बार्सिलोना । राहदानी बिभागका महानिर्देशक रामकाजी खड्काले स्पेनस्थित नेपाली दूतावासले राहदानी सर्कुलेसन बारे गलत बुझेकोले समस्या आएको बताएका छन् ।
दूतावासले विभागीय निर्देशन भन्दै राहदानी बनाउन अनिवार्य रुपमा स्वयं ब्यक्ति नै उपस्थिति गराउनुपर्ने बताएपछि खड्काले यस्तो प्रतिक्रिया दिएका हुन् ।
एक सरकारी कार्यक्रममा सहभागी बन्न क्यानाडामा रहेका थापाले अनलाइनखबरसँग कुराकानी गर्दै हुलाकमार्फत दूतावासमा डकुमेन्ट पठाएर पनि राहदानी जारी गर्न सकिने बताएका छन् ।
‘हामीले जुन किसिमको त्यहाँ सर्कुलेसन गरेका छौं, दूतावासमा मिसकन्सेप्सन (गलत धारणा) भएछ । लाइभ इनरोलमेन्ट सिष्टम (प्रत्यक्ष दर्ता प्रणाली) भएका मुलुकहरुमा सम्भव भएसम्म ब्यक्ति नै उपस्थित गराउने भनेर सर्कुलर गरेका हौ । तर, त्यो प्रणाली नभएका मुलुकहरुमा होइन र स्पेन पनि त्यसमा पर्दैन,’ उनले भने ।
महानिर्देशक खड्काले राहदानी सेवालाई छिटो,छरितो र सजिलो र प्रभावकारी बनाउने बिभागको उदेश्य रहेको समेत बताए । महानिर्देशक खड्काले भने,’पोष्टल सर्भिसको उपयोग गरेर पासपोर्ट बनाएर पठाइदिन दूतावासलाई कुनै पनि समस्या हुँदैन । तर, यदी अफिसरलाई कुनै शंका लाग्यो भने सो ब्यक्तिलाई स्वयम् स्काइपबाट अथवा कुनै ढंगले कुराकानी गरेर यकिन गर्न सक्छ। नागरिकता वा कुनै डकुमेन्टमा शंका लागेमा सम्बन्धित जिल्ला कार्यलयमा पत्राचार गरेर भेरिफिकेसन गर्न सकिन्छ।’
व्यक्ति नै उपस्थित हुनुपर्ने राजदूतको अडान
तर स्पेनस्थित नेपाली राजदूतावासका राजदूत भरतबहादुर रायमाझीले पासपोर्ट बिभागको निर्देशन भन्दै स्वयं ब्यक्ति नै उपस्थित हुनुपर्ने बताउँदै आएका छन् । जसका कारण म्याड्रिडभन्दा सयौं किलोमिटर टाढा तथा अन्य शहरहरुमा बस्ने नेपालीहरुलाई राहदानी बनाउन समस्या परेको छ।
त्यतिमात्र हैन नयाँ राहदानी बनेपछि पनि दूतावासमा नै स्वयं उपस्थिति हुनुपर्ने राजदूतको अडान छ । ‘हामीले काम गर्ने हो। उहाँहरुले एउटा नियम बनाउनु भएको रहेछ। त्यो नियम बेलाबेलामा फेसबुकमा राखेर रिमाइण्ड पनि गराउनु हुन्छ। पासपोर्ट बनाउनको लागि निवेदन गर्न पनि दूतावास जानु पर्ने र लिन पनि जानु पर्ने नियम रहेछ । अहिले हामीले पनि त्यही नै गरेका छौं।’ राजदूत रायमाझीले दावी गरे ।

यो पनि पढ्नुहोस
स्पेनमा दूताबास आएपछि नेपालीलार्इ झनै सास्ती
दूतावासमा स्वयं ब्यक्ति नै उपस्थित हुनुपर्ने नीतिको बचाउ गर्दै राजदूत रायमाझीले बिभागले प्रमाणिकरण र सहप्रमाणिकरण भनेर छुट्टाएको बताए ।
उनले भने, ’प्रमाणिकरण भनेको जुन राष्ट्रमा बसेको छ त्यसलाई प्रमाणिकरण, एउटा राष्ट्रबाट अर्को राष्ट्रमा हेरिन्छ त्यो सहप्रमाणिकरण गरिन्छ। स्पेनमा नै दूतावास भएकाले यो प्रमाणिकरण अन्तर्गत पर्यो त्यसैले राहदानी बनाउन स्वयं उपस्थित हुनुपर्छ।’
यता महानिर्देशक खड्काले गलत बुझाइका कारणले यस्तो समस्या आएको बताएका छन् । उनले भने,’ पोष्टलमार्फत डकुमेन्ट पठाउन सकिन्छ। मैले मौखिक रुपमा पनि उहाँलाई बताइसकेको छु। यदी लिखित रुपमा दूतावासलाई निर्देशन चाहिन्छ भने पनि पठाइदिन्छु। यसमा समस्या नै छैन। यो सामान्य कुरा हो। उहाँहरु आँफैले बुझेर पनि गर्नु पर्ने हो ।’
नयाँ दूतावास,कुटनीतिक दक्षताको अभाव
प्राय: राजनीतिक नियुक्ति अर्थात् दलीय भागबण्डाको आधारमा सरकारले राजदूत नियुक्ति गरेर पठाउने हुँदा दूतावासहरुमा यस्ता समस्याहरु देखा पर्ने गरेका छन् ।
राहदानी बारे प्रत्यक्ष दर्ता प्रणाली भएका नियोगहरु तथा अन्य दूतावासहरुको हकमा राहदानी बिभागबाट जारी भएका सर्कुलेसनलाई समेत नबुझ्दा, विदेशस्थित नेपालीहरुको हितमा खोलिएका दूताबासबाटै उल्टो सास्ती खेप्नु परेको छ ।
म्याड्रिडस्थित नेपाली दूतावासबाट राहदानी जारी गर्न थालेको महिनौ बितिसक्यो। पोष्टल सर्भिस सुरु गरेको छैन। एकातर्फ नयाँ दूताबास अर्को तर्फ राजदूत र कर्मचारीको खिचातानीले झनै कमजोर बनेको छ।
राजदूत रायमाझीसहित प्रथम सचिव हरिहरकान्त पौडेल र तेस्रो सचिवका रुपमा भोजकुमार भट्टराई कार्यरत छन् । स्रोतका अनुसार लामो समयदेखि तिनै जनाको एकैसाथ बैठक तथा छलफलसमेत हुन सकेको छैन।



