Uncategorized

दशैंको लागि मुस्ताङबाट पोखरा झारिंदै च्याङ्ग्रा

२० असोज, पोखरा । मुस्ताङबाट च्याङ्ग्रा खरीद गरी पोखरामा बिक्रीका लागि जाँदै गरेका विमल विश्वकर्मा यतिखेर हेम्जातिर छन् ।

विश्वकर्माजस्ता धेरै व्यापारीले दशैँलाई लक्षित गरी ल्याएका च्याङ्ग्राका बथान म्याग्दी, पर्वतका विभिन्न स्थानमा झरिसकेका छन् । यही असोज २४/२५ गतेसम्म अधिकांशले पोखरा च्याङ्ग्रा ल्याइसक्ने उनले जानकारी दिए ।

पोखराबाट मुस्ताङमा अघिल्लो वर्षका तुलनामा कम व्यापारी च्याङ्ग्रा खरीदका लागि पुगेकाले यसवर्ष पोखरामा च्याङ्ग्राको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्नसक्ने उनले बताए । “मुस्ताङमा नै खरीद महङ्गो पर्ने भएकाले पोखरासम्म ल्याइपुर्याउँदा त्यसको लागत बढी पर्नु स्वभाविकै हो,” उनले भने, “अघिल्लो वर्ष फाइदा कम भएका कारण केही व्यापारी अहिले च्याङ्ग्रा खरीदका लागि आएका छैनन् ।”

उपल्लो मुस्ताङसहित तिब्बत, डोल्पा, मुगुलगायतका स्थानका च्याङ्ग्राको पहिलो व्यापारिक केन्द्र भने त्यसपछि जोमसोम नै हो । मुगुबाट च्याङ्ग्राको व्यापार गर्न आएका कमतोसी तामाङ यतिखेर मुस्ताङ आइपुग्नु भएको छ । च्याङ्ग्राको २०० सङ्ख्याको बथान च्याङ्ग्रा व्यापारका लागि ल्याएको बताउँदै उहाँले मुगुदेखि जोमसोम आइपुग्न झण्डै दुई महिना लागेको अनुभव सुनाए ।

“हिमाली भेगमा च्याङ्ग्रा पाल्न जति गाह्रो छ, बेच्न ल्याउन पनि त्यतिकै समस्या छन्,” उनले भने, “किन्नेलाई सस्तो चाहिएको छ, उनीहरूले चाहे जस्तो मूल्यमा दिन सकिंदैन ।”

अघिल्लो वर्ष लोमाङ्थाङका व्यापारी वाङ्दी गुरुङको समूहले तिब्बतबाट जोमसोममा आठ हजारको सङ्ख्यामा च्याङ्ग्रा बिक्रीका लागि ल्याएको थियो । यसवर्ष भने मुगुलगायतका स्थानबाट सस्तोमा च्याङ्ग्रा आएका कारण सो समूहले तिब्बतबाट जम्मा एक हजार च्याङ्ग्रा ल्याएको छ । “तिब्बतबाट ल्याएका च्याङ्ग्रा लोमाङ्थाङमा नै न्यूनतम् रु १९ हजार रुपैयाँ पर्ने भयो, लोमन्थाङमा नै यत्रो मूल्य परेपछि यसवर्ष बिक्री मूल्य बढ्नु स्वभाविकै हो,” उनले भने ।

तिब्बतबाट आउने च्याङ्ग्रा कोरलाको २४ नं सीमास्तम्भ हुँदै आउँछन् । कतिपय व्यापारीले भने अन्य वैकल्पिक मार्ग समेतको प्रयोग गर्छन् । अघिल्लो वर्ष प्रतिच्याङ्ग्राको भन्सार कर रु १०० थियो । यस वर्षका लागि सीमा क्षेत्रबाट भित्रिने च्याङ्ग्राको भन्सार कर रु ५०० निर्धारण गरिएको नेचुङ भन्सार कार्यालय मुस्ताङका निमित्त कार्यालय प्रमुख राजकुमार विसीले जानकारी दिए ।

यसवर्ष च्याङ्ग्राको भन्सार शुल्क बढी भएकामा व्यापारीले विरोध गरेका छन् । भन्सार शुल्क बढी भएको भन्दै वैकल्पिक चोर बाटो प्रयोग गरी च्याङ्ग्रा ल्याउने समस्या पनि थपिएको छ । करको दर बढ्नु तथा खुल्ला सिमाना हुनु पनि यतिखेर समस्याका रुपमा देखिएको छ ।

उपल्लो मुस्ताङका ग्रामीण बस्तीबाट भेँडा, च्याङ्ग्रा जोमसोम आउने क्रम पनि उत्तिकै बढिरहेको बताउने जोमसोमका स्थानीयवासी हालसम्म जोमसोममा लगभग २० हजारको सङ्ख्यामा भेडा, च्याङ्ग्रा आइसकेको अनुमान गर्दछन् ।

पशु चिकित्सालय तथा पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय मुस्ताङका प्रमुख सुबल शाहका अनुसार कागबेनी, छुसाङ, छोसेर, घमी, चराङ, मराङ, सुर्खाङलगायतका स्थानका कृषकले दशैंँको अवसरमा जोमसोम ल्याएर च्याङ्ग्रा बिक्री गर्ने गर्दछन् । च्याङ्ग्रा खरीद गर्न काठमाडौँ, पोखरा, बुटवल, बागलुङ, पर्वत, स्याङ्जालगायतका स्थानबाट व्यापारी जोमसोम आइसकेका कारण यतिखेर यहाँ निकै चहलपहल बढेको देखिन्छ ।

अघिल्लो वर्ष मुस्ताङबाट २२ हजारको सङ्ख्यामा च्याङ्ग्रा बिक्रीका लागि पोखरा गएको पशु चिकित्सक शिवलाल भुसालले जानकारी दिए । नेपाल खाद्य संस्थानले यस वर्षको दशैँका लागि काठमाडौँमा एक हजार च्याङ्ग्रा पठाउने तयारी गरेको छ ।

संस्थानको मुस्ताङ कार्यालय प्रमुख गङ्गाप्रसाद शाहका अनुसार कार्यालयले जोमसोममा च्याङ्ग्रा जिउँदो प्रतिकेजी ५३० मा खरीद गरी काठमाडौँ पठाउन लागेको हो । यस वर्ष स्थानीय व्यापारीले जोमसोममा न्यूनतम् रु २१ हजारदेखि अधिकतम् रु २३ हजारसम्म च्याङ्ग्राको विक्री मूल्य निर्धारण गरेका छन् । हिमाली भेगमा पालिएका च्याङ्ग्राले त्यहाँका बहुमुल्य जडीबुटी खाने भएका कारण यस तर्फ आकर्षण बढेको पाइन्छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *