Uncategorized

दाइजोविना विवाह गर्ने इन्जिनियरको जोडी सम्मानित

११ कात्तिक, वीरगञ्ज । दाइजोविना विवाह गर्ने एक मुस्लिम जोडीलाई वीरगञ्जमा सम्मान गरिएको छ । सामाजिक कुप्रथाका रुपमा रहेको दाइजोविरुद्ध जागरण मञ्चले सरोज अन्सारी र शहनाज अन्सारीको जोडीलाई प्रशंसापत्रसहित सम्मान गरेको हो ।

सर्लाहीको बलरा नगरपालिका वडा नं ६ मिर्जापुर घर भएका रज्जाक अन्सारीको छोरा २९ वर्षीय सरोज र वीरगञ्ज महानगरपालिका वडा नं १३ मुडलीका अताउल्लाह अन्सारीको छोरी २६ वर्षीय शाहनाजको शनिबार निकाह अर्थात विवाह भएको थियो ।

पेशाले शाहनाज र सरोज दुवै इन्जिनियर हुन् । शाहनाज जिल्ला प्राविधिक कार्यालय पर्सामा सिभिल इन्जिनियरको रुपमा कार्यरत छन् भने सरोज विद्युत प्राधिकरणको क्षेत्रीय कार्यालय विराटनगरमा इलेक्टि्रकल इन्जिनियरको रुपमा कार्यरत छन् ।

बालिग भइ दाइजो विनाको आदर्श तथा उदाहरणीय निकाह (विवाह) गरेकोले उनीहरुलाई सम्मान गरिएको मञ्चका अध्यक्ष बृजेश्वरप्रसाद चौधरीले जानकारी दिए । ‘पछिल्लो समयमा मोलमोलाई नै गरेर केटा पक्षले केटी पक्षसंग दाइजो मागेर लिने गरेका छन्,’ उनले भने, ‘अन्सारीद्वयको विवाहमा दाइजो नलिएको/नदिएको जानकारी पाएपछि हामीले सम्मान गरेका हौं ।’

मञ्चले दाइजो तथा बालविवाह जस्ता सामाजिक कुरितिहरुविरुद्ध जागरण अभियान सञ्चालन गर्नुको साथै उदाहरणीय जोडीहरुलाई सम्मान गर्ने गरेको सामाजिक अभियन्ता प्रकाश थारुले बताए । ‘बाल विवाह र दाइजो प्रथाको अन्त्य गर्नका लागि निरन्तर अभियानमा लागि परिरहेको उनीहरुले बताएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *