Uncategorized

झापादेखि धनगढीसम्म नेपथ्य यात्रा

२८ कात्तिक, काठमाडौं । नेपथ्यले पूर्वदेखि पश्चिम नेपालसम्म समेट्ने गरी तरार्इ मधेसका चारवटा सहरको सांगीतिक यात्रा गर्ने भएको छ । मंसिरको पहिलो साता झापाको बिर्तामोडबाट सुरु हुने यो यात्रा धरान, बुटवल हुँदै कैलालीको धनगढीमा टुंगिने छ ।

केही समयअघि मात्र काठमाडौं र सिक्किमका दर्शकहरु सामु प्रस्तुत भइसकेको ब्याण्डले आफ्नो स्थापनाको २५ औं वर्ष मुलुकका अन्य भागका संगीतप्रेमीसँग पनि मनाउने उद्देश्यले यो कार्यक्रम तय गरेको हो । मंसिर ४ गते झापाको बिर्तामोड, मंसिर ७ गते धरान, १० गते बुटवल हुँदै १३ गते धनगढी पुगेर सम्पन्न हुनेछ ।

कन्सर्टमा दर्शकहरुका लागि नेपथ्यले नयाँ पुराना सबै लोकप्रिय गीतहरु मध्येबाट प्रस्तुतिका लागि चयन गरेको छ । त्यस बाहेक दशाैं एल्बम सार्वजनिक गर्ने तयारीको सँघारमै रहेको ब्याण्डले ताजा गीतहरु पनि आफ्ना श्रोता दर्शकलाई सुनाउनेछ ।

‘द्वन्द्वका बेला सबैभन्दा बढी बिथोलिएको पश्चिमी भेगमा हामीले धेरै पटक पुगेर कन्सर्ट आयोजना गर्दै संगीतका माध्यमबाट भारी मनहरुलाई हलुका पार्न खोजेका थियौं,’ नेपथ्यका अगुवा अमृत गुरुङ भन्छन्, ‘त्यति बेला खतरालाई चिर्दै यात्रा गर्ने नेपथ्य अब पनि मुलुकभरका दर्शकहरुसँग निरन्तर जोडिएर अघि बढ्न प्रयत्नरत छ ।’ देशको जटिल र सहज सबै परिस्थितीमा देशवासीको साथ पाउँदा आफूलाई खुशी लागिरहेको गुरुङ सुनाउँछन् ।

नेपथ्य यात्रा अन्तर्गत सबै ठाँउहरुमा कार्यक्रम बेलुकी पौने छ बजेदेखि सुरु हुनेछ र कार्यक्रम स्थलको लागि स्थानीय रंगशालाहरु चयन गरिएको छ । नेपथ्यले बिर्तामोडको डोमालाल राजवंशी रंगशाला, धरान रंगशाला, बुटवल रंगशाला (एन्फा टेक्निकल सेन्टर) र धनगढी रंगशालामा प्रस्तुति दिनेछ ।

‘हामीले काठमाडौं भित्र वा वाहिर जता कन्सर्ट गर्दा पनि प्राविधिक हिसाबले दर्शक र श्रोताहरुलाई एक रुपता दिँदै आएका थियौं,’ नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यस पटक पनि कलाकार र प्राविधिक सहितको भ्रमण दल देखि लिएर अत्याधुनिक साउण्ड सिस्टम सहितको यात्रा यी चार वटै सहरमा गर्नेछौं ।’

नेपालयद्वारा ब्यबस्थापन गरिने नेपथ्य यात्रा विर्तामोडमा सहारा नेपालले आयोजना गर्नेछ भने धरानमा ‘एम सी कफी आवर’ र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको संस्था ‘परिक्रमा स्टुडेन्ट्स् फेमिलि’ले कन्सर्ट आयोजना गर्दैछन् । त्यस्तै वुटवलमा ‘यस नेपाल’ र धनगढीमा ‘दाताज् इभेन्ट’ र ‘द मेन्सन् नेपाल’ले कार्यक्रम आयोजना गर्दैछन् ।

यी सम्पूर्ण कन्सर्टहरुमा दर्शकहरुका निम्ति प्रवेश शूल्कमा एकरुपता राख्दै प्रति टिकट एक हजार रुपैयाँ कायम गरिएको छ । कार्यक्रममा सहभागिता जनाउने महिला दर्शकहरुको निमित्त सुरक्षित स्थानको पनि ब्यबस्था गरिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *