Uncategorized

कांग्रेस नेताको दाबी : निर्मलाको हत्यारा बम दिदीबहिनी मात्र थाहा छ

१५ असोज, डोटी । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता वीरबहादुर बलायरले निर्मला पन्तको हत्याराबारे बम दिदीबहिनीलाई जानकारी रहेको दाबी गरेका छन् ।

पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकार र प्रहरी संगठनकै आलोचना भइरहेका बेला पूर्वमन्त्रीसमेत रहेका बलायरले भने बम दिदीबहिनीबाट सबै खुल्ने दाबी गरेका हुन् । डोटीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहेका नेता बलायरले भने, ‘यदि निर्मला हराएकै राति बम दिदिबहिनीहरुको घरमा छापा मारेको भए निर्मला भरसक जिउँदै नभए शव प्राप्त हुन्थ्यो । तर प्रहरीले राति जान नमिल्ने भन्दै वास्ता गरेन ।’

निर्मला १० साउनमा रोशनी बमको घरमा गएकी थिइन् । त्यो घरमा रोशनी र उनकी दिदी वविता मात्र बस्थे । छोरी नआएपछि साँझ आफू खोज्न जाँदा बबतिाले आफूलाई नराम्रो व्यवहार गरेको आमा दुर्गादेवीको पनि गुनासो छ ।

स्थानीयबासीले सुरुदेखि नै बम दिदीबहिनीबाट हत्या प्रकरणको अनुसन्धान गर्नु पर्ने माग गरेका थिए । तर, लामो समयसम्म प्रहरी अनुसन्धान बाहिर रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरे पनि केही दिनमा नै धरौटीमा छुटेका थिए ।

निर्मला पन्तको हत्या प्रकरणबारे अध्ययन गर्न कांग्रेसले खटाएको टोलीमा समेत रहेका पूर्वमन्त्री बलायरले निर्मलाका हत्यारा बम दिदीबहिनीबाहेक अरुलाई थाहा नभएको बताए । उनले भने, ‘यो मेरो ठोकुवा हो । निर्मलाको हत्या त्यही घरमा भएको हो वा जिउँदै कसले लगेको हो, उनीहरुलाई सबै थाहा छ ।’

के आधारमा यो दाबी गर्नुभयो भन्ने प्रश्नमा उनले आफैंले बोलाएर लैजानु, आमा खोज्दा जाँदा पाइला गइहोला भन्नु, साइकल भेटिएपछि शव पनि भेटिन्छ भन्नु त्यसको आधार भएको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुको बचाउ गर्नुले पनि बम दिदीबहिनीमाथि थप शंका लागेको उनले बताए ।

नेता बलायरले प्रधानमन्त्री केपी शर्मा ओलीले नै बलात्कारी र हत्यारालाई बचाउन खोजेको आरोप लगाए । आफूले निर्मला हत्या काण्डको विषयमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई समेत भेटेर कुरा गरेको बताउँदै उनले भने ‘त्यतिबेला त उहाँहरु निकै आक्रामक हुनुहुन्थ्यो तर अहिले के भयो त ?’

प्रदेशको नाम ‘सुदूरपश्चिम’ राख्नु दुर्भाग्य

कांग्रेस नेता बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । ‘पञ्चहरुले भोकमरी रहेको, अभाव रहेको, गरीवी रहेको, पछौटेपन रहेको र अशिक्षित रहेको भन्दै हामीलाई हेपेर त्यतिबेला सुदूरपश्चिम राखेका हुन्’ बलायरले भने, ‘प्रदेशसभाले हाम्रो इतिहास मेट्ने गरी प्रदेशको नाम सुदूरपश्चिम राखेको छ, यसमा कांग्रेसको आपत्ति छ ।’

प्रतिपक्षको बहिस्कारका बावजुद प्रदेशसभाको दुई तिहाई बहुमतले गरेको निर्णयबिरुद्ध कांग्रेसले प्रदेशव्यापी अभियान चलाउने उनले बताए । ‘हामी जनताका बिचमा जान्छौं, जनतालाई सचेत गराउछौं’ कांग्रेस नेता बलायरले अघि भने ‘म पहिले पनि ‘सुदूर’ शब्दबिरुद्ध लडेको मान्छे हुँ र अब पनि लड्छु ।’

खस आर्य, गोदावरी, खप्तड, सेतीकाली नामहरु राख्न सकिने भन्दै उनले किन सुदूरपश्चिम राखियो भन्ने प्रश्न गरे । कांग्रेस अहिले उक्त निर्णयलाई रोक्न सक्ने अवस्थामा नभएको बताउँदै उनले भने, ‘हामी यो नाम परिवर्तन गरेरै छोड्छौं ।’

राजधानीप्रति पनि आपत्ति

प्रदेशको स्थायी मुकाम धनगढी तोकिदा मन्त्री रहेका बलायरले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा आपत्ति जनाए । ‘सवै हिसाबले दिपायलको विकल्प थिएन तर, गोदावरी लगेर राखियो’ उनले भने, ‘यसमा कांग्रेसको समर्थन छैन ।’

अस्थायी केन्द्र तोक्दा पनि दिपायल बनाउन आफ्नो सामथ्र्यले नभ्याएको भन्दै कांग्रेस नेता बलायरले भने, ‘राजधानी दिपायल बनाउछौं भनेर जनताबाट मत मागेकाहरुले गोदावरीको पक्षमा मतदान गरेको देख्दा दुःख लाग्यो ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *