Uncategorized

आजका पत्रपत्रिकाः ३ छोराछोरी गुमाएका बाबु–आमा गाउँबाटै विस्थापित

१२ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि सरकारको काम–कारबाही र पार्टीभित्रको गतिविधिलाई लिएर नेकपामा चुलिएको असन्तुष्टि पहिलो प्राथमिकतामा परेको छ । नेकपाका वरिष्ठ नेता माधव नेपाल समूहका नेता प्रतिवादमा उत्रिएकोलाई पत्रपत्रिकाहरुले विभिन्न शीर्षक दिएर छापेका छन् ।

पुनर्निर्माणमा सघाउने वचन दिएका दाताले प्रतिबद्धताअनुरुप सहयोग गर्न आनाकानी गरेका छन् । यो विषयलाई पनि आजको पत्रिकाले उठाएको छ ।

पहिलो पृष्ठमै छोराछोरीको हत्यापछि भोजपुरको एक परिवारै विस्थापित भएको, कतारमा स्टेडियम बनाएका नेपाली बिनातलब घर फर्काइएको, सडक भत्काउँदा मेलम्चीलाई ९० करोड जरिवाना गरिएको, वाइडबडी छानबिन लेखा समितिमा पुगेको लगायत समाचार छन् ।

कान्तिपुर दैनिकले छोराछोरीको हत्यापछि भोजपुरको एक परिवार नै विस्थापित भएकोलाई मुख्य समाचार बनाएर छापेको छ । गत असार १० गते हत्या भएका भोजपुरको अरुण गाउँपालिका–३ का रञ्जित फुयाँल, सुष्मा फुयाँल र प्रदीप फुयाँलका बाबुआमा चेतनाथ र निर्मला छोरा–छोरीको हत्यापछि गाउँबाटै विस्थापित भएका छन् । सन्तान वियोग र हत्याराको पहिचान हुन नसकेको चोटले चिमोटिएर उनीहरुले गाउँ छाडेका हुन् ।

३ बालबालिकाको शव भेटिएको १५ महिना बितिसक्दा पनि प्रहरीले सत्यतथ्य पत्ता नलगाउँदा अभिभावक निराश छन् ।

नयाँ पत्रिकाले ‘प्रतिवादमा नेपाल समूह’ शीर्षक दिएर प्रदेश नेतृत्व चयनपछि नेकपाभित्र विकसित असन्तुष्टिबारे मुख्य समाचार लेखेको छ । प्रधानमन्त्री केपी ओली अमेरिकाबाट फर्किएपछि प्रदेश नेतृत्वको टुंगो लगाउने सहमति गरेर अफ्रिका माधव नेपाल मौका समातेर प्रधानमन्त्रीले एकतर्फी निर्णय गरेको भन्दै आक्रोसित बनेका छन् ।

सचिवालयले प्रस्ताव तयार पारेर स्थायी समितिमा पेश गर्नुपर्नेमा आफैं निर्णय गर्नु अवैधानिक भएको दाबी नेपाल समूहको छ । यही दाबीका साथ नेपाल समूह ओलीको प्रतिवादमा उत्रिएको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

विश्वका विमानस्थलबारेको एक सामग्री छापेको नयाँ पत्रिकाले सडक भत्काउँदा मेलम्चीलाई ९० करोड जरिवाना भएको खुलासा गरेको छ । आयोजना निर्माणका क्रममा पाइप बिछ्याउँदा ठाउँ–ठाउँमा सडक भत्किएकाले क्षतिपूर्तिबापत ठूलो रकम बुझाउनु परेको समाचारमा उल्लेख छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *