समाचार

दशैंको मुखमा व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य

१० असोज, काठमाडौं । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् ।  पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् ।

आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ ।

यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ । तेलमा पनि व्यापारीले मूल्यवृद्धि गरेका छन् भटमासको तेल, सुर्यमुखी तेल, तोरीको तेलमा प्रतिलिटर १५ रुपैयाँ बढेको छ ।  अहिले भटमासको तेल प्रतिलिटर १४०, सुर्यमुखी १५०, तोरीको तोल १६०, बनस्पती घ्यु १४० रुपैयाँ पुगेको नेपाल खुद्रा व्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले जानकारी दिए । ठूला व्यापारीले नै मूल्य बढाएकाले खुद्रा बजारमा महंगो पर्न गएको उनको दावी छ ।

‘अहिले बजारमा भएका यी वस्तु ४ महिनाअघि ल्याएको हो’, उनले भने, ‘ठूला व्यापारीले नै बढाएपछि खुद्रा मूल्य त स्वतः बढिहाल्छ ।’ अमेरिकी डलरको भाउ आकासिएपछि भारतमा नै मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि भाउ बढेको व्यापारीले बताउने गरेका छन् । चाडबाडका बेला व्यापारीले कालोबजारी गर्ने भएकाले अझै मूल्यवृद्धि हुने देखिन्छ । पहिल्यै सामान ल्याएर स्टक गरिसकेका व्यापारीले चाडपर्वका बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने गरेका छन् ।

चिनीको भाउ पनि आकासियो

अहिले बजारमा चिनीको मूल्य पनि आकासिएको  छ । सरकारले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न भन्दै चिनीको आयातमा कोटा तोकेपछि व्यापारीले मूल्यवृद्धि गरेका छन् ।  अहिले चिनीको खुद्रा विक्रि मूल्य प्रतिकिलो ७५ देखि ८० रुपैयाँ पुगेको छ । यसअघि स्वदेशी चिनीको मूल्य ७५ रुपैयाँसम्म थियो भने बजारमा आयातित चिनी ६५ देखि ६८ रुपैयाँसम्ममा पाइन्थ्यो । तर आयात रोकिएसँगै व्यापारीले चिनीको मूल्य ८० रुपैयाँसम्म पुर्‍याएका हुन् ।

खुद्रा व्यापार संघका अध्यक्ष पवित्रमान बज्रचार्यले चिनीको मूल्य बढेको बताए । उनले आयातित चिनी र स्वदेशी चिनीको मूल्य फरक रहेकोमा सरकारले कोटा तोकेपछि एकनास भएको जानकारी दिए ।

चिनीको मूल्य दशैंसम्म अझै बढ्ने देखिएको खुद्रा व्यापारी बताउँछन् । सरकारले चिनीको आयातमा एक लाख मेट्रिक  टनको कोटा तोकेपछि आन्तरिक बजारमा चिनीको मूल्यमा व्यापारीको मनपरी देखिएको छ ।
भारत, पाकिस्तान, बंगलादेशबाट सस्तोमा आयात गरिसकेका व्यापारीले स्टक रहेको चिनीकै मूल्य बढाएको खुद्रा व्यापारीहरु बताउँछन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *