Uncategorized

पीपीएल खेल्ने ६ वटै टिमको लक्ष्य उपाधि

८ कात्तिक, पोखरा । सर्वाधिक पुरस्कार राशीको पोखरा पि्रमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता भोलिदेखि पर्यटकीय नगरी पोखरामा सुरु हुँदैछ ।

कात्तिक २० गतेसम्म चल्ने प्रतियोगिताको सबै तयारी पुरा भएको छ । प्रतियोगिताका लागि फ्रेञ्चाइज टिमहरु पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स र धनगढी ब्लुज पोखरा आइसकेका हुन् । प्रतियोगितामा सहभागी सबै आफ्नो लक्ष्य च्याम्पियन बन्नु भएको बताएका छन् ।

पोखरा पल्टन र धनगडी ब्लुजले पत्रकार सम्मेलन गरेरै उपाधि जित्ने लक्ष्य सुनाएको छ भने अन्य टीमको लक्ष्य पनि उपाधि नै भएको मार्की प्लेयरहरुले बताए ।

हाम्रो टिम उत्कृष्ट छ : ज्ञानेन्द्र मल्ल

मार्की प्लेयर, काठमाडौं रोयल्स

हामी उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिदैछौं । हाम्रो टीम सबै हिसाबबाट उत्कृष्ट छ । वसन्त रेग्मी, नरेश बुढाएर, पृथु बास्कोटाका साथै यू-१६ का उत्कृष्ट खेलाडी सूर्य तामाङ, सुधिर चौधरी, अमर रौटेला, यू-१९ का पवन सर्राफलगायतका खेलाडी हुनु हाम्रो जितको आधार हो । हाम्रो टीममा २ जना भारतीय खेलाडी छन् । २ जना विदेशी खेलाडी राख्नैपर्ने नियम अनुसार हामीले युवा खेलाडी किसन गोल्छावाला र गौरव कुमारलाई लिएका छौं ।

हाम्रो टिम ब्यालेन्स पनि छ । ब्याटिङ र बलिङ दुबै राम्रो छ । तुलनात्मक रुपमा हाम्रो जित्ने आधार भनेको ब्याटिङ हो । हाम्रो ब्याटिङ लाइन एकदमै राम्रो छ । तर फिल्डिङ पनि कमजोर छैन । हाम्रो टिममा अनुभवी खेलाडी र युवा खेलाडीको राम्रो कम्विनेसन भएकाले पनि उपाधि जित्नेमा विश्वस्त छौं ।

जितको भोको छौं : सोमपाल कामी

मार्की प्लेयर, बुटवल ब्लास्टर

हामीमा जितको भोक छ । हामी उपाधि जित्नकै लागि भनेर पोखरा आएका छौं । फाइनल खेलेर ट्रफी जित्ने हाम्रो लक्ष्य हो । हाम्रो टीम युवा खेलाडीले भरिएको छ । सबैमा जोश, जाँगर उत्तिकै छ । अरु भन्दापनि सबैमा जित्नैपर्छ भन्ने छ ।

फिल्डिङ र ब्याटिङ दुबै राम्रो छ । तुलनात्मक रुपमा अवश्य पनि फिल्डिङ अझ राम्रो छ । हाम्रो जितको आधार पनि यहि हो । टीमको म मार्की प्लेयर छु । राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललितसिंह भण्डारी, सागर पुन, यू-१९ का हासिम अन्सारी, भीम सार्की, अविनाश बोहरा, हरि चौहान, पुरन विक, सिद्धान्त लोहनी, नितेश थापा, विपिन खत्री, प्रकाश केसी, र सम्पात शेख छन् । स्थानीय २ खेलाडी राख्नु पर्ने प्रावधान भएकाले रविन्द्रजंग शाही र अनिल खरेललाई ल्याएका छौं । त्यस्तै हाम्रो टीममा २ बिदेशी खेलाडीमा युएईका रोहन मुस्ताफा र चिराग सुरी छन् । उनीहरु युएईका राम्रा खेलाडी हुन् ।

जितको आधार स्पिनर : पारस खड्का

मार्की प्लेयर, चितवन राइनोज

हामीपनि उपाधि जित्ने भनेरै पोखरा आएका छौं । हामी जितको हकदार पनि हौं । अनुभवी र युवा खेलाडीको समिश्रण भएको टीम हो । फिल्डिङ र ब्याटिङ दुबै राम्रो छ । त्यस मध्येपनि जितको आधार भनेको स्पिन बलिङ हो, त्यसका लागि म स्वयम् र शक्ति गौचनलगायत एक से एक खेलाडीहरु छन् ।

