Uncategorized

जनयुद्ध भन्दा उन्नत जनसंघर्ष गर्छौंः बाबुराम भट्टराई

१४ कात्तिक, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफ्नो पार्टीले उन्नत खालको जनयुद्ध गर्ने बताएका छन् ।

राजधानीमा बुधबारदेखि सुरु भएको पार्टीको १५ औं संघीय वैठकको उद्घाटनमा सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने जिकिर गरे । ‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा पुर्‍याएका थियौं’ उनले भने, ‘अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं ।’

राजनीति भनेकै संघर्ष भएको भन्दै भट्टराईले नयाँ शक्ति पार्टीले आफुलाई स्थापित गराउन र जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने उल्लेख गरे । सत्तारुढ नेकपा, कांग्रेस लगायतका दलहरु पनि संघर्षबाटै आएको उनीहरुका राजनीतिक बिचार र सिद्धान्त पुरातन हुँदा नेपाली जनताले नयाँ खालको बिचार र सिद्धान्त खोजिरहेको उनले बताए ।

कांग्रेस, सत्तारुढ नेकपा असफल भए आफ्नो पालो आउँछ भनेर बसिरहेकाले देशलाई आर्थिक विकास र समृद्धि दिनका लागि अर्को कुनै शक्ति देखा नपरेको भन्दै उनले नेपाली जनताको चाहना बमोजिम नयाँ खालको बिचार र दृष्टिकोण बोकेर नयाँ शक्ति अगाडि बढ्ने बताए ।

आफुले यूरोप, अमेरिका भ्रमण गरेको आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दा बढी सम्मान र सत्कार पाएको पनि जिकिर गरे । ‘देशको प्रधानमन्त्रीसँग मेरो तुलना गर्न त मिल्दैन’ उनले भने, ‘तर मलाई तपाईँले प्रधानमन्त्रीले भन्दा बढी सम्मान पाउनुभयो भनेर अरुले सुनाए । त्यसकारण हामी कम छैनौं ।’

नयाँ शक्तिको देशभित्र र बाहिर पनि राम्रो प्रभाव रहेको दाबी गर्दै भट्टराईले पार्टीको संगठन भने स्थानीय जनतासम्म प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । अबको पाँच महिना स्पष्ट योजना बनाएर पार्टीको संगठन वडा तहसम्म पुर्‍याइने कार्यलाई प्राथमिकता दिइने उनले बताए ।

देशमा महिला हिंसा, वलात्कार, भ्रष्टाचार बढेको भन्दै उनले सरकारको पनि आलोचना गरे । सरकार आठ महिनामै असफलतातर्फ उन्मुख भएको उनको निश्कर्ष छ । सबै राजनीतिक परिस्थितिको ठोस विश्लेषण गरी संगठन विस्तार र सरकारका गलत कार्यको भण्डाफोर गर्ने उनले सुनाए ।

सरकारले बुढिगण्डकी आयोजना लगायतका आयोजनाहरुमा गलत निर्णय गरेको उनको आरोप छ ।

नयाँ शक्तिको १५ औं संघीय वैठक राजधानीमा दुई दिनसम्म चल्नेछ । पहिलो दिन आज (बुधबार) संयोजक भट्टराईले राजनीतिक प्रतिवेदलन प्रस्तुत गर्नेछन् । त्यसको समिक्षा सहित बिहिबार बैठक सकिनेछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *