१९ असोज,बुटवल । उद्योग व्यापार संघ बुटवल रूपन्देहीको आयोजना तथा जिल्ला समन्वय समिति रूपन्देही र बुटवल उपमहानगरपालिकाको प्रवर्द्धनमा बुटवलमा तेस्रो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला सुरु भएको छ ।
बुटवल मण्डपमा सञ्चालित मेलाको शुक्रबार प्रदेश ५ का मुख्य मन्त्री संकर पोखरेलले उद्घाटन गरे ।
मेलाको उद्घाटन गर्दै मुख्य मन्त्री पोखरेलले व्यापार व्यवसायलाई ग्रामीण अर्थतन्त्रसंग नजोडेसम्म नेपाली अर्थतन्त्रको दिगो विकास हुन नसक्ने बताए ।
सजिलो व्यापारको रुपमा अहिले सिमा पारिबाट विभिन्न बस्तु आयात गरी सहरमा नै बिक्री गर्ने परिपाटी विद्यमान रहेको भन्दै उनले ग्रामीण क्षेत्रका जनातहरुको आर्थिकस्तरमाथि उठ्ने गरी व्यापार व्यवसाय गर्न सकेमा मात्रै मुलुकको दिगो आर्थिक विकास हुने बिचार व्यक्त गरे ।
आयातित बस्तु बिक्री वितरण गरी आर्थिक समृद्धिको कुरा गर्नुलाई ‘थोत्रो आर्दश’को संज्ञा दिदै मुख्यमन्त्री पोखरेलले जबसम्म ग्रामीण अर्थतन्त्रसंग राष्ट्रिय अर्थतन्त्र जोड्न सकिदैन तव सम्म विकासको आशा गर्नु बेकार रहेको बताए ।
अहिलेको व्यापार छिमिकी उद्योगीहरुलाई पोष्ने काम मात्र भएको भन्दै उनले त्यसलाई अन्त्य गर्नुपर्ने आवश्यकता औल्याए ।
कमाइको ठूलो हिस्सा बाहिर जाने गरेको बताउदै मुख्य मन्त्री पोखरेलले जनताको जिवनस्तर माथि उठाउने खालका उद्योगमा ठूलो हिस्सा लगानी गर्नुपर्नेमा जोड दिए ।
उद्येागी व्यवसायीहरु आर्थिक अपराध जम्माउने तर्फ उद्धत हुन नहुने भन्दै उनले विलासिताको क्षेत्रमा भन्दा उद्यमशिल, रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्नुपर्ने बाताए । ‘ठूल ठूला घरहरु बनाउनु भन्दा पनि घर बनाउने रकम लाई उद्यमशिलता विकास गर्ने तर्फ लाग्नुहोस्’-मुख्यमन्त्री पोखरेलले भने ।
आवास नीतिलाई अनुसरण गरी आवाशीय क्षेत्र र व्यापारिक क्षेत्र छुट्टाएर व्यापार व्यवसाय गर्नुको विकल्प नभएको उनको तर्क थियो । उद्योग व्यवसायलाई राजनीतिसंग जोड्न नहुने भन्दै मुख्य मन्त्री पोखरेलले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
बुटवल वाणिज्य, व्यापार क्षेत्रको महत्वपूर्ण संभावना बोकेको स्थान भएको भन्दै उनले व्यवसायीक र आवाशीय स्थानको बर्गीकरण गरेर अगाडि बढ्नु पर्ने आवस्यकता औल्याए ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम बहादुर पाठकले युवाहरुलाई देश विदेश पालयन हुन बाट रोक्न सकेमा मात्रै देश समृद्धि हुने बताउदै मेला महोत्सवका लागि स्थायी सम्मेलन केन्द्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘स्वाधिन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ भन्ने मुख्य नाराकासाथ आयोजना गरिएको मेलामा २० करोड भन्दाको बढि कारोबार हुने लक्षका साथ मेला आयोजना गरीएको मुल आयोजक समितिका संयोजक तथा बुटवल उद्योग व्यापार संघका अध्यक्ष प्रविणबहादुर पाठकले जानकारी दिए ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हामल, नेपाली कांगे्रस नगर सभापती खेलराज पाण्डे, बुटवल उपमानगरपालिका वडा नम्बर १० का अध्यक्ष पदम थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे,संगठनका केन्द्रीय सदस्य खेम नारायण पराजुली, वुटवलका उपाध्यक्ष गोविन्द गैरे, नेत्र रुचाललगायतले आ-आफ्नो भनाइ राखेका थिए ।
मेलामा औद्योगिक उत्पादन, कृषि उत्पादन, अटोमोवाईल्स, गार्मेन्ट, खाद्यान्न, फूटवेयर लगायतका विभिन्न प्याभिलियन बनाइएको छ भने दशैं सस्तो बजारको लागि छुट्टै प्याभिलियन बनाइएको छ ।
प्रदर्शनी स्थलमा ४ सय १५ भन्दा बढी स्टल रहेको प्रदर्शनीका संरक्षक खिम नारायण पराजुलीले बताए । प्रदर्शनीको मुख्य आकर्षण नौ तले धरहरा रहेको छ ।
करिब २२ लाख रूपैयाँ खर्च गरेर भूकम्पले ध्वस्त भएको धरहराको प्रतिरूप प्रदर्शनी स्थलमा निर्माण गरिएको छ । प्रदर्शनीलाई सांस्कृतिक मय बनाउन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ भने प्रदर्शनीमा फेशन शो, बिट कन्टेक्स, खुल्ला डान्स प्रतियोगिता गरिने आयोजकले जनाएका छन् ।



