Uncategorized

व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु

 ४ कात्तिक, दमौली। महर्षि वेदव्यासको जन्मभूमिलाई प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु गरिएको छ ।

व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र विकास कोषले गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सलाई जिम्मा दिएको छ । सोलुसन्सले गुरुयोजना निर्माणका लागि रु ५० लाखमा जिम्मेवारी पाएको थियो ।

सोलुसन्सले व्यास नगरपालिका–३ स्थित शिव पञ्चायन मन्दिर परिसरमा निर्माण हुने १०८ फिटको व्यासको मूर्ति निर्माणसहित अन्य संरचनाको गुरुयोजना बनाइँदै गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले जानकारी दिनुभयो ।

सोलुसन्सलाई गुरुयोजना निर्माणका लागि गत साउनदेखि फागुनसम्म म्याद दिइएको छ । सोअनुसार फिल्ड अन्वेषण, विस्तृत फिल्ड सर्वेक्षण, भूप्राविधिक अध्ययनका काम सम्पन्न भएको महर्जनले बताए । “एक हप्ताको समय लगाएर विस्तृत फिल्ड सर्भेक्षण र दुई हप्ताको समयमा भूप्राविधिक अध्ययन सकिएको छ”, उनले भने, “मूर्तिको जग र पेडेस्टेलको डिजाइन र अन्य संरचनाको गुरुयोजना निर्माण भइरहेको छ ।”

गुरुयोजनानुसार व्यास क्षेत्रमा १०८ फिटको व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, चौकीदार घर, कोेसेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन कक्ष, योग कक्ष, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र कक्ष , व्यास पुस्तकालय, शौचालय, बगैँचासहितको विश्राम घर, तलाउसहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पुजारी घर, साना व्यासका २७ मूर्ति, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर ‘वेद’ लेखिएको सानो मूर्ति प्रस्ताव गरिएको महर्जनले जानकारी दिए ।

प्रस्तावित गुरुयोजनाको आकार कलशजस्तो बनाइएको छ । एक सय आठ फिटको अग्लो व्यासको मूर्तिलाई पश्चिम फर्काइएको छ । “धार्मिक परम्पराअनुसार पूर्वमा बसेर पश्चिम फर्केर पूजा गर्ने विश्वास छ”, महर्जनले भने, “त्यही भएर हामीले व्यासको मूर्तिलाई पश्चिम फर्काएर राख्ने गरी गुरुयोजनामा प्रस्ताव गरेका छौँ ।”

कोषले व्यास क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने लक्ष्य राखेको छ । व्यास क्षेत्रलाई व्यास ग्रामका रुपमा अघि बढाउने लक्ष्य रहेको कोषका महासचिव विष्णुभक्त सिग्देलले बताए । व्यासको मूर्तिसहित अन्य सबै संरचनाका लागि करीब रु ५० करोड लगानी आवश्यक पर्ने अनुमान गरिएको बताइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *