Uncategorized

कविता: आऊ एउटा फरक दशैं मनाऊँ !

आऊ एउटा फरक दशैं मनाऊँ
बितेका बर्ष भन्दा
बिल्कुल फरक
परम्परागत र औपचारिकतालाई
थाती राखेर
यस पटक, यो वर्ष
एउटा अनौठो दशैँ मनाऊँ !

खसी च्याङ्ग्रा  झै
जोख्न मिल्ने भए
किलोमा हैन क्विन्टलमा
तौल आउदो हो
हामी बीचका
इर्श्या, रिस,राग

घमण्डको पोको
दाई-भाइ बीचको कुण्ठा
दिदी-बहिनी बिचको कुण्ठा
अनि छरछिमेक र
आफन्त-आफन्त बीचको कुण्ठा
अनि साथी संगी बीचको कुण्ठा
कुण्ठै कुण्ठाले भरिएका छन्
सबै काला मन
र पनि
सुपरहिट कलाकार जस्तो
अभिनय गर्न तल्लिन छौँ हामी
यसै पटक किनेको नयाँ
कपडामा सजिएर
चम्किला,सुकिला र मुकिला भएर !!

धेरै भएछ
आफ्नै सख्खेतीसँग पनि
मनदेखि नै
खुलेर नभेटेको
आँखा जुधाएर नबोलेको
अनि
दिल खोलेर अघाउन्जेल
नहाँसेको
भोलि जलेर खरानी हुने
सत्य बिर्सेर,
एउटा प्रर्तिस्पर्धामा थियौँ हामी
पालै पालो
एकले अर्कोलाई जलाउने
इर्श्या ,रिस र रागले !
तसर्थ
अब सीमा नाघेर अति नहुँदै
हामी कसैलाई खती नहुँदै
जीवनको यथार्थ मनन गरेर
यस पटक
एउटा फरक दशैँ मनाऊँ
साच्चिकै हाम्रो बालापनको
त्यो खुशी र उमंग फर्किने गरी
उही पुरानो सौहार्दता
झल्किने गरी
सबैले सबैसँग
आफ्नो अहंमताको लागि
माफि माग्दै
मोबाइल, टिभी र
कम्प्युटरहरुलाई
बिश्राम दिएर
अंकमाल गर्दै
खुशी साट्दै
आधुनिकताको
आडम्बर बोकेको
यो दशैंलाई

कडा चुनौती दिऊँ

उही

हाम्रो पुरानो दशैँ
फिर्ता ल्याएर !!

(प्रकाशोन्मुख कृति कबिता सङ्ग्रह ‘नायकको खोजी’बाट) 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *