काठमाडौं/आरआर श्री स्कुलअफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड चलचित्र ‘फष्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका’ विषयमा गरिएको चलचित्र प्रतियोगितामा पहिलो पुरस्कार स्वरुप ५० हजार हात पारेको छ ।
डेनमार्कस्थित गैरसरकारी संस्था डीसीए नेपालले आयोजना गरेको छोटो भिडियो प्रतियोगितामा अन्य आठ फिल्मलाई उछिन्दै ‘फष्ट ब्लड’ प्रथम भएको हो ।
सम्मानजनक महिनावारीका विषयलाई उठान गर्नका लागि यो प्रतियोगिताको आयोजना गरिएको थियो ।
डीसीए नेपालका देशीय निर्देशक डेभिड वालेस स्मिथले यस्ता सामाजिक विषय उठानका लागि गरिएको यो महत्वपूर्ण प्रयास भएको बताए ।
उनले आगामी दिनमा पनि समाजका यस्ता महत्वपूर्ण विषयहरुलाई प्रतियोगिता तथा अन्य माध्यमबाट डीसीए नेपालले सदैव प्रमुखताका साथ उठान गरिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।
डीसीए नेपालले गतवर्षदेखि विभिन्न सामाजिक विषयमा हरेक वर्ष छोटो चलचित्र प्रतियोगिता गर्दै आएको छ ।
रेवती गुरुङ्गद्वारा निर्देशित ‘राजवती’ ले दोश्रो पुरस्कार, आश्मा गौतमद्वारा निर्देशित ‘शिखा मैनबत्तीको (रिईम्याजिन्ड)ले तेश्रो पुरस्कार हात पार्यो भने मधु खड्काको ‘ब्रेकिङ द स्टिग्मा’ले अडियन्स अवार्ड जित्न सफल भयो ।
विजेताहरुले प्रमाणपत्रको साथमा क्रमश तीस, बीस र दशहजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
‘महिनावारी भएको महिलालाई रजोवति भनिने गरिदो रहेछ । हामीले यही सामाजमा दैनिक भइरहेका घटनालाई चलचित्रमा उतारेका छौं,’ रेवती गुरुङले बताइन् ।
त्यस्तै आरआर श्री स्कुलअफ टेक्नोलोजीका रमेशमान श्रेष्ठले यो चलचित्र ‘फष्ट ब्लड’ निर्माणका बेला आफ्ना महिला सहकर्मीसँग समय विताएर महिनावारीका बारेमा कुरा गरेर, यसले पारिरहेको मानसिक असरलाई उजागर गर्न खोजेको बताएका छन् ।
आश्मा गौतमले यस्ता प्रतियोगिताले ‘सामाजिक बिषयमा अझ धेरै चलचित्र बनाउन प्रोत्साहन गरेको बताइन् ।
आवेदन परेका फिल्म मध्यबाट ९ं वटा फिल्म प्रतियोगिताका लागि छानिएको थियो । विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार विजेता निर्देशक दीपक रौनियार, मदन पुरस्कार विजेता लेखिका तथा महिला अधिकारवादी राधा पौडेल र पानी तथा सरसफाइका विज्ञ गुण राज श्रेष्ठ सम्मिलित ‘जुरी’को समूहले यी चार चलचित्रको छनौट गरेका थिए ।



