समाचार

ठेकेदारले अात्महत्या गर्छु भने, वकिलले महाअभियोग लगाए !

२ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफैं फैसला गरेको सुडान घोटाला काण्डबारे नयाँ रहस्य खोलेकी छन् । आगामी शनिबार सार्वजनिक हुन लागेको आफ्नो आत्मकथा ‘न्याय’ मा कार्कीले अर्को शिराबाट अनुसन्धान भएको भए राजनीतिक दलका नेताहरू फस्न सक्ने आैंल्याएकी छन् ।

‘यो मुद्दामा प्रहरीहरू घानमा मात्रै परेका हुन् भन्ने सुनेको मेरा आफन्तहरूले बताउँथे’ आत्मकथामा कार्कीले लेखेकी छिन्, ‘वास्तविकतामा यसको ठूलो राशी फस्र्यौट गर्ने काम राजनीतिक दलका पदाधिकारीबाट भएको थियो भन्ने पनि सुनियो ।’

सार्वजनिक जिम्मेवारी धारण गरेका व्यक्तिहरू मुछिएका मुद्दाको फैसला चुनौतिपूर्ण रहेको पहिलो महिला प्रधानन्यायाधीश कार्कीको अनुभव छ । आत्मकथामा भनिएको छ- ‘कानूनको रक्षा गर्ने र उदाहरणीय बन्ने जिम्मेवारी पाएका मानिसहरू नै मुछिएपछि न्यायाधीशलाई पनि ठूलै चुनौती आइपर्छ, सही र गलत के हो भन्ने ठम्याउन हम्मे-हम्मेपर्छ ।’

कार्कीले आफ्नो पुस्तकमा लेखेकी छिन्- ‘शक्ति र सत्तामा बसेका मानिसहरूले गलत काम गरे भने निकै चलाखीपूर्वक लुकाउने प्रयास गरेका हुन्छन् । त्यसको सत्यसम्म पुग्न निकै अप्ठ्यारो हुन्छ । तर, पेश गरिएका प्रमाण र तर्कका आधारमा न्यायाधीशले सत्य पहिल्याउनैपर्छ ।

सुडान घोटाला काण्ड

सुडान मिसनमा पठाइएको नेपाल प्रहरीको हातहतियार र बन्दोबस्तीका सामग्रीमा भएको भ्रष्टाचार चुनौतीले भरिएको एउटा मुद्दा थियो, जसलाई ‘सुडान घोटाला काण्ड’ भन्ने गरिन्छ ।

तत्कालीन प्रधानन्यायाधीश कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले १७ बैशाख ०७४ मा फैसला गरेको बहुचर्चित भ्रष्टाचार काण्डमा केही अभियुक्तको हकमा विशेष अदालतको फैसला उल्टी भयो र केहीको सजाय घट्यो ।

पूर्वप्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरीले विशेष अदालतले तोकेभन्दा कम सजाय पाउने भए । विशेषबाट सफाइ पाएकाले कतिपयले कैद सजाय पाएका थिए ।

‘सुडान घोटाला मुद्दा पेसीपछि आधा दिन त पढ्न नै लाग्थ्यो । पक्षतर्फका कानून व्यवसायीहरूले अब भ्याइँदैन भन्दै मुद्दा बहस गर्न इन्कार गर्थे । बारम्बार यस्तै भयो र धेरैपटक पेसी स्थगित भए,’ कार्कीले लेखेकी छिन्, ‘त्यसमा ३४ जना पक्षका धेरै कानून व्यवसायीहरूले पटक-पटक हटाएका छन् । कतिपय अवस्थामा न्यायाधीशहरूबाट पनि हेर्न नभ्याइने गरी हटेको थियो ।’

पुस्तकमा अगाडि लेखिएको छ, ‘यो पुरानो मुद्दामा मैले तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग बेञ्चमा बसेर बहस सुन्ने मौका पाएँ । गोविन्दकुमार उपाध्याय, जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडासँग बसेर पनि बहस सुनें । यसबीच प्रक्रियागत कुराहरू मिलाउने आदेश गरिएको थियो ।’

कार्कीले अगाडि भनेकी छिन्- ‘०७४ वैशाख १७ को निर्णयपूर्व मेरो बेञ्च दीपक कार्कीसँग पनि थियो । तीनपटकको पेसीमा उहाँसँग बढो उत्साहसाथ बेन्चमा बसेर मुद्दा सुन्ने काम गरें । तर, फैसला गर्नतर्फ भन्दा बरु आदेश गर्ने कुरामा उहाँको बल रहृयो । अन्त्यमा विश्वम्भर श्रेष्ठ र मेरो बेञ्चबाट फैसला गरियो । फैसला नगर्ने दबाव वा अनुरोध विश्वम्भरजीलाई पनि आएका रहेछन् ।’

आत्महत्याको चर्चादेखि महाअभियोगसम्म

पूर्वप्रधानन्यायाधीश कार्कीले सुडानकाण्डमा गाडी खरीद गर्ने ठेकेदार कम्पनीका नेपाली एजेन्ट शम्भु भारतीले आत्महत्या गर्ने खबरसमेत आफूलाई आएको पुस्तकमा उल्लेख गरेकी छिन् ।

‘महाअभियोगविरुद्ध चोलेन्द्रशमशेर जबराको अन्तरिम आदेशपछि म फेरि अदालतमा काम गर्न गएकी थिएँ, त्यतिबेला एकजना न्यायाधीश मेरो च्याम्बरमा आई भन्नुभयो, “श्रीमान्, शम्भु भारतीको फैसलालाई विशेष अदालतको सदर गरी जरिवाना नगर्ने तर कैद मात्र गर्ने, नगरेमा ऊ आत्महत्या गर्दैछ ।’

तर, भारतीले आत्महत्या गर्छु भने पनि मुद्दा फैसला भइसकेको आफूले जानकारी दिएको कार्कीले आत्मकथामा चर्चा गरेकी छिन् ।

आफूविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोगमा पनि सुडान काण्डका भ्रष्टाचारीहरु र तिनका वकिलहरुको हात रहेको पूर्वप्रधानन्यायाधीश कार्कीको दाबी छ ।

कार्कीको आत्मकथामा लेखिएको छ, ‘मलाई महाअभियोग लगाउन भनी केही कानून व्यवसायीहरूले परोक्षरूपमा नेता र प्रधानमन्त्रीलाई उचाल्ने जति काम भएका थिए, ती अधिकांश सुडान घोटालामा संलग्न कानून व्यवसायी थिए । उनीहरूको इच्छा यो मुद्दाको फैसला नहोस् भन्ने थियो ।’

(बुक-हिलले बजारमा ल्याउन लागेको सुशीला कार्कीको आत्मकथा ‘न्याय’ असोज ६ गते सार्वजनिक हुँदैछ)

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *