Uncategorized

पुल बन्यो चुनावी मुद्दामात्रै, ४ वर्षमा पिल्लर पनि बनेन

६ कात्तिक, डोटी । २०७४ असार २९ गते निर्माण सम्पन्न हुनुपर्ने सातनाली सडकको पुलको अहिलेसम्म १० प्रतिशतमात्र काम सकिएको छ ।

सातनाली मेल्लेक सडकलाई केआईसिंह राजमार्गसंग जोड्न शिखर नगरपालिका-१० बान्डुंग्रीसैननिर सेती नदीमा पुल निर्माण गर्न २०७१ साल असार २९ गते सम्झौता भएको थियो । तीन बर्षे पहिलो ठेक्का सम्झौता अवधी सकिएर २०७५ साल पुष मसान्तसम्मका लागि म्याद थप गरिएको थियो ।

२६ करोड २० लाखको लागतमा निर्माण हुने करिव चार सय मिटर लम्बाईको उक्त पक्की पुल निर्माणका लागि डिभिजन सडक कार्यालय कुलपाते, डोटीले पुष्प-राजेन्द्र जेभी निर्माण कम्पनीसंग सम्झौता गरेको थियो । पुल निर्माण हुने समयावधी समाप्त भएर थप एक बर्ष तीन महिना बितिसक्दा पुलका दायाँ र बाँया पिल्लर समेत बनेका छैनन् ।

पुल निर्माणको कार्य सुरु भएपछि सडक सञ्जालमा जोडिने आशमा बसेका स्थानीय वासिन्दा निराश हुन थालेका छन् । सेती नदीमा पुल नहुँदा शिखर नगरपालिकाको वडा नं. ११ सडक सञ्जालमा जोडिन सकेको छैन । नदीमा पुल नभएकै कारण २०४९ सालदेखि निर्माण कार्य सुरु भएको सातनाली मेल्लेक सडकसमेत अलपत्र छ ।

‘सडक बन्ने र गाडी चढ्न पाइने आशमा उहिले सडकमा मजदुरी गर्ने धेरैको मृत्यु भइसक्यो’ शिखर नगरपालिका-११ का एक स्थानीयले भने ‘हाम्रो पालामा त होला भन्ने सोचेको त्यो पनि सम्भावना देखिदैन ।’ यो सडक सधैं चुनावका बेला राजनीतिक मुद्धा मात्रै बन्ने गरेको तर कुनै पनि नेताले यसमा चासो नदेखाएको उनी बताउँछन् ।

पुल निर्माण कार्यमा ढिलाई हुनुको मुख्य कारण पुलको फाउण्डेसनमा समस्या भएको डिभिजन सडक कार्यालय कुलपातेका इन्जिनियर बसन्त कुमार गायी बताउँछन् । ‘पिल्लरको फाउण्डेसनमा रक भेटियो, डिएमसी मेसिनले काम गरेन’ इन्जिनियर गायी भन्छन् ‘बोर पाइलिङ मेसिन ल्याउनुपर्ने भएका कारण ढिलाइ भएको हो ।’

उनले ठेकदारले मेसिन ल्याइसकेको जानकारी पाएको बताए । उनले भने ‘निर्माण व्यवसायी कम्पनीले मेसिन महेन्द्रनगर पुगेको जानकारी दिएको छ, अब तिहार सकिएलगत्तै काम सुरु हुन्छ ।’

आगामी असार मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम गर्ने बताउँछन् निर्माता कम्पनी पुष्प-राजेन्द्र जेभीका इन्जिनियर राजेन्द्र साउद । उनी भन्छन् ‘मेसिन आइसकेको छ, तर कामदारहरु यति बेला नपाइने भएका कारण मेसिन महेन्द्रनगरमै छ ।’

कामदारहरु पनि भारतबाट आउनु पर्ने भएकाले तिहारसम्म कुर्नुपर्ने उनी बताउँछन् । उनले थपे ‘फाउण्डेसनको काम मात्रै समस्या हो, फाउण्डेसनको काम सकियो भने त सजिलै अरु काम हुन्छ ।

पुल निमार्मण कार्य ढिलाइ भएको भन्दै गत बर्ष तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरवहादुर बलायरले स्थलगत अध्ययन गरी काम छिटो सक्न निर्देशन दिएका थिए । उनको निर्देशनको कुनै प्रभाव परेन ।

निर्माता कम्पनीले बोर पाइलिङ मेसिन नेपालमा नपाएको र बिदेशबाट मगाउँदै गरेको भन्दै समय लम्ब्यायो । हाल कम्पनीले मेसिन आएको त दावी गरेको छ तर निर्माणस्थलमा मेसिन नपुगेका कारण विश्वस्त छैनन् स्थानीयहरु । ठेकदार कम्पनीका सञ्चालक भिमबहादुर साउँद डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका प्रमुख हुन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *