२७ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रेसको विश्वसनीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन् ।
कहिले काँही राजनीतिक स्वार्थ र आर्थिक स्वार्थका कारण प्रेसको विश्वसनीयतामा प्रश्न उठेको उनले बताए । साथै, अनलाइन मिडिया व्यक्तिगत प्रतिरोध पोख्ने माध्यम समेत बन्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेकपाका नेता समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस स्वतन्त्रसँगै विश्वसनीय र मर्यादित हुनु पर्नेमा जोड दिए ।
‘पत्रिकाले जे पनि लेख्छ, अनलाइनमा त जे पनि आउँछ भनेर विश्वसनीयता गुमाएको दिन प्रेसले आफ्नो समथ्र्य गुमाउँछ’ उनले भने, ‘पछिल्लो समय प्रेसको विश्वसनीयतामाथि केही प्रश्नहरु उठ्न थालेको छ । यसमा सबै घोत्लिन जरुरी छ ।’
उनले अघि भने, ‘प्रेस मिडिया हाउसहरुको व्यापारिक स्वार्थको सिकार पो बन्न थाल्यो कि भन्ने देखिन्छ । अघिल्लो दिनसम्म कुनै खास मुद्दामा लगातार न्यूज आउँछ । अर्को दिन ज्याकेट एड आउँछ र सर्लक्क ढाकिन्छ पत्रिका । त्यसपछाडि तपाई न फलोअप गर्नुहुन्छ न उसा अरु विकृति लेख्नुहुन्छ ।’
मन्त्री ज्ञवालीले संविधानले पत्रकारहरुको हक, हितका लागि आवश्यक व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान संचार माध्यम पनि सचेत हुनुपर्ने बताए ।



