२७ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित कान्तिपुरबाहेक सबै राष्ट्रिय दैनिक पत्रिकाले सुजाता कोइराला निवासमा भएको कांग्रेस नेताहरुको भेलालाई प्राथमिकताका साथ लेखेका छन् । पार्टी सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट नेताहरुबीच भएको जमघटलाई पत्रपत्रिकाहरुले उनीविरुद्धको मोर्चाबन्दी भनेका छन् ।
नेकपामा देखिएको सांगठनिक शिथिलतालाई पनि आजका केही पत्रिकाहरुले उठाएका छन् । नेकपाको स्थायी समिति बैठक नै चार महिनादेखि बस्न सकेको छैन भने पोलिटब्यूरो त अहिलेसम्म गठन नै हुन सकेको छैन । कारण, नेता कार्यकर्तामा निराशा छाउन थालेको छ । अन्नपूर्ण र नयाँ पत्रिकाले यही कडीसँग जोड्दै संगठनमा देखिएको शिथिलताले नेता–कार्यकर्ता उत्सासहविहीन बन्दै गएको लेखेको छ ।
पत्रपत्रिकाहरुकै पहिलो पृष्ठमा ठूला आयोजना प्रधानमन्त्री मातहत ल्याउन लागिएको, २२ लाखमा ज्यान मुद्दाको मिलापत्र गराइएको, गुपचुप गरिएकै दिन मन्त्रिपरिषद्ले १६ निर्णय गरेको, नेकपाको चियापानमा कांग्रेसभन्दा चारगुणा बढी खर्च भएको, सरकारी निर्णय अब बिहीबार मात्रै सार्वजनिक हुने भएकोलगायत समाचार छन् ।
नेपाल समाचारपत्रले कांग्रेसभन्दा कम्युनिस्ट खर्चालु बन्दै गएको लेखेको छ । पछिल्लोपटक कांग्रेस र कम्युनिस्टले चियापानका नाममा गरेका खर्चको तुलना गर्दै उसले यस्तो निष्कर्ष निकालेको हो ।
समाचार अनुसार केही साताअघि गरिएको चियापानमा नेकपाले कांग्रेसभन्दा चारगुणा बढी खर्च गरेको छ ।
नेपाल समाचारपत्र लेख्छ– अहिलेसम्म प्राप्त खर्च तथ्यांकअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपैयाँ र नेपाली कांग्रेसले १० रुपैयाँ खर्च गरेको छ ।
समाचारपत्रमै सरकारी निर्णय अब बिहीबार मात्रै सार्वजनिक हुने समाचार पनि छ । मन्त्रिपरिषद्ले गरेका निर्णयलाई परिपक्व बनाउन सरकारले यस्तो गर्न लागेको हो ।
राजधानी दैनिकले आज आर्थिक सहायताका नाममा भइरहेको विभेद उठाएको छ । राजधानीका अनुसार विपन्न गरीब जनताको उपचारका लागि वितरण गर्ने आर्थिक सहायतामा सरकारले दोहोरो चरित्र देखाउँदै आएको छ ।
आर्थिक सहायतासम्बन्धी कार्यविधिलाई कुल्चँदै सरकारले आफूनिकटकालाई करोडौं रुपैयाँ वितरण गरेको राजधानीको दाबी छ ।
राजधानी लेख्छ– विपन्न, गरीव र पहुँच नभएका नागरिकले उपचारका लागि राज्यकोषबाट एक रुपैयाँ पनि पाउन नसकेको अवस्थामा शक्तिकेन्मा पहुँच भएकाले भने कार्यविधिविपरीत २ लाखदेखि १५ लाख रुपैयाँसम्म आर्थिक सहायता लिएको पाइएको छ ।
सरकारले ०६६ मा नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि ल्याएर अशक्त, गरीब र विपन्नलाई आर्थिक सहायता दिन सक्ने व्यवस्था गरे पनि लक्षित वर्ग लाभान्वित हुनबाट वञ्चित हुँदै आएको समाचारको ठम्याइ छ । राजधानीका अनुसार पहुँच नपुगेका ५ हजारको निवेदन अलपत्र अवस्थामा छ ।
राजधानीमै संस्थापनविरुद्ध पूर्वसंस्थापन पक्ष जुटेकोदेखि ६२ वर्षे पण्डितबाको रिक्साप्रेमबारेको कथा छ ।
छठका लागि वीरगञ्जमा सिँगारिएको घडीअर्वास्थित पोखरीको आकर्षक तस्वीर छापेको अन्नपूर्णले नेकपामा सांगठनिक शिथिलदेखि कांग्रेस नेताहरुको निशानामा शेरबहादुर देउवा परेकोसम्मका खबर छापेको छ । सरकारको गाडीमोहबारे पनि अन्नपूर्णमा एक सामग्री प्रकाशित छ । समाचार अनुसार अनावश्यक रुपमा एकै वर्ष ६ हजार गाडी थपिएका छन् ।
‘पार्टीसँग सरोकारविहीन सरकार’ शीर्षक दिएर नयाँ पत्रिकाले आज नेकपाको सांगठनिक गतिहीनता र सरकारको काम–कारबाहीबारे मुख्य समाचार लेखेको छ ।
नागरिकमा सिक्टा सिँचाइका लागि पप्पुसँग गरिएको ठेक्का तोडिएको समाचार छ भने कान्तिपुरले ठूला आयोजना प्रधानमन्त्री मातहत ल्याउन गृहकार्य शुरु भएको छापेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १६ निर्णय गरेकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमै प्राथमिकताका साथ प्रकाशित गरेको छ ।



