२१ कात्तिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नेबारे सोच्नै नसकिने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालको देउसी-भैलो कार्यक्रममा नेता नेपालले भने,’अहिले उहाँको विकल्प खोज्ने कुरा सोच्नै सकिन्न । यो सरकारले काम गरेर देखाउँछ । मैले प्रधानमन्त्रीसँग पटक-पटक कुरा गरेको छु । उहाँमा आत्मविश्वास छ । मसँग उहाँले कमिटमेन्ट गर्नुभएको छ ।’
उनले अघि भने, ‘मैले भनेको छु, हामी छौं अरुको कमिकमजोरी आलोचना गर्न । तपाई ढुक्क भएर सरकार सञ्चालन गर्नुहोस् । यदि कमिकमजोरीहरु भएका छन् भनेपनि सुधार गरेर जानुपर्छ ।’
भ्रष्टाचार अन्त्य गर्ने कुरामा वर्तमान सरकार सफल हुने उनको दाबी छ । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘केपी ओलीको सरकार भनेको नेकपाको सरकार हो । कम्युनिष्ट पार्टीको सरकार हो । यसको अगुवाई ओलीजीले गर्नुभएको छ । यो सरकार असफल भयो भने सिँगो पार्टी असफल भएको देखिन्छ ।’
प्रधानमन्त्रीले अब कर्मचारीतन्त्रलाई त्यही ढंगले परिचालन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘मन्त्रीहरुलाई परिचालन गर्न पार्टी बलियो हुनुपर्छ । पार्टीले सबै ठाउँमा आफ्नो ध्यान दिनुपर्छ ।’



