Uncategorized

सहायक वन अधिकृतविरुद्ध २ करोड भ्रष्टाचार गरेको आरोप, विशेषमा मुद्दा

१९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल अवकाशप्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंह विरुद्ध झण्डै २ करोड भ्रष्टाचार गरेको दावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

२०४३ साल फागुन १३ देखि सरकारी सेवामा प्रवेश गरेका उनले एक करोड साठी लाख एकाइस हजार अठार रूपैयाँ त्रियासी पैसा आय आर्जन गरेको देखिएको र खर्च भने तीन करोड एकाउन्न लाख बयासी हजार छ सय चौवालीस एकाउन्न पैसा गरेको देखिएकाले अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

‘उनको एक करोड एकानब्बे लाख एकसठ्ठी हजार छ सय पच्चीस रुपैयाँ अठसठ्ठी पैसाको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आयो’ अख्तियारले विज्ञप्तिमा भनेको छ ।

सिंहले राष्ट्रसेवक भए पश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेकाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको अख्तियारले जनाएको छ ।

सिंहले सरकारी सेवामा रहेका बेला गैरकानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू श्रीमती गीतादेवी सिंह, छोराहरु अनुप कुमार सिंह र अचल कुमार सिंहको नाममा राखेको देखिएको पनि अख्तियारले जनाएको छ । अख्तियारले ती सम्पत्ति जफत गर्न माग गर्नुका साथै पत्नी र २ छोराविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको सहसचिव तथा प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *