहँदा उनी मञ्चमा बसेर हाँसिरहेका थिए । जसै गजुरेल कैदीबन्दीको अघिल्तिर उभिए, भिडले ताली पड्काएर उनलाई स्वागत गरे । उनले लगातार आफ्ना ठट्यौली सुनाएर दर्शकलाई हँसाइरहे ।

अवसर थियो, कारागारमा हास्य शिविरको । यसको मेलोमेसो मिलाएको थियो, सिस्नुपानी नेपालले । सजाय भुक्तान गरिरहेका कैदीहरुमा केही सकारात्मक सन्देश र हास्य खुराक लिएर ‘कारागार-यात्रा’मा निस्किएका सिस्नुपानी नेपालका लक्ष्मण गाम्नागे, टंक आचार्य, शिशिर योगीले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

सजाय भुक्तान गरिरहेका कैदीहरुको अवस्था के कस्तो छ, उनीहरु कस्तो मनोदसामा घेरिएका छन्, कैद भुक्तान गरिसकेपछि कसरी समाजमा पुर्नस्थापित हुन्छन् ? यस्तै चासो बोकेर कारागार यात्रा थालेका सिस्नुपानी नेपालले यो अभियान देशव्यापी बनाएर लगेको छ ।

यसै क्रममा पूर्वका आधा दर्जन कारागारमा ‘हास्य शिविर’ पुर्‍याइएको थियो । यस क्रममा सिस्नुपानी नेपालका कलाकर्मीले जति प्रस्तुती पेश गरे, उत्तिनै कैदीबन्दीले पनि । उनीहरु को भन्दा को कमको शैलीमा गीत, कविता, हास्यव्याङ्ग, नृत्य लिएर प्रस्तुत भएका थिए ।


अधिकांश कारागारमा कला, साहित्य, मनोरञ्जन, खेलकुदका गतिविधि हुँदा रहेछन् । साहित्य, मनोरञ्जनका बेग्लाबेग्लै समूह पनि गठन गरिएको रहेछ । त्यही समूह अन्र्तगत उनीहरु आ-आफ्नो रचना सुनाउने बताइरहेका थिए । त्यसो त बेलामौकामा उनीहरुले सांस्कृतिक, साहित्यिक, खेलकुद कार्यक्रम नै आयोजना गरिरहेका रहेछन् ।

झुम्का कारागारको ब्लब ‘ए’मा कर्मबाद ब्यान्ड बनाएर त्यसै अन्र्तगत कैदी युवाहरु गीत संगीतको अभ्यास गरिरहेका थिए । कार्यक्रममा उनीहरुले गीत मात्र गाएनन्, परम्परागत नृत्य समेत प्रस्तुत गरे । यसका लागि आवश्यक च्याब्रुङदेखि धनुस बाँणसम्म उनीहरुले तयार गरेका थिए ।

बिराटनगरको मोरङ कारागार हुँदै, भद्रपुर, झुम्का र गाइघाटको कारागारमा ‘हास्य शिविर’ सञ्चालन गरिएको थियो । यस अन्र्तगत गीत-संगीत, हास्यव्याङ्ग, कविता प्रस्तुत गरिएको थियो । साथै योग एवं ध्यानका अभ्यास गराइएको थियो ।

भिडियो हेर्नुस्

[youtube https://www.youtube.com/watch?v=2LYLFRzcUsw]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *