Uncategorized

गाडी कर्जामा कडाइ, अब ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने

२१ कात्तिक, काठमाडौं । यस वर्ष दशै सकिएलगत्तै बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) को समस्या समाधानका लागि राष्ट्र बैंकले नयाँ रणनीति ल्याएको छ ।

उत्पादनशील क्षेत्रमा लगानी बढाए तरलताको समस्या नहुने ठहर गर्दै राष्ट्रबैंकले विदेशी ऋण नीतिमा खुकुलो हुने र सवारीसाधनको कर्जामा कडाइ गर्ने रणानीति लिएको हो ।

राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै सवारीसाधनमा प्रवाह हुने कर्जामा कडाइ गरेको छ । राष्ट्र बैंकले ६५ प्रतिशतसम्म सवारीसाधनमा कर्जा दिन सक्ने व्यवस्थालाई घटाएर ५० प्रतिशतमा झारेको छ ।

अब कसैले नयाँ सवारी किन्न चाहे ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ र बाँकी ५० प्रतिशतमात्रै सवारी कर्जाको रुपमा फाइनान्स हुनेछ । यो क्षेत्रमा कडाइ गरे तरलता समस्या कम हुने राष्ट्र बैंकको ठहर छ ।

राष्ट्र बैंकको अर्को रणनीति भनेको विदेशी ऋण नीति हो । सवारी साधनमा प्रवाह हुने कर्जामा कडाई गरेको राष्ट्र बैंकले विदेशी ऋण नीतिमा भने खुकुलो बनाएको छ । यस अघि आफ्नो प्राथमक पुँजीको २५ प्रतिशत रकम विदेशबाट ऋण लिन पाउने व्यवस्था थियो । यसलाई सहज बनाउदै राष्ट्र बैंकले प्राथमिक पुँजीको ५० प्रतिशतसम्म विदेशबाट ऋण लिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत प्राथमिक पुँजीको २५ प्रतिशत विदेशबाट ऋण लिन पाउने व्यवस्था गरेको भए पनि बैंकहरुले ल्याउन सकेका थिएनन् । यो नीतिपछि बैंकले ऋण ल्याउने र बैंकहरुमा तरलता अभावको समस्या कम हुने राष्ट्र बैंकको विश्वास छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *