१२ कात्तिक, रौतहट । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको १२ मेटि्रक टन केराउ (मटर) सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले रौतहटमा नियन्त्रणमा लिएको छ ।
रौतहटको पश्चीमी नाका इशनाथ नगरपालिका २ को औरैयाबाट संगठित तस्करहरुले भारत लैजाँदै गरेको केराउ बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले बताए । ना २ ख ८०१६ नम्बरको ट्रकमा लोड गरिएको सो केराउ तस्करहरुले भारततर्फ लगिरहेका थिए ।
६ लाख रुपैयाँ भन्दा बढी मूल्य रहेको सो केराउको ट्रकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकका चालक वीरेन्द्र साह र प्रल्हाद साह रहेको सशस्त्र प्रहरी उपरीक्षक ढकालले बताएका छन । बरामद गएकिो सामानसहित दुवै जनालाई भन्सार कार्यालय गौरमा बुझाइने उनले बताएका छन ।
केही दिनयता रौतहटको विभिन्न नाकाहरुबाट तस्करहरुले मटर र मरिचको ठूलो कारोबार अवैध रुपमा गरिरहेका छन । रौतहटको बजारमा निकै न्यून मात्रामा खपत रहेको मटर र मरिच दैनिक पचास टन भन्दा बढी व्यापारीहरुले मगाइरहेका छन् । यसरी व्यापारीले ल्याएको ९० प्रतिशत मटर र मरिच सीमावर्ती भारतीय बजारहरुमा तस्करी भइरहेको छ ।
रौतहटको पूर्वी नाका लक्ष्मीपुर बेलबिछवा र पश्चीमी नाका बंकुल, औरैया लगायतका आधा दर्जन नाकाबाट चाडपर्वको मौका छोपी तस्करी बढेको छ ।



