Uncategorized

महाअष्ठमीः आफैभित्रको पाशविक तत्वलाई बलि दिने कि ?

आज महाअष्ठमी । अर्थात दशैं सुरु भएको आठौं दिन । अन्य दिनको झै अष्ठमीको पनि विशेष महत्व छ । खासगरी यस दिन महाकालीको विशेष पूजाआजा गरिन्छ । शक्तिपीठहरुमा पूजाआजा गरि पशु बलि दिने गरिन्छ ।

बलि दिएमा के हुन्छ ?

हामीलाई लाग्छ, धर्म हुन्छ । देवी प्रशन्न हुन्छिन् । के वास्तविकता त्यस्तै होला त ? किनभने पशु बलि दिने आजको दिनलाई कतिपयले सांकेतिक रुपमा पनि अथ्र्याउने गरेका छन् । उनीहरुका अनुसार पशु बलि दिनु भनेको एउटा अवोध पशुको काटमार गर्नु होइन । बरु, आफुभित्रको पाशविक तत्वलाई नष्ट गर्नु हो । बध गर्नु हो ।

। भन्ने गरिन्छ, मानिसको शरीर तीन तत्वको मिश्रण हुन्छ, पाशविक, मानवी र ईश्वरीय । पाशविकको अर्थ पशु जस्तो हो । हामी अरुको इष्र्या गछौर्ं । दम्भ पाल्छौं । अहंकार गर्छौं । अरुप्रति कुविचार राख्छौं । अरुलाई पीडा हुने काम गर्छौं । हामीभित्रको यही तत्व हो, पाशविक । यस्तो तत्वलाई आफैभित्र पालेर अवोध प्राणीको काटमार गर्दा कुनै देवी-देवता प्रशन्न होलान् ?

यस्तो छ महाअष्टमीको परम्परागत विधी र बुझाई

आज महाअष्ठमी । अर्थात दशैं सुरु भएको आठौं दिन । अन्य दिनको झै अष्ठमीको पनि विशेष महत्व छ । खासगरी यस दिन महाकालीको विशेष पूजाआजा गरिन्छ ।

महाअष्टमी मनाउनुको पछाडि धार्मिक कथन यस्तो छ, ‘प्राचिन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली करोडौं योनी (शक्ति)का साथ यसै अष्टमीका दिन उत्पन्न भएका थिए ।’

त्यसलै यस दिन उनको पूजा सोह्र सामग्रीले गरिने बताइएको छ ।  साथै यसदिन नवदुर्गा भगवतीहरु शैलपुत्री, ब्रम्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धदात्री आदि पार्वतीको विभिन्न स्वरुपको पूजाआजा गरिने उल्लेख छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मानेर रातभर गुप्तपूजा गरिन्छ ।

बलि दिने दिन

अष्टमीलाई बलि दिने साइतको रुपमा पनि बुझिन्छ । यसदिन पूजाआजा गरेर  बोका, कुखुरा, हाँस, खसी, राँगो आदि बलि दिइने उल्लेख गरिएको छ । यसदिन सबैले आ-आफ्ना कुलदेवी, दवता र स्थानीय देवीदेवतालाई पूजा गरी बलि दिने गरेका छन् । जबकी सात्विकहरुले नरिवल, कुभिण्डो, केरा, घिरौला आदि फल अर्पण गरे पुग्छ ।

देशभरका विभिन्न शक्तिपीठमा बलि दिने प्रचलन पुरानै हो । कतिपय स्थानमा बलि दिनका लागि रसिद काट्न थालिएको समाचार यसअघि नै आइसकेको छ । केही समयअघि प्रकाशित खबर अनुसार जनकपुरधामस्थित राजदेवमा १४ हजार बोका बली दिइने अनुमान गरिएको छ । यता हनुमानढोकास्थित तलेजु भवनीलाई ५४ राँगा र ५४ बोकाको बलि दिने कुरा पनि उल्लेख छ । यसरी देशभरका शक्तिपीठहरुमा बलि दिइने परम्परा छ ।

किन बलि दिइएको होला ? के बलि दिएर देवीलाई प्रशन्न तुल्याउन सकिन्छ ? यसको जवाफ अहिले पनि खोजिदैछ । धार्मिक कथनमा के भनिएको छ भने, ‘असुरहरुको विनासका लागि जगदम्बा भव नौ वटी दुर्गा प्रकट भएर असुहरुको बध गरेको प्रतीक स्वरुप बली पूजा गर्ने चलन छ ।’ यता जनविश्वास चाहि के छ भने, यसरी बलि दिइएपछि त्यस पशुले पशु योनीबाट मुक्त पाउनेछन् ।

पशुबलिको सांकेतिक अर्थ केही होला ?

हामीकहाँ पशुबलिले संस्कारकै रुप लिएको छ । तर, यसमाथि अनेक वहस र चर्को विरोध नभएका होइनन् । पशुअधिकारकर्मी वा पशु हिंसा विरोधीहरुले यसमाथि प्रश्न उठाउँदै आएका छन् । अर्कोतिर परापूर्व कालदेखि चलिआएको रीतिथिती भनेर अहिलेको समाजले यसलाई अनुसरण गर्दै आएको छ । जबकी एकथरीको राय फरक छ । उनीहरुले पशुबलिको अर्थलाई सांकेतिक रुपमा बुझ्नुपर्ने बताउँदै आएका छन् ।

खासमा पशुबलि दिने भनेको आफुभित्रको पाशविक चेतनालाई त्याग्नु वा बलि दिनु भन्ने अर्थ उनीहरुले लगाउने गर्छन् । आफुभित्रको पशुवत् व्यवहार र विचारलाई त्याग्नका लागि यो एउटा संकेतिक दिन वा अवसर हो भन्ने कतिपयको भनाई छ ।

अर्थात अष्टमीको दिन पशुलाई काटमार गर्ने होइन । बरु आफुभित्रको पशुलाई नष्ट गर्ने हो । यस तर्कमा विश्वास गर्नेहरुले पशु हत्या विरुद्ध चर्को आवाज उठाउँदै आएका छन् ।

पशु हत्या गर्नैपर्छ भन्ने पनि छैन । पशु बलिको प्रतिक मानेर कुभिण्डो वा फलफूल चढाउने चलन पनि छ ।

पशु हत्या गर्दैमा धर्म होला ?

आजको युगमा हामी द्विविधाग्रस्त भइरहनु आवश्यक छैन कि, पशु बलि दिदैमा कुनै देवी, देवता खुसी हुन्छन् । यो संसारमा जे जति प्राणी जन्मन्छन्, सबैले बाँच्न पाउने उनीहरुको जन्मसिद्ध अधिकार हो । हामीले पशु हत्या गर्छौं, यसमा हाम्रो स्वार्थ भन्दा अरु केही कुरा लुकेको छैन ।

हो, दशैं रमाइलो जमघटमा मनाउने पर्व हो । रमाइलो गर्नका लागि मिठो मसिनो खान्की पकाउनुपर्छ । यसका लागि माछामासु प्रयोग गरिन्छ । मासुकै लागि हामीले एउटा वहाना पनि बनाएको हुनसक्छ, बलि ।

आखिर जे भएपनि आजको दिनलाई काटमार गर्ने भन्दा पनि आफैभित्रको पाशविक तत्वलाई बलि दिने दिनको रुपमा बुझौं । भन्ने गरिन्छ, मानिसको शरीर तीन तत्वको मिश्रण हुन्छ, पाशविक, मानवी र ईश्वरीय । पाशविकको अर्थ पशु जस्तो हो । आफुभित्रको कुविचार, कुण्ठा, दम्भ, रिस, राग, लोभ जस्ता कु तत्वलाई बलि दिए कसो होला ?

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *