Uncategorized

हुसेनकी श्रीमतीको बयानः पुलमा ढुकेर बसेको मानिसले नै गोली हान्यो

५ मंसिर, मोरङ । सधैँझैं बुधबार बिहान मोहम्मद फिदा हुसेन र उनकी श्रीमती आशा मर्निङ वाकमा निस्किएका थिए । झिसमिसेमै निस्किएका उनीहरु करिब साढे ६ बजे सुनसरी मोरङ सिञ्चाई आयोजनाको शाखा नहरको बाटो हुँदै सुनसरी दुहबी नगरपालिका– ९ स्थित रानीगाउँनजिकै पुगेका थिए ।

गाउँकै छेउमा जय बाबा इँटा उद्योग छ । नेपाल विद्युत प्राधिकरणको स्थायी जागिरे हुसेन उद्योगका सुपरभाइजर समेत हुन् । इँटा बनाउने काम चलिरहेको उद्योगमा पुगेपछि सँगै रहेकी श्रीमती आशालाई घर फर्काएर हुसेन उद्योगतर्फ लागे ।

उद्योग पुग्न सुनसरी मोरङ सिञ्चाई आयोजनाको शाखा नहरको पुल पार गर्दै जानुपथ्र्यो । पुलछेउबाट श्रीमतीलाई घर फर्काएर उद्योगतर्फ लागेका हसुेन गन्तब्य पुग्न पाएनन् ।






यो पनि पढ्नुहोस
सुनसरीमा गोली चल्यो, फिदा हुसेनको हत्या

पुल कट्नेबित्तिकै उनीमाथि गोली प्रहार भयो । प्रत्यक्षदर्शीसमेत रहेकी श्रीमती आशा खातुन आफूहरु जाँदा पुलमा एक्सरसाइज गर्दै (ढुकेर) बसेको व्यक्तिले गोली हानेर भागेको बताउँछिन् ।

‘मलाई घर फर्किनू भनेर उहाँ काम छ भन्दै भट्टा जानुभयो’, पति वियोगमा विछिप्त बनेकी आशाले भनिन्, ‘म घर फर्कदै गर्दा ठूलो आवाज आयो । फर्केर हेर्दा उहाँ ढल्नुभएको थियो ।’

गोली चलेपछि फर्केर हेर्दा पातलो जीउको व्यक्ति भाग्दै गरेको देखेको आशाले बताइन् । ‘एक्ससाइज गर्दै गरेको मान्छे चिनिनँ’, उनले भनिन्, ‘पुल छेउमा मोटरसाइकल रोकेको थियो ।’






यो पनि पढ्नुहोस
हुसेन हत्याको विरोधमा शवसहित प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

हुसेन ढलेको देखेपछि गुहार माग्दै आशा घटनास्थल पुग्दा उक्त व्यक्ति मोटरसाइकलबाट नहरको बाटो हुँदै उत्तरतर्फ भागेको उनले बताइन् ।

सुनसरीका प्रहरीले घटनामा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरेको छ । उनीहरुमाथि विस्तृत अनुसन्धान भइरहेको छ ।

हुसेनको हत्या भएपछि स्थानीयबासीले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत प्रधानमन्त्री समक्ष पाँचबुदे ज्ञापनपत्र बुझाउँदै आफन्त तथा सुनसरीका केही सांसदहरुले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।






यो पनि पढ्नुहोस
सुनसरीका खुर्सिदको हत्यामा भारतीय सुरक्षाकर्मीको संलग्नता ?

२४ घण्टाभित्र घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्ने, मृतक फिदा हुसैनलाई शहीद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, हुसेनको ठाउँमा छोरालाई तुरन्त जागिर लगाइदिनुपर्ने माग पनि गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले भने घटनाको अनुसन्धानका लागि विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोको टोली सुनसरी पठाएको छ ।

यो पनि, हुसेन हत्या प्रकरणः ६ जना पक्राउ, विशेष ब्यूरो र सीआईबीको टोली पनि पुग्यो

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *