Uncategorized

स्वास्थ्य मन्त्रालयले भन्यो– डाक्टरले सरुवा गरेको ठाउँमा नगई मन्त्रीको चाकडी गर्न खोजे

५ मंसिर, काठमाडौं । वीर अस्पतालका प्रा.डा. ध्रुवराज अधिकारीले सरुवा भएको ठाउँमा अनिवार्यरुपमा जानुपर्ने नियमको उल्लंघन गर्दै राजीनामा ठोकेको स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण दिएको छ । डा. अधिकारीको राजीनामाको कारण अरु केही नभएर सरुवा नै भएको दाबी गरेको छ ।

वीर अस्पतालस्थित न्यूरो सर्जरी पहिलो युटिनका प्रमुख प्रा.डा. अधिकारीले मंगलबार ‘चाकडी र घुस रकम पुर्‍याउन नसकेकाले आफूले पदबाट राजीनामा दिएको’ भन्दै राजीनामा पत्र सार्वजनिक गरेका थिए ।

तर,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको खण्डन गर्दै वीरबाट पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सरुवा गरिएका कारण उनले राजीनामा दिएको दाबी गरेको छ । भनेकै स्थानमा सरुवा गर्न खटाइएको ठाउँमा १ पटक हाजिर गर्नैपर्ने प्रावधानअनुसार आग्रह गर्दा पनि अटेरी गरी उल्टै राजीनामा गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गत चैतमा डा. अधिकारी नवौं तहमा बढुवा भएका थिए । बढुवा एवं पदस्थापना भइसकेपछि एकपटक नेपाल सरकारले तोकेको ठाउँमा हाजिर हुन जानै पर्ने प्रचलन रहेको स्वास्थ्य मन्त्रालय स्रोतको तर्क छ । डा. अधिकारी वीर अस्पतालमा लामो समयदेखि कार्यरत थिए । बढुवापछि उनलाई नियमानुसार अर्को ठाउँमा पदस्थापन गरिएको थियो ।

‘डा. ध्रुव अधिकारी ०७४ चैत १८ मा नवौं तहमा नियुक्त भई पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदस्थापन भएकोमा त्यहाँ नगई वीर अस्पतालमा काजमा काम गर्दै आउनु भएको हो’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘निजको नवौं तहमा नियुक्ति भएको समयमा वीर अस्पतालमा दरबन्दी रिक्त नभएको तर हाल वीर अस्पतालमा निजको पदको दरबन्दी रिक्त भएकाले पदस्थापना भएको कार्यालयमा १ पटक हाजिर भै आएपश्चात मात्र वीर अस्पतालमा सरुवा गर्न नियमानुसार प्रक्रिया पुग्ने हुँदा सोको मौखिक जानकारी बाररम्बार गरिएकोमा उक्त कुराको अवज्ञा गरी राजीनामा दिएको जानकारी गराइन्छ ।’

‘नियम मिच्न चाकडीको प्रयास’

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार बढुवासंँगै पदस्थापना भइसकेपछि डा. अधिकारीले मन्त्री उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियासँग सम्पर्क गरेर मन्त्रीसँग भेट गराइदिन आग्रह गरे । सो आग्रहपछि चौरसियाले डा. अधिकारीलाई मन्त्री यादवसमक्ष लिएर गए । मन्त्री यादवले कर्मचारीहरुले पदस्थापनापछि नियमानुसार अर्को ठाउँमा हाजिर गर्न जानैपर्ने भएकाले एकचोटि खताएको ठाउँमा जान आग्रह गरे । तर, डा. अधिकारीले मन्त्री यादवसँग वीर अस्पतालमै बस्ने व्यवस्था गरिदिन अनुनय गरे ।

डा. अधिकारीको अनुनयपछि के गर्न सकिन्छ गरिदिनू भनेर मन्त्री यालवले तत्कालीन स्वास्थ्य सचिव डा. पुष्पा चौधरीलाई भने । त्यसपछि डा. अधिकारी स्वास्थ्य सचिवकहाँ पुगे । चौधरीले एकचोटि हाजिरसम्म गरेर आउनोस् अनि वीरमै रहने वातावरण बनाउँदा भनेर आश्वासन दिइन् ।

तर, मन्त्री र सचिवलाई अनुनय गर्न पुगेका डा. अधिकारीले एक्कासी दर्ता फाँटमा गएर अनेक आरोप लगाउँदै राजीनामा बुझाएको मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले अनलाइनखबरलाई बताए । उनले भने– ‘उहाँले सकेसम्म चाकडी गर्न खोज्नुभएको थियो, तर मन्त्रीज्युले नियमानुसार काम गर्न भनेपछि खटाएको ठाउँमा जानुको साटो राजीनामा गरेका हुन्, डाक्टरको सरुवामा आर्थिक चलखेल भन्नेजस्तो आरोप निराधार हो ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *