Uncategorized

मेलामा ठोक्किएको निहुँमा राहुलको हत्या, पाँच बालकसहित ६ जना पक्राउ

८ कातिक, मोरङ । विराटनगरमा सामान्य विवादमा हुँदा युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

विराटनगर-१४ का १९ वर्षीय राहुल भगतको हत्यामा संलग्न भएको भन्दै प्रहरीले पाँच बालकसहित ६ जनालाई पक्राउ गरेको हो ।

गत कात्तिक २ गते दशैंको टीकाको दिन ८ जनाको समूहले विराटनगर-९ हनुमान मन्दिर अगाडि लागेको मेला हेर्न गएका भगतमाथि छुरा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भएकाहरु मध्ये १८ वर्षीय कुहिरा भन्ने विशाल सहनीलाई सार्बजनिक गरेको छ । अन्य पाँच जना १८ वर्ष भन्दा कम उमेरका भएकोले सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ । दुईजना भने फरार छन् ।

यस्तो छ हत्याको कारण

मेला हेर्न आएका भगतलाई भीडमा ठेलेको निहुमा सबिन कामतसँग सामान्य विवाद भएको थियो । भीडमा ठोक्किएको निहुँमा विवाद भएको करिब ७ मिनेटपछि राहुलमाथि छुरा प्रहार भएको प्रहरीको भनाइ छ ।

सबिनसँग आएका युवाहरुले मेलामै घेरा हालेर कुटपिट गरी छुरा प्रहार गरेका थिए । प्रहरीका अनुसार १८ वर्षीय टेम्पो चालक सहनीले राहुललाई छुरा प्रहार गरेका हुन् ।

‘छुरा प्रहार गर्ने र मृतक बीच सामान्य चिनजान पनि देखिदैन,’ मोरङ प्रहरी प्रमूख प्रहरी उपरीक्षक मनोजकुमार केसीले भने, ‘साथीलाई हातपात गरेको निहुँमा किशोरहरुको समूहले घेरा हालेर कुटपिट गरी छुरा प्रहार गरेको देखिन्छ ।’ उनले घटना संलग्न सबै १८ वर्षभन्दा कम उमेरका रहेको बताए ।

प्रहरीका अनुसार कातिक २ गते बेलुका ७ः३५ मा भगतमाथि छुरा प्रहार भएको हो । छुरा प्रहार भएका राहुलको कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । हत्या गरी फरार भएकाहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

पेन्टिङको काम गर्ने राहुल सामान्य परिवारका व्यक्ति हुन् । हत्यामा संलग्न किशोरहरु पनि सामान्य परिवारकै रहेको प्रहरीले जानकारी दिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *