१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको ७३ औं महासभा बैठकको सम्बोधन सकेर कोस्टारिकाको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणमा ओली आइतबार सान होजेतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नुका साथै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्यका साथै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी छन् ।



