Uncategorized

कैदी फरार प्रकरण : पीडित परिवारलाई विरोध गर्न पनि दिएन प्रहरीले

१५ कातिक मोरङ । महम्मद अस्फाक हत्या आरोपमा पक्राउ परेका दुई थुनुवा फरार प्रकरणमा प्रहरीले पीडित परिवारलाई विरोध गर्न रोक लगाएको छ ।

इलाका प्रहरी कार्यालय रानीले अस्फाक हत्या प्रकरणका आरोपी फरार प्रकरणमा आफन्तलाई विरोध गर्न रोक लगाएको पीडित परिवारले गुनासो गरेका हुन् ।

मृतकका बुबा महम्मद खलिल मियाले बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले अनावश्यक दबाब दिएर विरोध गर्न रोक लगाएको गुनासो गरे ।

‘हत्या आरोपी भागेपछि प्रहरीको कार्यशैलीको विरोध गर्न खोज्दा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष निरौलाले रोके’ उनले भने ‘प्रहरीले अनावश्यक टर्चर दिइरहेको छ ।’ खलिलले आफू प्रहरीबाटै असुरक्षित भएको गुनासो गरेका छन् ।

गत शुक्रवार विराटनगर १७ का महम्मद अस्फाक हत्या आरोपमा असोज दोस्रो साता पक्राउ परेका २१ बर्षका महम्मद सद्दिम हुसेन र २० बर्षाक महम्मद आरिफ आलम प्रहरीको थुनुवा कक्षबाट फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय रानीको थुनुवा कक्षमा रहेको भेण्टिलेसनको ६ वटा रड काटेर हत्या आरोपी नाटकीय ढंगले भागेका थिए । प्रहरीकै सुरक्षा घेरा भित्रबाट रड काटेर भागेको घटनाको विरोध गर्न खोज्दा प्रहरीले स्थानीय नेता लगाएर पनि मानसिक यातना दिएको खलिलको गुनासो छ ।

पीडितलाई नै यातना

गत १ गते अस्फाक हराएपछि उनका बुबा खलिललाई एसएमएस गर्दै हुसेन र आलमले आफूहरुले अपहरण गरेको बताउदै ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए । दिन बित्दै जादा अपहरण गरेको बताउनेहरुले ५ लाख रुपैयाँ फिरौती दिए छोरालाई छोड्ने सहमति जनाए ।

सानो गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका खलिलले अपहरणमा परेको छोरालाई छुटाउन ५ लाख रुपैयाँ तयार पारे । अपहरणकारीले भनेकै ठेगानामा उनी २ पटक पाचलाख रुपैया पुर्‍याउन गए । छोरा हराएको र एसएमएस आएको बिषयमा उनले प्रहरीलाई पनि खबर गरेका थिए ।

तर प्रहरीले छोराको अपहरणको नाटक गरेको आशंकामा खलिल र उनका दुई छोरालाई नियन्त्रणमा लियो । गत असोज ६ गते प्रहरीले कक्षा ११ र १२ मा पढ्दै गरेका दुई छोरा अझर र अफजलसहित खलिललाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।

असोज ७ गते हृयुमपाइप भित्र सडिएको अवस्थामा शव भेटियो । अनुहार चिन्न नसकिने अवस्थामा भेटिएको शव खलिललाई प्रहरीले हेर्न दिइएन् । उल्टो हत्या गरेको आरोपमा सोधपुछ गर्‍यो र असोज ८ गते बेलुका छाड्यो ।

प्रहरीले छोराको सदगदकालागि शव पनि नदिएको उनले बताए । छोरा बेपत्ता भएर पीडामा रहेको आफूलाई प्रहरीले उल्टो मानसिक यातना दिएको उनको गुनासो छ ।

पहिचान गर्न नसकिने अवस्थामा भेटिएको शवको पोष्टमार्टम र डिएनएपछि प्रहरीले आफै अन्त्येष्टी गरेको थियो ।

प्रहरीकै मिलेमतोको आशंका

प्रहरी हिरासत कक्ष २४ सै घण्टा सुरक्षा पहरा भित्र हुन्छ । प्रहरीको पहरा भित्र थुनेर राखिएका हत्या आरोपीलाई मिलेमतोमा भगाइएको पीडित परिवारले गुनासो गरेको छ ।

आफ्ना छोरोको हत्या आरोपीलाई कारवाही गर्नुको साटो प्रहरीले नै भगाएर पीडामाथि पीडा थपेको खलिल परिवारको गुनासो छ ।

‘कुखुरा पनि निस्कन नसक्ने ठाउबाट मान्छे कसरी निस्कियो’ अस्फाककी दिदी सबनम खातुनले भनिन् ‘यहा प्रहरीकै मिलेमतो छ ।’ छोराको हत्यारा भागेपछि आफूहरुले न्याय पाउछौ भन्ने आश मरेको मृतकका बुबा खलिलले गुनासो गरे ।

छानबिन अन्तिम चरणमा

थुनुवा कक्षको भेण्टिलेसनका ६ वटा रड काटेर थुनुवा फरार भएको घटनाको छानबिनका लागि गत शुक्रबार नै मोरङका प्रहरी नायव उपरीक्षक निशान थापाको नेतृत्वमा छानविन समिति गठन गरिएको थियो । पाँच दिनको समय दिएर गठन गरिएको समितिले छानविन प्रतिवेदन तयार पर्ने काम गरिरहेको छ । ‘हामी २,३ दिन भित्र प्रतिवेदन बुझाउछौं’ थापाले भने ‘फरार भएकाहरुको खोजी कार्यपनि तिब्र बनाएका छौ ।’

छानबिनका क्रममा ७ प्रहरीलाई जिल्ला तानिएको छ । छानविनका लागि प्रहरी हवल्दार जिरालाल रौनियार र जवान जगन्नाथ बास्केलाई निलम्बन गरिएको थियो । घटनामा प्रहरीको सामूहिक संलग्नताको आशंका गरिएको छ । तर प्रतिवेदन तयार नभएसम्म केही बोल्न नमिल्ने थापाले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *