समाचार

कांग्रेसले सत्तारुढ दललाई भन्योः हामीले गरेको गल्ती नदोहोर्‍याउनुस्

७ असोज, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सर्वोच्चका न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाएर गल्ती नगर्न सत्तारुढ दललाई सचेत गराएको छ ।

राष्ट्रियसभाको आइतबार बसेको बैठकमा विपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले जोशीमाथि महाअभियोग लगाउन खाली कागजमा हस्ताक्षर संकलन गरेको सुनेको बताए ।

सरकार सबै फ्रन्टमा असफल भएको भन्दै उनले महाअभियोग जनताको ध्यान मोड्न हो वा रहर हो भनेर प्रश्न गरे । सत्तारुढ दलकै नेताले अदालतले सरकारलाई सहयोग गर्नुपर्‍यो भनेको उल्लेख गर्दै उनले भने, ‘अदालतले सरकारलाई सहयोग गर्ने भनेको हरेक निर्णयमा ठप्पा लगाउँदै जाने हो ? चाहेको के हो ?’

यसो भएमा अदालत अदालत होइन, अमुक पार्टीको शाखा कार्यालय बन्ने उनले बताए ।

महाअभियोग समान्य अवस्थामा प्रयोग गर्ने अस्त्र नभएको भन्दै उनले कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरे । कांग्रेसले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग गलत भएको र जनताले त्यसको दण्ड पनि दिएको भन्दै उनले भने, ‘अहिले तत्कालीन लाभ लिन सकिएला । तर, यसले दुष्परीणाम एउटा पार्टीले मात्र होइन राज्यले व्यहोर्नुपर्छ । त्यसैले कांग्रेसले गरेको गल्ती नदोहोर्‍याउन सत्तारुढ दललाई आग्रह गर्छु ।’

न्यायाधीश जोशीलाई राजनीमा दिए दिनुस्, नदिए महाअभियोग लगाउँछौं भन्नु स्वीकार्य नभएको उनले बताए । महाअभियोग लगाउने बस्तुगत कारण छ भने आउनुपर्छ तर, अहिले त्यस्तो बस्तुगत आधार नभएको उनले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *