Uncategorized

म्यानचेस्टर युनाइटेड र पोग्वा, अबको बाटो के ?

१२ असोज, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक जोसे मोउरिन्हो र मिडफिल्डर पोउल पोग्वाबीच चिसिएको सम्बन्ध यो हप्ता त सतहमै देखियो । प्रशिक्षकले आफूहरुबीच कुनै बेमेल नरहेको बुझाउन खोजिरहँदा ढाकछोप गर्नै नमिल्ने स्थिति आएको छ ।

बुधबार त अभ्यास भइरहँदा पोग्वा र मोउरिन्होले गरेको कुराकानीको एउटा अंश नै बाहिरियो । त्यसबाट उनीहरुबीच चिसिएको सम्बन्ध प्रष्ट नै बुझिन्छ । यस्तोमा मोउरिन्हो भने ‘कुनै समस्या छैन’ भनेर परिस्थितिबाट भाग्न खोज्दै छन् ।

प्रश्नहरु उठ्न थालेका छन्, के अब पोग्वाले म्यानचेस्टर युनाइटेड छाड्छन् ? मोउरिन्हो भन्दा लामो समय उनी म्यानचेस्टर युनाइेटमा रहलान् ? कि त कसैले उनलाई क्लबमा लगिहाल्ने अवस्था छ ?

पोग्वाको पूर्व क्लब युभेन्टस, घरेलु क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस च्याम्पियन बार्सिलोना पोग्वा जान चाहने र उनलाई ल्याउन खोजेका केही क्लब हुन् ।

सिजनको सुरुवातमा पोग्वालाई ल्याउन खोजेका ती क्लबले अब पनि पोग्वामाथि उस्तै नजर राखेका होलान् त ? हुन त अब जति नै रिस उठे पनि जनवरी यता पोग्वा कतै जान सक्दैनन् ।

युभेन्टस ?

पोग्वा युभेन्टसमा जानका लागि प्रमुख बाधा नै ठूलो रकम हो । म्यानचेस्टर युनाइटेडले २०१६ मा युभेन्टसबाट पोग्वालाई ल्याउँदा त्यसबेला कीर्तिमानी रकम ८९ मिलियन पाउण्ड खर्च गरेको थियो । त्यसपछि २०० मिलियन पाउण्डमा नेइमार बार्सिलोनाबाट पीएसजी गएपछि त ट्रान्सफर रकमले नयाँ उचाइ नै पायो ।

विश्वकपका फ्रान्स टिमबाट र म्यानचेस्टर युनाइटेडमा पनि पछिल्लो समय गरेको प्रदर्शनले अहिले त पोग्वाको भाउ पनि निकै बढेको छ । त्यसको एउटा उदाहरण उनी म्यानचेस्टर युनाइटेडमा हप्ताको १ लाख ८० हजार पाउण्ड तलब बुझ्छन् ।

पोग्वा युभेन्टसमा हुँदा उनीबारे लेखिरहेका इटालियन फुटबल पत्रकार जेम्स हर्नकास्टल अहिले युभेन्टस उनीमाथि ठूलो रकम खर्च गर्ने स्थितिमा नरहेको विश्लेषण गर्छन् । किनभने रियल मड्रिडबाट ९९ मिलियन पाउण्डमा क्रिष्टियानो रोनाल्डोलाई ल्याएको युभेन्टसलगत्तै धेरै खर्च गर्न चाहँदैन ।

अहिले गएको केही दिनदेखि पोग्वाले युभेन्टसबाट खेल्ने आफ्ना साथीहरुलाई म्यासेज गर्न थालेका छन् । युभेन्टसका महाप्रबन्धक बेप्पे मारोटाले पोग्वाको सवाल अरुभन्दा भिन्न हो भने पनि अवस्था सहज छैन ।

पीएसजी ?

पीएसजीमा पनि अवस्था युभेन्टसको जस्तै नै छ । अझ पीएसजीमाथि त युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफएले आम्दानी र खर्चमाथि अनुसन्धान पनि सुरु गरेको छ ।

गएको वर्ष विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट नेइमारलाई किनेको पीएसजीले लगत्तै मोनाकोबाट लोनमा आएका केलियन एमबाप्पेलाई पनि १ सय ६६ मिलियन पाउण्डमा स्थायी अनुबन्ध गर्‍यो ।

‘अवश्य पनि पीएसजी पोग्वालाई ल्याउन चाहन्छ । उनी पेरिसमै जन्मेर यहीँ हुर्किएका हुन्’ फ्रेन्च फुटबल लेखक जुलियन लरेन्सले सुनाए, ‘एमबाप्पेलाई घरेलु मैदानमा ल्याएर राम्रो प्रतिक्रिया पाइरहेको पीएसजीमा मिडफिल्डरको खाँचो पनि छ ।’

तर, आम्दानीको तुलनामा खेलाडी किन्न धेरै खर्च गरिसकेको पीएसजीलाई चाहेर पनि पोग्वालाई ल्याइहाल्न कठीन छ । ट्रान्सफर रकमको मात्रै कुरा होइन, उनले खाइपाइ आएको तलब नै दिन पनि सहज छैन ।

पोग्वा पीएसजी आउन सक्ने एउटा सम्भावना भने नेइमारमा टिकेको छ । नेइमारलाई रियल मडि्रडले जनवरीमा किन्न सक्यो भने त्यसपछि पीएसजी पोग्वामाथि खर्च गर्न सक्ने स्थितिमा पुग्नेछ ।

बार्सिलोना ?

स्पेनिस पत्रकार गुलेम बालाग्वे बार्सिलोनाले पोग्वामाथि इच्छा देखाइरहेको तर उनका एजेन्ट मिनो रायोलासँग सम्झौता गर्न दिक्क मानिरहेको बताउँछन् । किनभने रायोला र बार्सिलोनाको सम्बन्ध पहिलेदेखि नै राम्रो छैन ।

जाल्टन इभ्राहिमोबिचले बार्सिलोना छाडेका बेला रायोलाले बार्सिलोनाको आलोचना निकै गरेका थिए । कतिसम्म पनि जाल्टनले २०११ को च्याम्पियन्स लिग फाइनलका बेला प्रशिक्षक पेप गार्डिओलालाई आक्रमण गर्न खोजेको भन्दै हल्लासमेत गरेका थिए ।

‘त्यो बेला बार्सिलोनाको विरुद्धमा धेरै समाचारहरु आए । रमाइलो त के भने हरेक समाचारको स्रोत भने रायोला मात्रै थिए । उनी त्यो विवाद निम्त्याउनै चाहन्थे’ पत्रकार बालाग्वे भन्छन् ।

बालाग्वे गएको ट्रान्सफर सिजनमा पनि बार्सिलोनाले पोग्वासँग कुरा नै नगर्दा पनि कुरा भएका समाचारहरु बाहिरिरहेका थिए । बार्सिलोनाले पोग्वामाथि इच्छा देखाएको तर अहिलेसम्म कुनै कुरा नगरेको उनी दाबी गर्छन् ।

मोउरिन्होले छाड्लान् त ?

फुटबल जगतमा बहसहरु यति चर्किरहेका छन् कि कतिपयले त म्यानचेस्टर युनाइटेडमा पोग्वाभन्दा पहिले मोउरिन्हो नै नरहने पनि बताइरहेका छन् ।

बुधबार अभ्यासका बेला पोग्वाले मोउरिन्होलाई जवाफ फर्काउनुको कारण पनि उनी सम्बन्ध अन्त्य नै गर्न चाहन्छन् जस्तो देखिन्छ ।
प्रशिक्षक र खेलाडीबीचको यो शक्ति संघर्षमा को अगाडि होला भन्न सहज छैन । मैदानमा मिलेको सफलता र मैदान बाहिरको रमाइलो व्यवहारले पनि पोग्वालाई छाड्न म्यानचेस्टर युनाइटेड सहजै चाहँदैन ।

मोउरिन्होसँग त्यसका लागि दोस्रो योजना पनि छ । केही काम राम्रो भएन भने उनी भन्ने गर्छन्, ‘मैले प्रयास गरिरहेकै छु । सबैले मेरो मेहनत देखेका छन् । तर मेरो योजना र तरिकाअनुसार खेलाडीले काम गरिरहेका छैनन् ।’ यसले मोउरिन्होजस्तै बलियो स्थितिमा पुग्छन् ।

कुनै एक खेलाडी भर्सेस प्रशिक्षकको बेमेलमा पूरा टिम अस्तव्यस्त पार्न म्यानचेस्टर युनाइटेड कदापि चाहँदैन । यसैले पोग्वा र मोउरिन्होमा कोही एक रहँदा मात्रै म्यानचेस्टरको भविष्य राम्रो हुन सक्नेछ ।

समर्थकहरुको कुरा गर्ने हो भने त उनीहरु व्यवस्थापक र प्रशिक्षक भन्दा खेलाडीलाई नै बढी मन पराउँछन् । यसैले बाहिर उठेका धेरै कुरा पोग्वाकै पक्षमा देखिन्छ ।

कसरी सुध्रिएला सम्बन्ध ?

यो सिजन सुरु हुँदा म्यानचेस्टर युनाइटेडको पोग्वामाथि ठूलो आश थियो । विश्वकप उपाधि जित्दा फ्रन्सले गरेको प्रदर्शनमा उनको भूमिका राम्रो थियो । उनले चार गोल गरेका थिए र दुई गोलका लागि अवसर पनि मिलाएका थिए ।

तर, फ्रान्स प्रशिक्षक डिडियर डेसच्याम्प्सले जस्तो मैदानमा र मैदानबाहिर पोग्वाको व्यवस्थापन गर्न मोउरिन्होले जानेका छैनन् ।

पोग्वाले केही खेलमा सम्हालेको कप्तानी पनि पछि मोउरिन्होले खोसिदिएपछि त अवस्था झनै बिगि्रयो । उल्भ्ससँगको खेलमा १-१ को बराबरी हुँदा पोग्वा अट्याकमा बल गरिरहेका थिए भने मोउरिन्हो उस्तै स्थितिमा रमाइरहेका थिए । यसले पनि उनीहरुको तालमेल नमिलेको देखिएको थियो ।

मोउरिन्हो अहिलेसम्म पुरानौ शैलीमा छन् । खेलाडीले सबै आफूले भनेको मानुन् र जे भन्यो त्यही गरुन् भन्ने सोच बनाउँछन् । तर, अब २००० को बेनफिका, २००४ को पोर्टो, २००७ को चेल्सी जस्तो समय होइन । न त उनले २०१० को इन्टर मिलान र २०१३ को रियल मडि्रड सम्हालेकै समय बाँकी छ ।

मोउरिन्होले गर्न सक्ने एउटै कुराले म्यानचेस्टर, पोग्वा र स्वयम मोउरिन्होलाई पनि फाइदा हुन्छ । त्यो हो, पोग्वामाथि विश्वास देखाउने । उनलाई अगाडि बढ्न सहयोग गर्ने । पोग्वाले पनि प्रशिक्षक मोउरिन्हो रहेकाले उनको योजना र आˆनो धारणा मिलाएरै अघि बढ्दा राम्रो हुनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *