२१ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले तिहारसँग सम्बन्धित सामग्रीका साथै कांग्रेस उपसभापतिमा विजय गच्छदारको मनोनयनले कांग्रेसमा विवाद बढेको, पूर्वराजदूतको हत्यारा ७८ दिनसम्म पत्ता नलागेकोलगायत विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
त्यसैगरी सरकारले सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष माने पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाहेककाले भ्रमण नगरेको, अनलाइन प्रणालीले सेयर कारोबार अस्तव्यस्त बनेको, वैदेशिक रोजगारीबाट फर्केकालाई सरकारले १० लाखसम्म ऋण दिने भएकोलगायत समाचार पनि आजका पत्रपत्रिकामा हेडलाइन बनेका छन् ।
पोखरा प्रिमियर लिगको फाइनल खेलका बिजेता खेलाडीहरुको सामूहिक तस्वीरलाई छापेको कान्तिपुरले विजय गच्छदारलाई कांग्रेसले उपसभापतिमा मनोनित गरेपछि रामचन्द्र पौडेल पक्ष आक्रोसित बनेको लेखेको छ । यसअघि नै देउवा पक्षधर मानिने विमलेन्द्र निधि उपसभापतिमा मनोनित भइसकेका छन् ।
व्यक्तिगत लेनदेनको सिलसिलामा नेपाल प्रहरीका एक सईको साथ लागेर गएका व्यक्तिको भोलिपल्ट रहस्यमय मृत्यु भएकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ लेखेको छ । आइतबार राति सई सुरेन्द्र कार्कीले मोटरसाइकलमा लिएर गएका रवीन्द्रकुमार ढुंगानाको सोमबार वीर अस्पतालमा मृत्यु भएको परिवारको भनाइ छ ।
कान्तिपुरमै मोरङमा गहुँत पिउन स्थानीयको लर्को लाग्ने गरेको अर्को समाचार पनि छ । विराटनगर–१४ जतुवास्थित श्रीकृष्ण गौसेवा सदनमा दैनिक ९० भन्दा बढी गहुँत पिउनकै लागि आउने गरेको समाचारमा उल्लेख छ । निरोगिताका लागि यसरी गहुँत पिउनेहरुको भीड लाग्ने गरेको हो ।
गोदावरी फूलको चित्ताकर्षक तस्वीर छापेको अन्नपूर्णले नेपालमा वार्षिक ४३ करोडको सयपत्री किनबेच हुने गरेको हिसाब प्रस्तुत गरेको छ । समाचार अनुसार तिहारमा मात्रै ११ करोड रुपैयाँको सयपत्री कारोबार हुन्छ ।
अन्नपूर्णमै पोखरा प्रिमियर लिगमा मात्रै १२ विदेशीले खेलेको समाचार छ । अन्नपूर्णले यही कडीसँगै जोड्दै लेखेको छ । नेपाल खेलभूमि बन्दै गइरहेको छ ।
अन्नपूर्णले ‘उच्चस्तरीय भ्रमण वर्षः मोदी एक्लै’ शीर्षक दिएर प्रमुख समाचार लेखेको छ ।
सरकारले वर्ष सन् २०१८ लाई उच्चस्तरीय भ्रमण वर्ष घोषणा गरे पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक कोही पनि नआएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । सरकारले भ्रमण वर्ष घोषणा गरे पनि चीन, भारत र कोस्टारिकाबाहेक कसैलाई पनि निम्ता गरेको छैन ।
समाचार अनुसार, बेलायतका प्रधानमन्त्रीले कहिल्यै नेपाल भ्रमण गरेका छैनन् ।
नागरिकको प्रथम पृष्ठमा मधेसको मौलिक तिहारको चर्चासँगै कांग्रेस महासमिति बैठक सरेको समाचार छ ।
राजधानीले प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार नगएको र बालुवाटारबाटै सरकार चलाएको लेखेको छ । वीर अस्पतालको उपकरण खरिदमा भएको १० करोड घोटालालाई राजधानीले एंकर बनाएको छ ।
कारोबारले वैदेशिक रोजगारीबाट फर्केकालाई १० सरकारले १० लाखसम्म ऋण दिने भएको लेखेको छ । वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढाएको हो ।
विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभागी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको छ । समाचार अनुसार सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको परियोजनामा आधारित ऋण कार्यक्रमको कार्यविधि अन्तिम चरणमा पुगेको छ ।
विदेशबाट फर्केका युावाहरुको सीप परीक्षण गरेर दक्ष युवाहरुलाई सम्बन्धित व्यवसाय सञ्चालन ऋण दिने सरकारी योजना छ । यसरी दिने ऋण परियोजनामा आधारित हुनेछ ।
गोरखापत्रले निर्माणाधीन १५ सय पुल अलपत्र परेको लेखेको छ । आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुंगा दुर्घटना र नदी तर्ने क्रममा बर्सेर्नि दर्जनौं मानिसको मृत्यु भइरहेका बेला पुल निर्माणले गति लिन नसकेको हो ।



