Uncategorized

बजेट कार्यान्वयनको समीक्षा गर्दै प्रधानमन्त्री, अर्थमन्त्री भन्छन्–हामी आफैं सन्तुष्ट छैनौं

५ मंसिर, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको पहिलो चौमासिकको समीक्षा थालेको छ । यस अवधिमा बजेट खर्चको स्थिति सन्तोषजनक नभएको सरकार आफैंले स्वीकार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको बैठकमा भौतिक पूर्वाधार, उर्जा, सहरी विकास, कृषि, उद्योग मन्त्रालय र पुनर्निर्माण प्राधिकरणको बजेट कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको छ । छलफलमा मन्त्रीहरुले मन्त्रालयको आन्तरिक, अन्तरमन्त्रालयगत समस्या लगायतका कारण बजेट खर्च हुन नसकेको बताएका छन् ।

प्रधानमन्त्रीले बजेट र नीति तथा कार्यक्रममा भएका कार्यक्रमलाई छिटो कार्यान्वयन गर्ने र प्रथम चौमासिकमा पूरा हुन नसकेका लक्ष्यहरुलाई अर्को चौमासिकको समीक्षासम्ममा पूरा गर्न निर्देशन दिएका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

उनले भने, ‘समग्रमा बजेट १८/१९ प्रतिशत (बजेट) खर्च भएको छ । अघिल्लो वर्षको हिसाबले ३८÷३९ प्रतिशत नै बढी हो । तर, अघिल्लो वर्षको आधार नै कमजोर हो किनभने चुनावको बेलामा पुँजीगत बजेट खर्च हुने स्थिति भएन ।’

बजेट खर्चको बृद्धि राम्रो देखिए पनि सरकार आफैं सन्तुष्ट नभएको भन्दै उनले सुधार गर्नुपर्ने बताए । कर्मचारी संगठन संरचना बनाउनुपर्ने, बजेट निकासा विधि बनाउनुपर्ने लगायतका कारण अहिले छुट पाएपछि यसलाई धेरै लम्ब्याउन नसकिने भन्दै उनले भने, ‘अब हामीले कमी कमजोरी भएको कुरालाई छिटो सुधार गर्नुपर्छ, पुससम्ममा संरचनागत समस्या समाधान गरेर पनि लक्ष्यको नजिक पुग्न सक्छौं ।’

सरकारले सबै मन्त्रालयको चौमासिक समीक्षा गर्ने तयारी गरेको छ । जसअनुसार अर्को छलपल भोलि र मंसिर ८ गते गर्ने अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *