Uncategorized

स्वरोजगार कोषमा सहकारीको रजाइँ, सहुलियतमा ऋण लिएर विपन्नसँग चर्को ब्याज असुली

३० कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । कुनैले बेथितिमाथि मुख्य समाचार लेखेका छन् भने केहीले राजनीतिक विषयलाई मुख्य समाचारको रुप दिएर छापेका छन् ।

नेपाल वायुसेवा निगम वित्तीय जोखिममा परेकोलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले प्रकाशित गरेका छन् । निगमले बिहीबार श्वेतपत्र जारी गर्दै वित्तीय संकटमा संस्था परेकाले सहयोगका लागि सरकारसँग याचनासमेत गरेको छ ।

भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका २ जापानी महिलालाई ५ वर्ष प्रतिबन्ध लगाई निष्कासन गरिएकोलाई पनि आजका दैनिक पत्रिकाहरुले नछुटाइकन छापेका छन् ।

पत्रपत्रिकाहरुकै पहिलो पृष्ठमा भारतीय सुरक्षा संयन्त्रका कारण ईपीजी प्रतिवेदन रोकिएको, कतारमा ५ नेपाली १ महिनादेखि थुनामा रहेको, स्वरोजगार कोषको रकम लिएर सहकारीहरुले चर्को ब्याज असुलेकोलगायत समाचार समेटिएका छन् ।

निरन्तर नेपाल वायु सेवा निगमको वाइडबडी जहाज खरीदमा भएको अनियमितताबारे उठाउँदै आएको अन्नपूर्णले उसको वित्तीय अवस्थाबारे मुख्य समाचार लेखेको छ ।

‘अपरिपक्व व्यावसायिक योजनाका भरमा वाइड बडी ल्याउँदा वित्तीय जोखिम बढेको नेपाल वायु निगम स्वयंले देखाएको छ’, अन्नपूर्णले आफ्नो समाचारको लिड लाइनमा लेखेको छ, ‘ऋणैऋणको खाडलबाट उकास्न उसले सरकारसँग आर्थिक सहयोगको याचना गरेको छ ।’

अन्नपूर्णमै कतारमा ५ नेपाली एक महिनादेखि थुनामा रहेको खबर पनि छ । सांस्कृतिक कार्यक्रम गर्दा अतिथिसहित त्यहाँको प्रहरीले पक्रेको ५ नेपालीको अवस्था कस्तो छ, अहिलेसम्म अज्ञात छ ।

समाचार अनुसार पक्राउ पर्नेमा एनआरएन मध्यपूर्वका संयोजक राजेन्द्रकुमार शर्मा तथा लोकदोहारी गीत प्रतिष्ठान शाखाका शक्ति क्षत्री, रामबाबु बोहोरा, रीतकुमार श्रेष्ठ र कृष्ण ढकाल छन् । गिरफ्तारीको कारण खुलाइएको छैन ।

ओलम्पिक २०२० एसियाली छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रि महिला फुटबल टोलीको तस्वीर छापेको कान्तिपुरले ईपीजी प्रतिवेदनमाथि चासो व्यक्त गरेको छ ।

समाचार अनुसार भारतको रक्षा मन्त्रालय र खुफिया संयन्त्रको असहमतिका कारण नेपाल–भारत प्रबुद्ध व्यीक्त समूह (ईपीजी) को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भारतीय उच्च अधिकारीले जनाएका छन् ।

ईपीजीको साझा प्रतिवेदनमा गरिएको सन् १९५० को सन्धि पुनरावलोकन र एउटा सार्वभौम मुलुक भएकाले नेपालीले जुनसुकै मुलुकबाट आवश्यकताअनुसार हतियार किन्न सक्ने व्यवस्थासहितको सुझावप्रति भारतको सुरक्षा र खुफिया संयन्त्रको आपत्ति रहेको भारतीय अधिकारीहरुको दाबी छ ।

कान्तिपुरमै इजरायलको राजदूतमा अञ्जना शाक्य सिफारिस भएको, मन्त्रिपरिषद् बैठक थप गोप्य राखिने भएकोलगायत खबर छन् ।

नयाँ पत्रिकाले सहुलियत व्याजमा ऋण दिएर विपन्न तथा बेरोजगार युवालाई स्वदेशमै उद्यमशील बनाउने सरकारको योजनामा सहकारीहरु बिचौलिया मुनाफाखोर बनेको लेखेको छ । स्वरोजगार कोषबाट ५ प्रतिशत व्याजमा रकम लिने सहकारीले विपन्न किसानबाट १३.५ प्रतिशतसम्म व्याज लिँदै आएका छन् ।

समाचार अनुसार व्याजमा ३ गुणा नाफा मात्र होइन, सेवा शुल्कबापत कुल रकमको तीन प्रतिशत पनि छुट्टै काटेर बलिया भएका सहकारीले किसानलाई झन् निर्धो बनाएका छन् ।

कोषकै पैसाको दुरुपयोग यतिमै सीमित छैन । कागजी अनुगमन गरेर रकम झ्वाम पार्नेदेखि जलवायु गोष्ठीसम्म सञ्चालन भएका छन् । ३ लाखलाई तालिम दिइएको बताइए पनि उनीहरु कहाँ छन् ? कोषलाई नै थाहा छैन ।
नयाँ पत्रिकाको पहिलो पृष्ठमै प्रधानमन्त्रीले मुख्यमन्त्री सम्मेलन बोलाएकोदेखि नेपाल भित्रिने विदेशीको बढ्दो अपराधसँग सम्बन्धित समाचार छन् ।

दातृ निकायले मानव अधिकार आयोगका लागि दिएको रकमबारे सोधीखोजी गरेको नागरिकले वायु सेवा निगम वित्तीय जोखिममा परेको, आईएनजीओको दबावमा सदाचार नीति थन्किएकोसँगै नेविसंघ विघटनको संघारमा पुगेकोसम्मका खबर पहिलो पृष्ठमा छापेको छ ।

राजधानीले धर्म प्रचार र अवैध व्यापारमा लागेका १ सय ६३ विदेशी नागरिक देश निकालामा परेको लेखेको छ भने गोरखापत्रले संघीय प्रहरी ऐनबारे चासो राखेको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *