Uncategorized

अझै पनि टहरामैं दशैं !

१ कात्तिक, काभ्रे । ‘एउटा दशैं त्रिपालमुनी मनायौैं, दुईवटा यही जस्ताको टहरामा टर्‍यो, अब यो दशैं पनि टर्छ’, पाँञ्चखाल-९ पलाञ्चोककी मैया श्रेष्ठले दुखेसो पोखिन् ।

‘कहिले पानी अभाव हुन्छ, कहिले काम गर्ने मान्छे’, उनले अघि भनिन्, ‘केटकेटी चाहीँ दशैंतिहारमा घर झिलिमिली राम्रो भएको धेरै मन पर्ने भनेर कराउँछन् ।’

२०७२ वैशाख १२ को भूकम्पले मैया श्रेष्ठको घर भत्किएको थियो । तर, अझै पुनर्निर्माण हुन सकेको छैन । सुुरुमा उनको नाम पीडितको सूचीमै परेन ।

छुटेकाहरुको गुनासो सम्बोधनका क्रममा हालै मात्र नगरपालिकाबाट इन्जिनियर आएर भर्खर हेरेर गएका छन् । कहिले घर बनाउन पाइन्छ, उनलाई थाहा छैन ।

मण्डनदेउपुर ज्याम्दीका वेलबहादुर तामाङको अवस्था पनि यो भन्दा फरक छैन । उनको नाम भूकम्प पीडितको सूचीमा त परेको छ तर, घर बनाउन सकेका छैनन् ।

उनले भने, ३ वटा जाडोमा सित खेपिसकेँ । यस वर्षपनि सित खेप्न तयार हुँदैछु । नातिनातिनी भने अली सानै छन् जाडोले अलि गलाउँछ कि भन्ने चिन्ता छ ।’

भुम्लुका सानुबाबु अधिकारीले वडादशैंको भाका राखेर छोराछोरीलाई घर बनाइ सक्ने बचन दिएका थिए । तर घर बनाउन थालेको ४ महिनासम्म कहिले निमार्ण सामाग्रीको अभाव भयो त कहिले के । दशैंमा घर बनाउन सकेनन् ।

मैया, वेलबहादुर र सानुबाबु त प्रतिनिधि पात्र मात्र हुन् । वैशाख २०७२ को विनासकारी भूकम्पबाट उठिबास लगाएका थुप्रै परिवार यो वर्ष पनि टहरामै दशैं मनाइरहेका छन् ।

कतिपयको नाम पीडितको सूचीमा पर्न वर्षौ लाग्यो भने कतिपयको नाम त बल्लतल्ल सूचीमा परेको छ तर, निर्माण थाल्न सकेका छैनन् ।

पुनर्निमाण प्राधिकरणले भने कतिपय पीडितले पहिलो किस्ता लिएर पनि घर नबनाउउको बताएको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीका अनुसार जिल्लामा ८२ हजार ८ सय ३३ भूकम्प पीडित परिवारको पहिचान भएका छन् । जसमध्ये ६७ हजार २ सय ५९ परिवारले अनुदान सम्झौता गरेका छन् ।

उनीहरु मध्ये ४४ हजार ८६ परिवारले दोस्रो किस्ताको अनुदान लिएका छन् भने १६ हजार १ सय ३४ परिवारले अन्तिम किस्ताको रकम लिएर घर निर्माण सम्पन्न गरेका छन् । तर, अझै १५ हजार ५ सय ७४ परिवारले अनुदान सम्झौता नै गरेका छैनन् भने २ सय २१ परिवारको गुनासो सुनुवाइका क्रममा छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *