क्यान्सर, जसले विश्व-मानवलाई थर्कमान बनाएको छ । प्रविधि-विकासको यो चरणसम्म पनि क्यान्सरको पूर्ण उपचार संभव छैन । अर्थात क्यान्सरको विरुद्धमा अहिलेका चिकित्सा विज्ञान असफल हुँदै आएको छ ।
हुन त क्यान्सरको विभिन्न चरण हुन्छ । केही चरणमा क्यान्सरको उपचार संभव नभएको होइन । तर जब अन्तिम चरणमा पुग्छ, त्यसबेला क्यान्सरको उपचार असंभव हुन्छ । जतिसुकै उपचार गराएपनि, जतिसुकै खर्च गरेपनि क्यान्सरबाट उन्मुक्ति पाउन सकिदैन ।
अर्कोतिर क्यान्सर रोगीको संख्या विश्वमा बढ्दो छ । थरीथरीका क्यान्सरले लाखौं, करोडौंलाई थिलथिलो बनाइरहेको छ ।
क्यान्सर यस्तो प्रकृतिको रोग हो, जो धेरैजसो अन्तिम चरणमा पुगेपछि मात्र त्यसको संकेत थाहा पाउन सकिन्छ । वैज्ञानिकहरु यस रोगको उपचारको खोजीमा लागिरहेका छन् ।
अब क्यान्सर उपचार संभव होला ?
क्यान्सरको उपचारबारे निरन्तर खोजी भइरहेको छ । क्यान्सरको प्रभावकारी उपचार जसलाई ‘चेक प्वाइन्ट थेरापी’ भनिन्छ, त्यसका लागि अमेरिकाका प्रोफेसर जेम्स पी एलिसन र जापानका प्रोफेसर तासुकू हान्जोलाई यसपाली चिकित्सा विधमा नोबेल पुरस्कार समेत मिलेको छ ।
अतः यसको उपचारका लागि ठोस नतिजा हासिल गर्ने गरी बेलायतमा एक यन्त्रको प्रयोग गरिएको छ, जो यसअघि गरिएको थिएन । यस यन्त्रको मद्दतले चिकित्सकले रेडियोथेरापीका क्रममा ट्युमरको परीक्षण पनि गर्न सक्नेछन् । यसबाट के अपेक्षा गरिएको छ भने, क्यान्सरको यस्तो उपचार संभव हुनेछ, जसको साइड इफेक्ट कम हुनेछ ।