म राष्ट्रिय टीमको कप्तान पनि हुँ । शक्ति गौचनसहित राष्ट्रिय टीमका सदस्यहरु अनिल शाह, आरिफ शेख, करण केसी छन् । बदेशी खेलाडीमा भारतका सन्नी पटेल र स्मित पटेल छन् । उनीहरु अनुभवी र प्रतिभावान खेलाडी हुन् । यू-१९ बाट खेलिसकेका सुमित महर्जन, रामनरेश गिरी र भुवन कार्की तथा स्थानीय खेलाडीमा चितवनका स्वप्निल अधिकारी र आकाश थापा छन् ।

उपाधिको स्वभाविक हकदार : शरद भेषावकर

मार्की प्लेयर, पोखरा पल्टन

घरेलु टोली भएकाले हामी उपाधिको स्वाभाविक हकदार पनि हौं । होम ग्राउण्डमा खेल्दैछौं, यसले हामीमा आत्मविश्वास बढाएको छ र दर्शकको सपोर्टले उत्साह थपिदिन्छ । त्यतिमात्र होइन हाम्रो टीम जितका लागि योग्य पनि छ ।

अनुभवी र युवा खेलाडीहरुको समिश्रणबाट बनेको हाम्रो टीम साँच्चै राम्रो छ । हाम्रो टीम ब्यालेन्स छ । फिल्डिङ भन्नु हुन्छ कि ब्याटिङ सबैमा हाम्रो टिम राम्रो छ । यहि मात्र राम्रो छ भन्न सक्दिनँ । खेलमा जुनसुकै बेला जे पनि चम्किन सक्छ । आवश्यताअनुसार रणनीति बदलेर जित निकाल्न हामी सक्षम छौं ।

टिममा विदेशी खेलाडीका रुपमा युएईका स्टार मोहम्मद नाविद र भारत पञ्जावका रविसिंह मेहरा छन् । उनीहरु दुबै राम्रा खेलाडी हुन् । राष्ट्रिय क्रिकेट खेलाडी विनोद भण्डारी, ललितनारायण राजवंशी, रोहितकुमार पौडेल, राशिद खानका साथै युवा खेलाडीहरु कृष्ण कार्की, कुशल भुर्तेल, विक्रम भुषाल लगायत छन् । त्यसैले पनि हामी जित्नेमा धेरै आशावादी छौं । पोखरा पल्टनमा पोखरेली खेलाडी दीपेश खत्री र सुमन घिमिरे पनि आबद्ध छन् ।

बलिङ हाम्रो पावर हो : सन्दीप लामिछाने

मार्की प्लेयर, विराटनगर टाइटन्स

हामीपनि उपाधि जित्न भनेरै आएका हौं । हाम्रो टिममा युवा खेलाडी धेरै छन् । त्यसमा पनि बलिङ हाम्रो पावर हो । यसको बलमा उपाधि जित्नेमा आशावादी छौं । हामी हरेक खेल जितेर उपाधि चुम्ने लक्ष्यमा छौं । हेरौं समयले कत्तिको साथ दिछ ।

हाम्रो टीममा मसहित दीपेश श्रेष्ठ, साहव आलम, जितेन्द्र मुखिया, राजेश पुलामी, किशोर महतो, पुष्प थापालगायतका छन् । युवा खेलाडीहरु भएकाले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं । अहिलेसम्म विदेशी खेलाडी नआउँदा दुविधा जस्तो देखिएको छ । तर, विदेशी खेलाडी अवश्य आउँछन्, त्यो पनि राम्रा र अनुभवी । केही खेलाडीसँष् कुराकानी भइरहेको छ, बाँकी पछि भनौंला ।

जुनसुकै टीमलाई हराउन सक्षम छौं : दीपेन्द्रसिंह ऐरी

मार्की प्लेयर, धनगढी ब्लुज

हामी पनि जित्ने लक्ष्य लिएरै पोखरा आएका छौं । हामीसँग सबै युवा खेलाडी भएकाले जोश, जाँगरसहित जितको भोक छ र सबैले खेलमा शत प्रतिशत योगदान दिन सक्छौं । अझ भनौं हामी जस्तोसुकै टीमलाई पनि हराउन सक्षम छौं ।

टीम पनि ब्यालेन्स छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्ष राम्रो छ । त्यसमध्ये पनि ब्याटिङ जितको आधार हो ।

हाम्रो टीममा विक्रम ठगुन्ना, कमलसिंह ऐरी, सागर ढकाल, मञ्जित श्रेष्ठ, योगेन्द्रसिंह कार्की, सन्तोष भट्ट, रोविन क्षेत्री, सन्दीप सुनार, सन्दीप राजाली, दीलिप नाथ, सौरभ ढकाल, योगेन्द्रसिंह कार्कीसहितका युवा खेलाडी छन् । स्थानीय खेलाडीमा सुवेन्दु पाण्डे र अरुणसिंह ऐरी छन् । दुई विदेशी खेलाडीमा इंग्ल्याण्डका ड्यानिअल लोरेन र पिटर छन् । दुबै राम्रा र अनुभवी खेलाडी हुन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *