Uncategorized

च्याम्पियन्स लिग : मेस्सीबिनाको परीक्षामा बार्सिलोना

७ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिगमा बुधबार राति पौने १ बजे स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसँग स्टार खेलाडी लियोनल मेस्सीबिना खेल्दैछ । हातमा लागेको चोटका कारण मेस्सी तीन हप्ताको उपचारमा छन् ।

बार्सिलोनालाई इन्टर मिलानसँगको खेल चुनौतीसँगै अवसर पनि बनेको छ । मेस्सीमाथि हुने निर्भरताबारे प्रश्न उठिरहने गरेकाले उनीबिना उत्कृष्ट खेल देखाउन सके त्यसको जवाफ हुने छ ।

तर, मेस्सी भएका खेलमा बार्सिलोनाको जितको प्रतिशत ७१ छ भने उनी नभएका खेलमा जितको प्रतिशत ६० मात्रै छ । इतिहास र तथ्यांक वर्तमानमा फेरिन सक्ने भए पनि त्यो सहज भने छैन ।

उदाहरणका लागि यसै सिजनालाई हेर्ने हो भने ला लिगामा एथ्लेटिको बिल्बाओसँगको खेलमा मेस्सीलाई सुरुवाती ११ मा नराख्दा बार्सिलोना नराम्ररी धरमराएको थियो । जसले गर्दा पहिलो हाफमै १-० ले पछि परेपछि ५५ औं मिनेटमा मेस्सीलाई मैदान छिराएर खेल १-१ को बराबरीमा सकिएको थियो ।

यो सिजन बार्सिलोना गएको सिजन जस्तो लयमा पनि देखिँदैन । अझ त्यसमा पनि मेस्सी नहुँदा इन्टर मिलानसँगको खेलमा सामूहिक योगदान चाहिने प्रशिक्षक एर्नेस्टो भालभर्देले नै पनि बताइसकेका छन् ।

बार्सिलोनाले पछिल्लो ६ खेलमा खाएको १० गोल हेर्दा डिफेन्स लाइनमा एउटा ‘ब्ल्याक होल’ जस्तो देखिन्छ । लयमा रहेका डिफेन्डर स्यामुअल उमटिटी घाइते रहेकाले पनि त्यो कमि पूरा हुन सकेको छैन ।

च्याम्पियन्स लिगको पहिलो खेलमा बार्सिलोनाले पीएसभीलाई ४-० ले हराएको थियो । जसमा मेस्सीले हृयाटि्रक गरेका थिए । दोस्रो खेलमा टोटनहृयामलाई ४-२ ले हराउँदा पनि मेस्सीले दुई गोल गरेका थिए ।

इन्टर मिलानले पहिलो खेलमा टोटनहृयामलाई २-१ ले र दोस्रो खेलमा पीएसभीलाई पनि २-१ ले नै हराएको थियो । बुधबार रातिको खेलले समूहको शीर्ष स्थानमा रहन पनि विशेष भूमिका खेल्ने छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *