१८ कात्तिक, काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्न्यातकी श्रीमती माया शेरचन पक्राउ परेकी छन् ।
यसअघि महाशाखाले पक्राउ गरेको बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकीको बयानका आधारमा शेरचनलाई पक्राउ गरिएको हो ।
महाशाखाको विशेष प्रहरी टोलीले शेरचनलाई आइतबार स्वयम्भुको ठूलो भ¥याङ क्षेत्रबाट पक्राउ गरेको प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे ।
स्रोतका अनुसार यसअघि पक्राउ परेका ३ जनाले मायाले नै आफूहरुलाई हतियार दिएको बयान दिएका छन् ।
महाशाखा स्रोत भन्छ, ‘बुटवलका युवा संघका नेता दुर्गा तिवारी, गौचन र गुन्डा नाइके दावा लामामाथि भएको गोली प्रहारको घटनामा प्रयोग भएको पेस्तोल मायाले उपलब्ध गराएको बयानपछि उनलाई पक्राउ गरेका हौं ।’
तीन वटै गोलीकाण्डमा ९ एमएमको पेस्तोल प्रयोग भएको थियो । उनीहरुले बयानमा घटनामा प्रयोग भएको पेस्तोल दरबारको भएको दाबी गरेका थिए ।
‘उनीहरुले समिरको बुबा पहिले दरबारको माली भएको बताउँदै पेस्तोल दरबारको भएको दाबी गरेका छन्’, स्रोतले भन्यो, ‘त्यस विषयमा अब मायाबाट केही खुल्ला ।’
प्रहरीले त्यो पेस्तोल दरबारको हो या होइन भन्ने विषय यकिन गरिसकेको छैन । उता, सुटरहरू फरार रहेका वेलामा बस्न्यातले विभिन्न व्यक्तिबाट उनीहरूसम्म रकम पठाउने गरेकाे यसअघि नै खुलासा भइसकेको छ । जुन काममा मायाले समिरलार्इ साथ दिएको प्रहरीको दाबी छ ।
‘कति पटक उनी अाफैंले पनि रकम पठाइदिएको खुलेको छ’, एक अधिकारीले भने ।