८ कात्तिक, पोखरा । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का ३१ वर्षमा लागे । पोखरा प्रिमियर लिग (पीपीएल) को पूर्व सन्ध्यामा पारसले बुधबार पोखरामै जन्मदिन मनाए ।
पारसको जन्मदिनमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटादेखि, क्विन्ट इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामादेखि विभिन्न क्रिकेट खेलाडीमात्रै उपस्थित भएनन्, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरप्राइज नै दिए ।
चितवन राइनोजका मार्की खेलाडीका रुपमा मैदान उत्रन लागेका पारसको बर्थ डे पार्टीको आयोजना रोइनोजले नै गरेको थियो । मुख्यमन्त्री पृथ्वीसुब्बा बर्थ डे पार्टीमा पुग्दा पारस चकित परे । किनकी मुख्यमन्त्री आउने उनलाई पूर्वसूचना थिएन ।
लेकसाइडस्थित बीजीबी क्याफेमा बर्थ पार्टी भएको थियो । मुख्यमन्त्री गुरुङले पारसलाई खादा ओढाएर जन्मदिनको शुभकामना दिए भने पारसले केक काटेर मुख्यमन्त्रीलाई खुवाए । मुख्यमन्त्रीले पनि पारसलाई केक खुवाउँदै सफल जीवनको शुभकामना दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जन्मदिनको शुभकामना दिँदै सरकारले गर्नुपर्ने काम पारसहरुले गरेको बताए । ‘नेपाल सरकारले गर्नुपर्ने काम पारस, ज्ञानेन्द्रहरुले गरेका छन्’ मुख्यमन्त्रीको भनाइ उदृत गर्दै पत्रकार त्रिभुवन पौडेलले भने, ‘तर, नेपाली क्रिकेटको ब्याटिङ राम्रो छैन । ब्याटिङ सुधार्नुपर्यो ।’
पोखरा रंगशालामा प्याभिलियन गण्डकी प्रदेशले बनाउने मुख्यमन्त्री गुरुङले बताएका थिए । पारसको जन्मदिनमा चितवन राइनोजका पदाधिकारी, क्रिकेटर सन्दीप लामिछाने लगायत उपस्थित थिए ।