सिड्नी । अन्तर्राष्ट्रिय झापाली समाज (अझास) को दोस्रो क्षेत्रीय सम्मेलनले झापाको समृद्धिका लागि एक अर्ब बढी लगानी गर्नेसहित महत्वपूर्ण ७ वटा घोषणा गरेकोे छ । दुई दर्जन बढी मुलुकबाट आएका झापाली प्रतिनिधिहरुले सामुहिक लगानी र समृद्ध झापा बनाउने प्रतिवद्धतासहित दक्षिण कोरियाको योङसानस्थित नोभोटेल होटलको सभाहलबाट सो उदघोष गरेका हुन् ।
सोही सम्मेलनले अर्को क्षेत्रीय सम्मेलन युरोपमा गर्नेसमेत निर्णय गरेको छ ।
अझासले झापामा शव बाहनको कमीले देखिएको समस्यलाई मध्यनजर गर्दै तत्काल ५ वटा शव बाहन र एम्बुलेन्स स्थानीय निकायसँग सहकार्य गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । साथै समृद्ध झापा, प्रदेश नं. १ तथा समृद्ध नोपल निर्माणका लागि एनआरएन लगायतका राष्ट्रप्रेमी संस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय पनि भएको छ ।
त्यसैगरी अझासले सञ्चालन गरेको शिक्षा सम्बन्धी योजनालाई समन्वय गर्ने र झापा जिल्लाका अधिकतम विद्यालयको स्तर उन्नतीका लागि आवस्यक कदम चाल्ने, कृषि, स्वास्थ्य, पर्यटन, खेलकुद, बैंक तथा उत्पादनशील क्षेत्रमा सामुहिक लागनीका पहिलोपटक कतारमा भएको सम्मेलनले पारीत गरेको ५० करोडको बजेटलाई एक अर्ब बनाउने निर्णय गरेको छ । झापाका लागि झापाली भन्ने भावनासँगै नेपालका लागि नेपाली भन्ने भावनाका आधारमा आगामी दिनहरुमा सेवा तथा लगानी गर्ने लगायतका महत्वपूर्ण घोषणाहरु गरिएको छ ।
सम्मेलनमा विश्वभरी छरिएर रहेका झापालीका साथै झापाका राजनीतिज्ञ, कलाकार, ब्यायसायी, पत्रकार, विद्यार्थी तथा कोरियामा विभिन्न पेशामा आवद्ध झापाली एवम् कोरियामै क्रियाशिल अन्य विभिन्न संघसंस्था, कोरियाका लागि नेपाली राजदूतावासका प्रतिनिधिलगायतको समेत उपस्थिति थियो ।
सम्मेलनको सभापतित्व अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले गरेका थिए । प्रमुख आतिथ्य प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गरेका थिए ।

त्यसैगरी विशिष्ठ आतिथ्यता राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा तथा राजदूत अर्जुनजंग बहादुर सिंहले गरेका थिए ।
अझासका संस्थापक अध्यक्ष तथा संरक्षक भवानी ओली, अझासका सल्लाहकार एवम् दक्षिण कोरियाका लागि मानार्थ पर्यटनदुत के.पी. सिटौला, अझासका वरिष्ठ उपाध्यक्ष छत्र सुब्बा हङकङ, अझास जापानबाट मेघराज नेपाल, अझास अमेरिकाबाट मुकुन्द ढुंगाना, अझास अष्ट्रेलियाबाट दीपक चुडाल कार्यक्रममा सहभागी थिए ।
यस्तै अझास कतारबाट सन्तोष पराजुली, अझास कतारबाटै नबिन पोखरेल, अजय राजवंशी, सिताराम घिमिरे अझास अष्ट्रेलिया, डिल्ली थापा अझास अमेरिका, तुलसी उप्रेती अझास हङकङ, निरजा ढुंगाना अझास अमेरिका, सरिता थापा अझास अमेरिका, ललित कुमार न्यौपाने अझास युके, राजु थापा अझास कोरियाबाट सहभागी भए ।
भुपाल सिटौला अझास केन्द्रीय सचिव, महेन्द्र चम्लागाईं अझास केन्द्रीय प्रवक्ता, हेम लावती अझास, तथा कोरियन संस्था जाबी खोङदाक हिका संयोजक जिसाङ सुनीम लगायत कोरियामा कार्यरत एनआरएन, एनसीसी, महिलाका लागि महिला र अन्य थुप्रै जातीय संघ संस्था, जिल्लाका सम्पर्क समितीहरुबाट पनि उपस्थिति थियो ।
कार्यक्रममा विभिन्न देशबाट आएका अझासका प्रतिनिधहरुले अझासको महत्व, आवश्यकता र उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रम कलाकार एवम् अझासका राजेश घतानीले सञ्चालन गरेका थिए ।
सम्मेलनमा नेपालकै चर्चित गायक झापाली प्रमोद खरेल, हांस्य कलाकार राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुतीसँगै झापाका लागि जुनसुकै सामाजिक कार्यमा आफूहरु पनि सहभागी हुने प्रतिवद्धता जनाए । सम्मेलनमै नेपालबाट आमन्त्रित नेताहरु हिक्मत कार्की, राजेन्द्र लिङ्देन तथा विश्व प्रकाश शर्माले आफूहरुले भष्ट्राचार नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता जनाए । तिनै जना नेताहरुले विदेशबाट हुने लगानीलाई सुरक्षित र मर्यादित बनाउने र विदेशको लगानीबाट नेपालमा रोजगारी निर्माण हुन्छ भने कुनै २० वर्षसम्म कर मिनाहका लागि स्थानीय सरकार एवम् केन्द्र सरकारसम्म पहल गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
सम्मेलन भइरहँदा देशविदेशबाट शुभकामनाहरु पनि आइरहेका थिए । झापा घर भएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले समेत नेपालबाट लिखित शुभकामना सन्देश पठाएका थिए ।



