Uncategorized

काठमाडौंका यी ४० ठाउँमा बन्दैछ ‘स्मार्ट ट्वाइलेट’, अटोफ्लसदेखि एसीसम्म

१३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले  स्मार्ट शौचालयको अवधारणा अघि सारेको छ । महानगरका विभिन्न स्थानमा सार्वजनिक प्रयोजनका लागि ‘रोटोमोल्डिंङ’ प्रविधिबाट निर्मित स्मार्ट शौचालय राख्ने महानगरपालिकाको योजना छ ।

बद्लिँदो युगलाई आत्मसाथ गर्दै स्मार्ट शौचालयको अवधारणा अघि सारिएको हो । आउँदो कार्यपालिकाको बैठकमा स्मार्ट शौचालयको अवधारणा पेश गरिने महानगरपालिकाको सार्वजनिक नीजि साझेदारी महाशाखा प्रमुख महेश काफ्लेले अनलाइनखबरलाई जानकारी दिए ।

स्माट ट्वाईलेट निर्माण्का लागि तीन वटा अवधारणा अघि सारिएको छ । प्रत्येक बैंक वा कुनै व्यापारिक प्रतिष्ठानलाई महानगरपालिकाले अघि सारेको अवधारणा अनुसार एउटा स्मार्ट ट्वाईलेट बनाउन प्रस्ताव गर्ने तयारी छ ।

यसबाहेक महानगर स्वयंले निर्माण गरी सञ्चालन गर्ने वा टेण्डरमार्फत निश्चित समय अवधि राखेर सञ्चालन गर्ने योजना छ ।

यस्तो छ अवधारणा

प्रस्तावित शौचालय धेरै टिक्ने तथा मजबूत हुनुका साथै सुर्यबाट आउने हानिकारण युभी विकिरणहरुबाट समेत यो सुरक्षित हुने बताइएको छ ।

उचित मर्मत सम्भार भएमा धेरै वर्षसम्म पनि यसलाई प्रयोग गर्न सकिने प्रमुख काफ्ले बताउँछन् ।

हेर्दा पनि सुन्दर देखिने र प्रयोग गर्न पनि सजिलो हुने तथा जुनसुकै स्थानहरुमा राख्न सकिने रोटोमोल्डिंङ प्रविधिको यी स्मार्ट शौचालयहरु अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनेको छ भने विभिन्न छिमेकी देशमा समेत प्रयोगमा रहेको उनले बताए ।

यसको साईज ११००x११००x२३०० मिमि रहेको छ भने तौल ११० किलो छ । त्यति  वजनदार नभएकाले केही व्यक्ति मिलेरै यसलाई कुनै पनि स्थानमा जडान गर्न सकिने काफ्ले बताउँछन् ।

यसको सिटको उचाई ४५० मिमि छ । यस्तै यसमा १६० लिटर क्षमताको पानी ट्यांकी समेत जडान गरिएको छ भने २९० लिटर फोहोरको ट्यांकीको क्षमता छ ।

यसमा सौर्य उर्जाबाट चल्ने बत्ति तथा भेल्टिलेसन फ्यानहरु जडान गरिएको हुन्छ । पुरुषहरुका लागि युरिनल पनि जडान गरिएको हुनेछ भने हात धुने वेसिन, ट्वाईलेट पेपर, स्ट्याण्ड, ऐना आदि पनि जडान गरिएको हुन्छ ।

जेष्ठ नागरिक तथा बालबालिकाको लागि शौच गर्न यो प्रविधिको शौचालय उपयुक्त हुने महाशाखाको ठहर छ ।

यस्तै स्वच्छ तथा सफाईमा हरेक समय ध्यान दिई कुनै पनि समयमा प्रयोग गर्न सकिने भनिएको छ ।  यस्ता ट्वाइलेटमा अटो फ्लस देखि एसीसम्मको सुविधा राख्ने योजना छ ।

यी ठाउँमा बन्नेछ स्मार्ट शौचालय

महाशाखा प्रमुख काफ्लेका अनुसार स्मार्ट शौचालय निर्माणका लागि ठाउँ समेत पहिचान गरिसकिएको छ । ‘महानगरका विभिन्न ४० स्थानमा स्मार्ट शौचालय निर्माण गर्ने भनेर काम गरिरहेका छौं’, उनले भने ।

कार्यपालिकाबाट स्वीकृत भएपछि स्मार्ट शौचालय निर्माणका लागि खुला आह्वान गरिने उनले बताए । कार्यपालिकाको बैठक तिहारअघि वा तिहारपछि बस्न सक्ने उनको भनाइ छ ।

क्र.श. वडा नं. स्थान संख्या
१ १६ लैनचौर (गल्कोपाखा मार्ग ) १
२ १२ टेकु चोक नेशनल ट्रेडिङ चोक अगाडि १
३ १३ कालिमाटी चोक १
४ १४ बल्खु चोक १
५ १५ सितापाइला चोक १
६ १५ बनस्थली (ढुङ्गेधारा) १
७ १५ बनस्थली चोक १
८ १६ बालाजु चोक १
९ १६ माछापोखरी चोक १
१० २९ नयाँ बसपार्क बाहिर १
११ २९ गोंगवु सडक शिव मन्दिर संगै १
१२ २९ गोंगवु चोक १
१३ २९ सामाखुशी चोक १
१४ ३ प्रहरी चौकी (चक्रपथ) १
१५ ३ वसुन्धारा चोक १
१६ ३ चक्रपथ ( महाराजगाज) १
१७ ४ शुकेधारा चोक १
१८ ४/७ गोपी कृष्ण हल चावहिल १
१९ ६ तिलगंगा १
२० ६ बैद्घनाथ सडक चुच्चेपाटी १
२१ ९/८ गौशाला चोक १
२२ ९ एयरपोर्ट मुलगेट बाहिर चक्रपथ १
२३ ३५ कोटेश्वर चोक ( तीनकुने कोटेश्वर ) १
२४ ३५ कोटेश्वर चोक (रिङ्गरोडको बालकुमारी तर्फ ) १
२५ ३५ पेप्सीकोला चोक १
२६ १०/३४ बानेश्वर चोक (देबकोटा सडक) १
२७ ३४ मिनभवन -मदन भण्डारी पथ) १
ं२८ ११ बवरमहल (माइतिघर विजुलिबजार ) १
२९ ११ माइतिघर थापथली १
३० ११ सुन्धारा (पार्किङ्ग अगाडी ) १
३१ २२ भुगोलपार्क अगाडी १
३२ २३ बसन्तपुर – उपयुक्त स्थान ) १
३३ जमल सडक १
३४ १६ खानी तथा भूगर्भ विभाग अगाडि १
३५ ३१ बागवजार (बागबजार सडक ) १
३६ १ नारायण चौर ( नागपोखरी ) १
३७ १ कमलपोखरी चोक १
३८ ४ बालुवाटार थिरबम सडक १
३९ ३१ अनामनगर एरिया १

जति धेरै लगानी, त्यति नै सुविधासम्पन्न

सार्वजनिक नीजि साझेदारी महाशाखाले अघि सारेको अवधारणा अनुसार एउटा स्मार्ट शौचालय ९ लाख देखि ४२ लाखसम्मका हुनेछन् ।

ठाउँ हेरेर सोही अनुरुपको सुविधा हुनेगरी लगानीको टुंगो लाग्ने महाशाखाका प्रमुख काफ्लेले जानकारी दिए ।

‘हनुमानढोका लगायतका पर्यटकको चहलपहल ठाउँमा चैं हामीले एसीसहितको सुविधा हुने गरी ४२ लाखसम्मको स्मार्ट ट्वाइलेट बनाउने योजना बनाएका छौं’, उनले भने ।

अब बन्न ट्वाईलेटमा पानीको प्रशस्त सुविधा हुने र सरसफाईमा पनि उत्तिकै ध्यान दिइने उनले बताए ।

यस्ता ट्वाइलेटमा सर्वसाधारणलाई कम्तिमा पिसाब गर्न पैसा नलिने भन्नेबारे पनि छलफल भइरहेको उनी बताउँछन् ।

‘दिसा बस्न जाँदा सेवा शुल्क लिने तर, पिसाब गर्न चैं फ्रि मा दिने की भन्नेबारे पनि हामी छलफलमा छौं’, उनले भने ।

यस्तो अवस्थामा शौचालयको भवनमा विभिन्न व्यापारिक संस्थासँग पैसा लिएर विज्ञापन गर्न दिइ सेवा चैं निःशुल्क गर्न सकिने उनले बताए ।

दिगो व्यवस्थापनमा आशंका

काठमाडौंमा हाल सञ्चालनमा रहेका सार्वजनिक शौचालयको अवस्था निकै दयनीय छ ।

बढ्दै गएको जनघनत्व अनुसार पर्‍याप्त सार्वजनिक शौचालय नै छैनन्, भएकोमा छिर्दा रोग बोकेर फर्किनुपर्ने अवस्था छ । निजी क्षेत्रले चलाइरहेका यस्ता शौच्ाालयलाई बिशुद्ध पैसा कमाउने धन्दा बनाइएको छ ।

पैसा मात्रै लिने तर, त्यसअनुसार सेवा सुविधा नदिने र सरसफाई पनि नगर्ने नगर्दा हत्तपत्त जो कोही त्यस्ता शौचालयमा छिर्दैनन् ।

सहरका मानिस किनमेलका लागि बजारतिर जाँदा होस् वा अन्य कुनै प्रयोजनका लागि बाहिरिँदा शौच गर्नुपर्ने अवस्थामा कुनै पसल अथवा शपिङ मलको ट्वाइलेटमा छिर्ने वा घरमा नै फर्किने गर्छन् ।

तर, बाहिरबाट काठमाडौं आएका सर्वसाधारण भने बाध्यतावस् पैसा तिरेर दुर्गन्धित शौचालयमा शौच गर्न बाध्य छन् ।

काठमाडौंको रत्नपार्क, वीर अस्पताल अगाडि, नेपाल विद्युत प्राधिकरण अगाडि, कोटेश्वर, बालाजुमा सार्वजनिक शौचालय सञ्चालनमा छन् ।

रत्नपार्क लगायतका स्थानका यी सार्वजनिक शौचालय काठमाडौं महानगरपालिकाले निजी क्षेत्रलाई सञ्चालन गर्न दिएको हो ।

यी शौचालयमा सरसफाईमा ध्यान नदिँदा छिर्नै नसक्ने अवस्था आउने गरेको सेवाग्राहीको गुनासो छ ।

सार्वजनिक स्थानमा मानिसको चाप बढ्दै गएपनि सोही अनुपातमा सार्वजनिक शौचालय नहुँदा समस्या पनि बढ्दै गएको छ ।

यसअघि महानगरपालिकाले नै बनाएर दयनीय अवस्थामा पुगेका कतिपय स्थानका शौचालय सडक विस्तारका क्रममा भत्काइएको थियो ।

गाडीमा लिएर घुम्ने ट्वाइलेट समेत जिर्ण हुँदै गएपछि मेयरकै निर्देशनमा त्यो पूर्णरुपमा बन्द गरिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *