Uncategorized

वैदेशिक राेजगारलार्इ व्यवस्थित गर्न अाजदेखि एकीकृत सूचना प्रणााली

१५ असोज, काठमाडौं । वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने उद्देश्यले सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । १ असोजमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले घोषणा गरेबमोजिम आज सोमबारदेखि एकीकृत अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको हो ।

यस प्रणालीमा वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण निकायको संलग्नता र आवद्धताको व्यवस्था गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यो प्रणालीमा अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग, कूटनीतिक नियोगहरु, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बीमा कम्पनी, सीप तथा तालिम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवा सम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् ।

वैदेशिक रोजगारीका सूचना एउटै प्रणालीबाट उपलब्ध गराउने यस्तो व्यवस्था गरिएको मन्त्रालय बताउँछ । यो अनलाइन प्रणाली सञ्चालन भएपछि वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालिम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक तथा वीमा कम्पनी एवं सीपमूलक तालिम प्रदायक संस्थाहरुको कार्य प्रणाली प्रभावकारी हुनुका साथै वैदेशिक रोजगारसँग सम्बन्धित सूचनाको सहज पहुँच र प्राप्तिमा सहयोग पुग्ने अपेक्षा मन्त्रालयको छ ।

यो प्रणाली सञ्चालनमा आएसँगै सोमबारबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारबाट फर्किएका कामदारको तथ्याकं संकलन थालिएको छ । यसअघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेश जाने नेपालीहरुको मात्र तथ्याङ्क रहने गरेको थियो ।

तर स्वदेश फर्किने कामदारहरुको विवरण उपलब्ध नहुने गरेको वर्तमान अवस्थाको अन्त्य गर्नका निम्ति अध्यागमन विभागको अनलाइन प्रणालीसंग यो प्रणालीलाई जोडेर वैदेशिक रोजगारबाट फर्किने कामदारहरुको विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाईएको छ ।

यसबाट विदेशी भूमिमा कति नेपालीहरु काम गरिरहेका छन् भन्ने विवरण समेत सहज रुपमा प्राप्त गर्न सकिने  बताइएकाे छ । राजदुतावासहरुले यस प्रणालीको प्रयोग गरी गन्तव्य मुलुकका रोजगारदाताहरुबाट प्राप्त हुने मागपत्रको विवरण प्रविष्ट गरी जाँचबुझ गर्न सक्ने बताइएको छ ।

यसबाट नक्कली मागपत्र ल्याई नेपाली कामदारहरुलाई विदेश पुर्‍याएर अलपत्र पार्ने र ठगी गर्नेहरु निरुत्साहित हुने सरकारको विश्वास छ । यस प्रणाली मार्फत गन्तव्य देशका रोजगारदाताहरुको वास्तविक र पूर्ण विवरण प्रविष्ट हुने भएकोले तोकिए बमोजिमको सेवा सुविधा नदिने रोजगारदातालाई कालोसूचीमा राख्न सहज दाबी गरिएको छ ।

राजदुतावासमा विवरण प्रविष्टि र रुजु गर्ने कामको निम्ति दुई जना कर्मचारीहरुलाई यो प्रणाली सञ्चालनमा जिम्मेवार बनाउने व्यवस्था गरिएको मन्त्रालयले जानकारी दिएको छ ।  श्रम स्वीकृति प्राप्त कामदार नेपालमै रहे नरहेको विवरण प्राप्त गर्न, विभिन्न नीति तथा कार्यक्रमहरुको तर्जुमाका निम्ति आवश्यक तथ्याकं तथा सूचना संकलन गर्न र कामदारहरुको सम्पूर्ण विवरणसहितको प्रतिवेदन तयार पार्नमा समेत यो प्रणालीबाट सहयोग पुग्ने विश्वास गरिएको छ ।

श्रम स्वीकृति प्रदान गर्ने प्रकृयामा हुन सक्ने लापरवाही र नक्कली कागजात बनाई ठगी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न राहदानी विभागको प्रणालीसँग लिंकअप गरिएको छ ।

राहदानी विभागको प्रणालीमा रहेको विवरण फेमिस प्रणालीले स्वतः प्राप्त गर्ने हुँदा श्रम स्वीकृति जारी गर्दा कामदारको विवरण फरक नपर्ने, राहदानी नम्बरलाई आधार बनाएर श्रम स्वीकृति प्रदान गर्दा श्रम स्वीकृतिको प्रकृया छरितो, सहज हुने र श्रम स्वीकृति प्रदान गर्ने कार्यलाई त्रुटि रहित बनाउन समेत यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कन्सुलर सेवा विभागसँग यो प्रणालीको आवद्धताले दुई वटा विभागहरुबीच हुने सूचनाको आदानप्रदानद्वारा कार्यक्षमतामा वृद्धि हुने, काममा दोहोरोपना नआउने, कामदारहरुको उद्धार र राहत वितरणमा समेत सहजता आउनुका साथै राहत तथा उद्धारका चरणहरुबारेमा शिघ्र र यथार्थपरक जानकारी प्राप्त गर्न पनि सहज हुनेछ ।

यस प्रणालीको अद्यावधिक संगसंगै सरोकारवालाहरुलाईवैदेशिक रोजगारसंग सम्बन्धित सूचनाहरु सहज तरिकाले प्रदान गर्ने उद्देश्यकासाथ ‘वैदेशिक रोजगारी’ नामको मोवाइल एप्लिकेशन समेत सञ्चालनमा ल्याइएको छ ।

यस प्रणालीको पूर्ण कार्यान्वयन पश्चात आप्रवासी कामदारहरुले अनलाइनबाट नै श्रम स्वीकृतिको फाराम भर्न र पेश गर्न सक्ने, श्रम स्वीकृतिका चरणहरुको प्रगतिस्थिति अनलाइनबाट नै थाहा पाउन सक्ने, आˆनो श्रम स्वीकृति भए नभएको कुरा तथा पूर्व स्वीकृतिको विवरण मोबाइल, वेबसाइट र एपबाट जानकारी लिन सक्ने तथा विभागमा दर्ता भएका उजुरीहरुको अवस्थाकाबारे पनि जानकारी प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *